टिकटक रोकविरुद्धको रिटले दिएको सन्देश

टिकटक रोकविरुद्धको रिटले दिएको सन्देश


बिग्रेका कुरा कति छन् कति, सम्हाल्नु र सुधार्नुपर्ने काम-कुरामा ध्यान नदिने, तर टिकटकलगायतका ‘जञ्जाल’को निम्ति ज्यानै दिन तयार हुने हास्ययास्पद र अत्यन्त टिठलाग्दो प्रवृत्तिले आक्रान्त अराजक जनमानसलाई अङ्गीकार गर्न अभिशप्त मुलुकले समृद्धिको गन्तव्य कहिले भेट्ने ?

राजनीतिक होस् या सामाजिक या अन्य कुनै पनि, एक न एक नकारात्मक प्रकृतिका ‘हङ्गामा’ले नेपालको सिङ्गो परिवेशलाई गिजोलिरहेकै हुन्छ । पछिल्लो एक-डेढ दशक अवधि त समाजलाई प्रदुषित तुल्याउने यस्ता विकृतिजन्य गतिविधिले आक्रान्त नै बनेको छ । सूचना प्रविधिमा भएको क्रान्तिकारी परिवर्तन र विकासले समझदार एवम् चतुर मुलुकहरूलाई समृद्धिको उत्कर्षतिर डोऱ्याइरहेको छ । तर, सूचना प्रविधिकै उपज सामाजिक सञ्जालका विभिन्न माध्यमलाई सकारात्मक भन्दा विकृतिजन्य क्रियाकलापमा दुरुपयोग गर्ने प्रवृत्ति दिन दुई गुणा रात चौगुणाको दरले हुर्किंदा नेपालको अवस्था भने चौपट्ट बन्न पुगेको छ । सूचना प्रविधिको उपयोग नै नभएको भन्ने होइन, तर उपयोग गरेर उन्नति गर्ने भन्दा दुरुपयोग गरेर विकृति भित्र्याउने मनोवृत्तिले बढावा पाएकोले हामीकहाँ सामाजिक सञ्जाल एउटा डरलाग्दो जन्जालकै रूपमा खडा भएको महसूस गरिँदै छ । फलतः पछिल्लो चरणमा अत्यधिक लोकप्रिय बन्न पुगेको ‘टिकटक’को प्रयोगमा रोक लगाउन राज्य बाध्य बनेको छ ।

नेपालको सन्दर्भमा सामाजिक तथा सांस्कृतिक प्रदूषण फैलाउनमा टिकटिकको प्रभावकारिता अब्बल रहेको जो-कसैले अनुभूति गरेको विषय हो । समाजमा विभिन्न विकृति-विसंगति उत्पन्न गर्नेदेखि जाति, धर्म, विचार, सामाजिक सौहार्द्धताका विरुद्ध जन-जनकै बीच भ्रम उत्पन्न गर्न र त्यसलाई फैलाउन सामाजिक सञ्जालले मलजल गरेको तितो यथार्थ हो । यसबाट पीडित वा प्रभावितहरूको लहर दिनानुदिन बढ्दो छ । मानिसका व्यक्तिगत तथा पारिवारिक सम्बन्ध र व्यवहारलाई विकृतरूपले उदाङ्ग तुल्याइदिएर तुफान पैदा गरिदिने, सम्बन्धहरू भत्काइदिने, जीवन नै तहसनहस पारेर आत्महत्याकै अवस्थासम्म पुऱ्याइदिने दुष्कर्म सामाजिक सञ्जालको दुरुपयोगकर्ताहरूले असङ्ख्य मात्रामा गरेका छन् ।

