टिकटक बन्द हुनुको कारण र औचित्य !

टिकटक बन्द हुनुको कारण र औचित्य !


नेपालमा टिकटक बन्द गराउनुलाई अनुचित ठहर गर्नुअघि त्यसका नकारात्मक पाटोका बारेमा पनि स्पष्ट हुन आवश्यक देखिन्छ ।
✍ यादव शर्मा

‘माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेको सरकारले गर्ने या गरेका हरेक निर्णयको विरोध हुनुपर्छ’, नेपाली राजनीतिको परम्परागत संस्कारअनुसारको धारणा अर्थात् निष्कर्ष यही हो ! आफूलाई मन नपरेको मानिस या पक्षले राम्रो काम गरेछ भनेपनि त्यसको विरोध नै हुनुपर्छ भन्ने संस्कारको विकाश हाम्रै राजनीतिकर्मीहरूले गरेका हुन् । धन्न ! विपक्षीले सात बार र बाह्र महिनालाई जुन नामले सम्बोधन गर्ने गरेका छन् त्यही नाम हामी प्रयोग गर्दैनौँ भन्ने तहको असहमतिमा चाहिँ ओर्लिइसकेका छैनन् ! होइन भने नेपाली राजनीतिलाई ‘गाली ब्यव्यवसाय’कै रूपमा अघि बढाइएको स्थिति छ ।

सरकारले गत कार्तिकको अन्तिम सातामा टिकटक नामक अनौपचारिक सञ्चार सञ्जाललाई बन्द गर्ने निर्णय ग¥यो । यो निर्णयले टिकटकलाई अत्यधिक उपयोग गरेर राजनीतिमा प्रकट भएका ब्यक्तिहरूलाई गहिरो चोट पुऱ्यायो । टिकटकलाई आम्दानीको श्रोत बनाउँदै आएकाहरू, त्यसलाई मनोरञ्जन लिने र दिने साधनका रूपमा प्रयोग गर्दै आएकाहरू, टिकटके समाचारमा भर परेर धारणा बनाउनेहरू र, टिकटके ज्ञानमा रमाएकाहरू सबैलाई सरकारको निर्णयले स्तब्ध र विक्षिप्त नै तुल्याएको पाइयो ।

वास्तवमा सञ्चारका कुनैपनि माध्यम जसको प्रयोग धेरै मानिसले गर्ने गर्दछन्, त्यसलाई बन्द गरिनु सिद्धान्ततः उचित होइन । नियमन र अनुगमनको प्रभावकारी ब्यवस्था गरेर माध्यमहरूको प्रयोगलाई निरन्तरता दिनु उत्तम उपाय हो ! तर नेपालमा अनुगमनकारी जिम्मेवारी पाएका र भ्रष्टाचार नियन्त्रण गर्न खडा गरिएका निकायहरू आफ्नो काममा कति प्रभावकारी छन् भनी अध्ययन-मूल्याङ्कन गर्ने हो भने तीस प्रतिशत पनि सफल रहेको निष्कर्षमा पुग्न सकिँदैन । निर्वाचनको समयमा नियमसम्मत ढङ्गले सञ्चालनमा रहेका जिम्मेवार सञ्चार माध्यमहरूमाथि अनुगमन तथा नियमन गर्ने कार्य त अहिलेसम्म पूर्ण सफल बन्न सकेको छैन भने सामाजिक सञ्जाल भनिने ‘पर्सनल मिडिया’को अनुगमन र नियमन कार्य कति सफल हुनसक्ला भन्ने प्रश्न आफैंमा एउटा चुनौतीका रूपमा रहेको छ । यस्तो पृष्ठभूमिमा नेपालमा टिकटक बन्द गराउनुलाई अनुचित ठहर गर्नुअघि त्यसका नकारात्मक पाटोका बारेमा पनि स्पष्ट हुन आवश्यक देखिन्छ ।

(क) सांस्कृतिक विचलन र विकृति :

टिकटकको प्रयोग नेपाली समाजको संस्कार, संस्कृति र मूल्य-मान्यताप्रतिकुल रह्यो । यसले हाम्रो पारिवारिक परम्परा र मर्यादामा गम्भीर ढङ्गले क्षति पुऱ्याउने गरेको महसूस सबैले गरेका छन् । खासगरी छाडापन, अश्लीलता र अभद्र एवम् अमर्यादित शब्दहरूको प्रयोगले बालबालिकाहरूमा नकारात्मक असर परिरहेको थियो, छ भने पारिवारिक स्थिति र वातावरणमा पनि यसले नकारात्मक प्रभाव पार्दै आएको थियो । यही रूपमा टिकटक चलिरहने हो भने नेपालीको मौलिक संस्कृति, सभ्यता र सामाजिक संरचना नास हुन अर्को एक दशक लाग्ने देखिँदैन !

