‘सुवर्ण’ नजान्नेले जान्दैन नेपाली काङ्ग्रेस !

‘सुवर्ण’ नजान्नेले जान्दैन नेपाली काङ्ग्रेस !


पार्टीलाई सुवर्ण शम्शेरले २९ वर्षसम्म अनवरत अनुदान दिइरहनुभयो । २०१५ सालको आमनिर्वाचनको बेला पार्टीलाई आवश्यक बजेट र चन्दाबारे भन्नुभएको पाइन्छ, ‘जबसम्म म बाँचिरहन्छु हाम्रो संस्था (काङ्ग्रेस)लाई चाहिने आवश्यक खर्चको लागि कसैका अगाडि हात फैलाउन म दिन्नँ ।’
✍ चन्द्रमणि गौतम

सुवर्ण शम्शेर (वि.सं. १९६७-२०३४) बारे नजान्नेले नेपाली काङ्ग्रेस जान्दछ भन्ने कुरा हुन सक्दैन । सुवर्ण शम्शेरलाई छोडेर अन्य नेताहरू, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा अन्य मूर्धण्य नेताहरू पनि अधुरोजस्तो लाग्छ । मैले सुवर्ण शम्शेरलाई जीवनमा कहिल्यै भेटिनँ, तर उहाँका बारेमा पढ्दै जाँदा मेरो मानसपटमा सुवर्णजीप्रतिको छाप उत्तरोत्तर गाढा हुँदै गयो ।

२०४६ सालमा आफूमा सहजै आएको प्रधानमन्त्रीको सर्वशक्तिमान पद सर्वोच्च नेता गणेशमान सिंहले सविनय र सहजताका साथ अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई सुम्पिनुभएको थाहा छ । त्यस्तो महानता सुवर्णजीले २०१५ सालको पहिलो आमनिर्वाचनपछि आफूमा आएको त्यस्तै प्रधानमन्त्री पद दूरगामी विवेक प्रयोग गर्दै राजिखुशीका साथ बीपीलाई सुम्पिनुभएको वास्तविकता आजको धेरै काङ्ग्रेसजनले या बिर्सिसके वा थाहै पाएका छैनन् । तर आजको बिल्कुल विपरीत परिवेश र गतिविधि देख्नुपर्दा अनि यी कुरा सम्झिँदा पनि अलिकति लाज र निकै क्षोभ उत्पन्न हुन्छ । इतिहास सम्झिँदा गौरवले छाती ढक्क फुल्छ, वर्तमान हेर्दा नैराश्यले दुःखी बनाउँछ ।

सुवर्ण शम्शेरको उदारमना आर्थिक शक्तिले २००७ सालको जनक्रान्ति सम्पन्न भयो । कुल दुई करोड रुपैयाँ क्रान्तिका लागि खर्च भयो । २०१५ सालको आमनिर्वाचनमा पनि सुवर्णजीले आफ्नो अथाह निजी सम्पत्ति लगाउनु भएको छ । अर्थ अभाव परेको बेला काङ्ग्रेसका हरेक नेता र कार्यकर्तालाई सहयोग गर्नुभएको थियो ।

२००७ सालको संयुक्त मन्त्रिमण्डलमा नेपालको पहिलो अर्थमन्त्री भएर सुवर्णजीले देशको वार्षिक आय-व्यय बजेट सार्वजनिक गर्ने पद्धतिको स्थापना गर्दै पहिलोपल्ट रेडियोद्वारा बजेट वक्तब्य जारी गर्नुभएको थियो । १०४ वर्षसम्म राणाहरूको विलासितामा चुसिएर दबिएर जर्जर भएको त्यस बखत नेपालको वार्षिक आम्दानी ३ करोड ५ लाख १६ हजार रुपियाँमात्र थियो ।

सुवर्णजी त्रिभुवन विश्वविद्यालयको पहिलो उपकुलपति हुनुभएको थियो । यस्ता धेरै ‘पहिलो’ उहाँसँग जोडिएका छन् । तर त्यसपछि त्रिविले उहाँलाई निधन हुँदासमेत वास्तै गरेन, विदा दिने र शोक मनाउने परैको कुरा !

सुवर्णजीले चाहेको भए पार्टीभित्र उत्पन्न विमतिका बीच पार्टी फुटाउन सक्नुहुन्थ्यो । तर उहाँले त्यसो गर्ने सोचाई कदापि लिनुभएन । वर्तमान नेपाली काङ्ग्रेसको लथालिङ्ग, भताभुङ्ग र अराजक अवस्था हेर्दा पार्टीका संस्थापक नेताहरूको जिम्मेवारी र परिपक्वताका गाथा दन्त्यकथा जस्तै लाग्छ । २०५९ सालमा निहित स्वार्थ र जुँगाको लडाइँको परिणामस्वरुप काङ्ग्रेसलाई दुई चिरा बनाइयो । त्यसको असर आजसम्म पार्टीले ब्यहोरिरहेको छ । पार्टी फुटाउनेहरूकै आज पार्टीमा हालीमुहाली छ ।

२०१५ साल जेठ २ गते सुवर्णजीको अध्यक्षतामा ६ सदस्यीय चुनावी मन्त्रिपरिषदले पहिलो आमनिर्वाचन सकुशल सम्पन्न गरायो । चुनावी सरकारको प्रधानमन्त्रीसरहको, अध्यक्ष ओहोदामा बसिसक्नुभएको सुवर्णजी २०१६ साल जेठ १३ गते गठित मन्त्रिमण्डलमा उपप्रधानमन्त्री तथा अर्थ, योजना र विकास मन्त्रीका रूपमा काम गर्न तत्पर हुनु पदलोलुपता होइन, जिम्मेवारी र कर्तब्य परायणताको नमूना हो । पार्टीलाई उहाँले २९ वर्षसम्म अनवरत अनुदान दिइरहनुभयो । २०१५ सालको आमनिर्वाचनको बेला पार्टीलाई आवश्यक बजेट र चन्दाबारे भन्नुभएको पाइन्छ, ‘जबसम्म म बाँचिरहन्छु हाम्रो संस्था (काङ्ग्रेस)लाई चाहिने आवश्यक खर्चको लागि कसैका अगाडि हात फैलाउन म दिन्नँ ।’

तर जीवनका आखिरी दिनहरूमा उहाँलाई नै अर्थाभावले निकै अप्ठ्यारो अवस्थामा पुऱ्यायो ।

२०३४ साल कार्तिक २४ गते बुधबार भारतको कोलकातामा उहाँको निधन भएकोले कार्तिक २४ गते उहाँको पूण्यस्मृति दिवस हो । ती इतिहासपुरुषलाई हार्दिक श्रद्धाञ्जली !