यतिमात्र नभइ भ्युज, लाइक क्लिक, कमेन्टको लोभमा सनसनीपूर्ण, एकपक्षीय र भ्रामक सूचनाहरू सञ्जालमा प्रवाह गरिन्छन् । यसभन्दा अघि बढेर आफ्नो पक्षमा जनमत बनाउन वा जनमानसलाई प्रभावित गर्न पनि सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति विभिन्न अभियानमा सरिक व्यक्ति वा समूहदेखि राजनीतिजीवीहरूसम्म खतर्नाक ढङ्गले हुर्किएको छ । सञ्जालको गलत ढङ्गले लाभ उठाउँदै रातारात राजनीतिक दल तथा नेता उत्पन्न हुने र तिनले आफ्नो सञ्जालभित्र समेटिएका विभिन्न तह-तप्काका जनतालाई ‘मिसगाइड’ गरी समाज र देशलाई नै तरङ्गित पार्ने गरेको त पछिल्लो अवधिमा मुलुकले झेलेको/भोगेको आएको यथार्थ नै हो ।

हामीकहाँ मात्रै होइन, उन्नत तथा उदार लोकतान्त्रिक भनिएका देशहरूलाई पनि यस्ता सञ्जालहरूले ठुल्ठूला सङ्कट खडा गरिदिएका बग्रेल्ती उदाहरण भेटिन्छन् । फलतः अमेरिका, युरोप र अस्ट्रेलियाले सामाजिक सञ्जालको नियमनका लागि पछिल्लो समय कठोर नीतिहरू बनाइरहेका छन् भने युरोपियन युनियनले धेरै पटक गुगल, फेसबुक, एक्स (ट्विटर) र युट्युबलाई जरिवाना तिराएको सर्वविदित नै छ ।

यस्तो परिवेशमा नेपालजस्तो भूराजनीतिक रूपले पनि संवेदनशील देशमा टिकटकजस्ता सञ्जालको प्रयोगमा नियन्त्रण वा नियमन अपरिहार्य बनेको विषयलाई नजरअन्दाज गर्न हुँदैन । विडम्बना त के छ भने सामाजिक सञ्जालको विकृत प्रयोगको लतमा फसेको नेपाली समाजको ठूलो हिस्सा दायाँबायाँ विचार नगरी यसको अनवरत र स्वच्छन्द प्रयोगको पक्षमा आन्दोलित हुने मनोविज्ञानबाट ग्रस्त छ । सम्बन्ध भत्कियोस्, परिवार बिग्रियोस्, बिग्रह र सामाजिक अराजकता बढोस्, जतिसुकै विकृति हुर्कियोस्, तर टिकटकजस्ता सञ्जाल निर्वात र अनवरत प्रयोग गर्न पाइयोस् । यही धारणाबाट ‘ओतप्रोत’ देखिन्छ आजको नेपाली समाज । तत्कालका लागि टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध अदालतमा दर्जनभन्दा ज्यादा उजुरी दर्ता हुनुले यस्तै सन्देश सम्प्रेषण गरेको छ ।

आर्जनभन्दा खर्चमा रमाउने, श्रमको मूल्य र महत्व पहिचान गर्नेभन्दा फजुलका बहस र विवादमा अल्झिएर दिन काट्दा खुशी महसूस गर्ने, सामाजिक सद्भाव बढाउनभन्दा खल्बल्याएर तमासा पैदा गर्न उद्यत् रहने, समष्टिमा भन्नुपर्दा समाज र देशलाई अवनतिको दिशामा दौडाउन जे-जस्ता कर्मले सघाउ पुऱ्याउँछ- जानी-नजानी त्यस्तै-त्यस्तै क्रियालापमा निमग्न रहने नेपाली समाजको आमचरित्र नै बनेको छ । देशमा बिग्रेका कुरा कति छन् कति, सम्हाल्नु र सुधार्नुपर्ने काम-कुरामा ध्यान नदिने, तर टिकटकलगायतका ‘जञ्जाल’को निम्ति ज्यानै दिन तयार हुने हास्ययास्पद र अत्यन्त टिठलाग्दो प्रवृत्तिले आक्रान्त अनुशासनहीन/अराजक जनमानसलाई अङ्गीकार गर्न अभिशप्त मुलुकले समृद्धिको गन्तव्य कहिले भेट्ने ? ज्वलन्त र जटिल प्रश्न राज्यसामु उभिएको छ ।