ख) नकारात्मकताको बिस्तार :

टिकटकमा प्रकट अभिव्यक्तिका आधारमा दर्शक तथा फलोअर बढ्ने भएकोले प्रयोगकर्ताहरूमा झुठ र नकारात्मकताको व्यापार गर्ने प्रतिष्पर्धा नै चलेको थियो । जति ब्यापकता पायो त्यति आम्दानी हुने भएकोले मानिसमा सस्ता र नकारात्मक सामाग्री सम्प्रेषण गर्ने प्रवृत्ति बढेर गएको थियो ।

ग) कामप्रतिको उदासिनता :

टिकटकबाट कमाइ हुने भएपछि आम मानिस अन्य अत्यावश्यक काममा भन्दा टिकटकमै झुण्डिन थालेका थिए । सरकारी काम, उद्यम ब्यवशाय, पठनपाठन र घरायसी काममा यसले त्रासदीपूर्ण असर पारेको थियो । अन्य काम छोडेर टिकटक चलाउनुलाई नै काम ठान्न थालिएको हुँदा यसले राष्ट्रिय उत्पादनमा समेत गम्भीर असर पार्ने खतरा पैदा गरिसकेको थियो ।

घ) गैरजिम्मेवार कम्पनी :

सामाजिक सन्जाल भनिने पर्सनल मिडियाहरूमध्ये अत्यधिक प्रयोगमा रहेका फेसबुक र ट्वीटर जस्ता माध्यमले उजुरी (कम्प्लेन) लाई तत्काल रेस्पन्स गर्ने गर्दछ । तर टिकटक सञ्चालक कम्पनी कसैको चरित्र हत्या हुँदा या गम्भीर प्रकृतिको घटना सिर्जना भइसक्दा पनि उजुरीप्रति सम्वेदनशील नहुने, बरू वास्तै नगर्ने या त्यो आफ्नो विजनेस नभएको भन्दै पन्छिने गर्दछ । जसका कारण कैयनले आफ्नो जीवनमा अपुरणीय क्षति ब्यहोरेका छन् । जबकि फेसबुकलाई कसैले कम्प्लेन ग¥यो भने उसले तत्काल रेस्पन्स गरि क्षति हुनबाट जोगाउने गर्दछ ।

ङ) अराजकतालाई बढावा :

टिकटकमा सामाग्री प्रस्तुत गरेर आफूलाई चिनाउन (भाइरल तुल्याउन) चाहने प्रवृत्तिले समाजमा अराजकता र अनुशासनहीनता बढाएको छ । बिना आधार÷प्रमाण जे पायो त्यही सामाग्री सम्प्रेषण गरेर राजनीति, प्रशासन, राज्य संयन्त्रका महत्वपूर्ण निकाय र सम्बद्ध ब्यक्तिहरूको बदख्वाइँ गरि मानमर्दन गर्न र अराजकताको स्थिति निम्त्याउन पनि टिकटकले धेरै ठूलो भूमिका निर्वाह गर्दै आएको छ । समाज र ब्यक्तिलाई गलत सूचनामार्फत दिग्भ्रमित तुल्याएर निम्न कोटिको स्वार्थ पूरा गर्न तल्लीन मानिसका कारण टिकटकले थाम्नै नसकिने गरि अराजकता पैदा गरेको छ ।

च) राष्ट्रिय स्वार्थ र सूरक्षामा धक्का :

टिकटकमार्फत सम्प्रेषित सामाग्रीले राष्ट्रिय सूरक्षामा समेत धक्का पुऱ्याएको पाइएको छ । छिमेकी तथा अन्य मित्रराष्ट्रविरूद्ध अस्वाभाविक र अवान्छित टिप्पणी गरेर दुईपक्षीय सम्बन्धमा दरार ल्याउने, सूरक्षासँग सम्बन्धित सम्वेदनशील विषयहरूसमेत सार्वजनिक गरिदिएर राष्ट्रिय सूरक्षामा चुनौती थप्ने, सुरक्षा कमाण्डरहरूको मानमर्दन गरि मनोबल गिराउनेलगायतका कार्य पनि टिकटकमार्फत हुँदै आएको हो ।

उल्लिखित कारणहरूको गम्भीरतालाई मनन गर्दा टिकटक बन्द गर्न सरकारले धेरै ढिला गरेको भन्नुपर्ने हुन्छ । तर टिकटकलाई माध्यम बनाएर आफ्नो उद्यम-व्यापार बढाउने काम गरिरहेकाहरूलाई भने टिकटक बन्द गर्नाले गम्भीर क्षति पुग्ने स्थिति उत्पन्न गराएको छ ।