यस्तो थियो टंकप्रसाद आचार्य मन्त्रिपरिषद्

यस्तो थियो टंकप्रसाद आचार्य मन्त्रिपरिषद्


इतिहास

टंकप्रसाद आचार्यलाई नेपालमा जिउँदो शहीदका रुपमा पनि परिचय दिने गरिन्छ । प्रजापरिषदका सक्रिय संस्थापक एवं कर्मठ सदस्य रहेका टंकप्रसादलाई मृत्युदण्डको बदलामा चारपाटा मुडेर हात र खुट्टामा नेल लगाइ जात च्युत र जन्मकैद गरेर जेलमा हालिएको थियो । २००७ सालमा देशमा प्रजातन्त्र आएपछि जेलमुक्त भएका थिए ।
✍ सुनिल उलक

राजा त्रिभुवन उपचारका लागि दोश्रोपटक स्विटजरल्याण्ड पुगेपछि राजा स्वयम्लाई जीवित फर्कने आशा कम हुँदै गएको तथा नेहरूका प्रतिनिधि पीएन हस्करले राजालाई फ्रान्सको निस शहरमा भेट्न गइ नेहरूको सन्देश हस्तान्तरण गरेका थिए । जुन सन्देशमा नेहरूले राजालाई सम्पूर्ण अधिकार उत्तराधिकारी युवराज महेन्द्रलाई सुम्पेर यूरोपमा नै केही समय आराम गर्न सल्लाह दिएका थिए । यसको लगत्तै राजा त्रिभुवनले युवराज महेन्द्रलाई निसमा बोलाएका थिए । २०११ माघ २९ गते युवराज महेन्द्र निस शहर पुगेका थिए । राजा त्रिभुवनसँग भेटपछि राज्य सञ्चालनको सम्पूर्ण अधिकार लिएर नेपाल फर्किए । फागुन ५ गते काठमाडौं पुगेपछि दोश्रो दिन फागुन ७ गते प्रजातन्त्र दिवसका दिन युवराज महेन्द्रले देशका नाममा राजा त्रिभुवनको सन्देश पढेर सुनाएका थिए ।

छोरानानी श्री ५ युवराजाधिराज महेन्द्र वीरविक्रम शाहदेवलाई मद्दत दिनुहोला भन्ने पूरा विश्वास राखेको छु । म पनि तपाईंहरूको र देशसेवा गर्न समर्थ हुनासाथ चाँडै नै आउनेछु । यस किसिमको सन्देशका साथ युवराज महेन्द्र करिव राजा नै बन्न सफल भए । फागुन १९ गते युवराज महेन्द्रले प्रधानमन्त्री मातृकाको राजीनामा स्विकृत भएको घोषणाका साथ आफ्नै नेतृत्वमा सरकार चलाइरहे । प्रधानमन्त्रीको नियुक्ति गर्ने युवराजको सोच नै रहेन ।

यसैबीच उपचारमा रहेका राजा त्रिभुवनको फागुन ३० गते देहान्त भयो । चैत १ गते युवराज महेन्द्र देशको राजा घोषित भए । अब राज्य सञ्चालनका लागि राजा महेन्द्रलाई सहजता भयो । राजनैतिक दलहरूप्रति राजा महेन्द्रको विश्वास थिएन । तसर्थ, दलका नेतालाई प्रधानमन्त्री बनाउने तैयारी नै गरेनन् । बैशाख १ गते शाही सल्लाहरकारमा नयाँ नियुक्तिपछि सम्पूर्ण अधिकार आफैमा निहित राखेर राज्य सञ्चालनमा रहन थाले ।

एक वर्षपछि २०१२ माघ १३ गते राजा महेन्द्रले एक दलका नेतामाथि विश्वास गर्दै नेपाल प्रजापरिषद्का नेता टंकप्रसाद आचार्यलाई प्रधानमन्त्रीमा नियुक्त गरे । सात सदस्यीय मन्त्रीपरिषदमा बालचन्द्र शर्मा, चूडाप्रसाद शर्मा, पशुपतिनाथ घोष, गुन्जमान सिंह, पुरेन्द्र विक्रम शाह तथा अनिरुद्रप्रसाद सिंह मन्त्रीका रूपमा रहेका थिए । माघ २३ गते मन्त्रिमण्डलमा राज्यमन्त्रीहरू तथा उपमन्त्रीहरूको थप गरेर १८ सदस्यीय मन्त्रिमण्डल बनाइयो । करिव १८ महिना रहेको यस मन्त्रिमण्डल एक अर्थमा भनौँ भने सफल मन्त्रिमण्डल रहेको थियो ।

उनकै कार्यकालमा राजा महेन्द्रको शुभराज्याभिषेक भएको थियो । उनकै कार्यकालमा भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद तथा उपराष्ट्रपति राधाकृष्णन नेपाल भ्रमणमा आएका थिए । साथै चीनको भ्रमण गर्ने पहिलो नेपालको प्रधानमन्त्रीका रूपमा पनि इतिहासमा टंकप्रसाद आचार्यको नाम रहेको छ । उनकै कार्यकालमा प्रधानमन्त्री चाउ एन लाईले नेपाल भ्रमण गरेका थिए । यसअगाडि चीनिया उपप्रधान मन्त्री वु लाङ्फु राजा महेन्द्रको शुभराज्याभिषेकमा आएका थिए । यति मात्रै होइन नेपालले उनकै कार्यकालमा नेपालले पहिलोपटक परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन पाएको थियो । साथै संयुक्त राष्ट्र सङ्घको महासभामा चूडाप्रसादले नेपालको विषयमा आफ्नो सम्बोधन राख्न पाएका थिए ।

नेपाल राष्ट्र बैंकको स्थापना पनि उनकै कार्यकालमा भएको थियो । उनकै कार्यकालमा चौथो विश्व बौद्ध सम्मेलन काठमाडौंमा आयोजना भएको थियो । बुद्धको जन्मभूमि नेपालमा बौद्ध सम्मेलन हुन पनि चार वर्ष लागेको थियो । यस सम्मेलनमा भारतका संविधान निर्माता एवम् दलित नेता डा. भीमराव अम्बेडकर तथा मार्क्सवादी लेखक एवम् बौद्धभिक्षु राहुल सांकृत्यायनले नेपालको भ्रमण तथा सम्बोधन समेत गरेका थिए ।

टंकप्रसाद आचार्यलाई नेपालमा जिउँदो शहीदका रुपमा पनि परिचय दिने गरिन्छ । प्रजापरिषदका सक्रिय संस्थापक एवं कर्मठ सदस्य रहेका टंकप्रसाद ब्राम्हण भएका कारणले मृत्युदण्डबाट जोगिएका थिए । मृत्युदण्डको बदलामा चारपाटा मुडेर हात र खुट्टामा नेल लगाएर जात च्युत गरि जन्मकैद गरेर जेलमा हालिएको थियो । २००७ सालमा देशमा प्रजातन्त्र आएपछि जेलमुक्त भएका थिए ।

प्रस्तुत तस्बिरमा बायाँबाट चुडाप्रसाद शर्मा, पुरेन्द्र विक्रम शाह, प्रधानमन्त्री टंकप्रसाद आचार्य, राजा महेन्द्र, गुंजमान सिंह, बालचन्द्र शर्मा, अनिरुद्धप्रसाद सिंह । अप्रत्याशित रूपमा मन्त्रि नियुक्त हुनुभएका वीरगञ्जका ब्यापारी एवम् समाजसेवी पशुपति घोष तत्कालै शपथग्रहणमा उपस्थित हुन सक्नुभएको थिएन ।