उत्साहित पूर्व श्री ५ नमोबुद्धमा !

उत्साहित पूर्व श्री ५ नमोबुद्धमा !


विगत केही समयदेखि देशमा राजा चाहिन्छ भन्ने नारा लागिरहेको बेला २०८० सालको दशैँले राजपरिवारमा उत्साह थपेको बुझिएको छ । दशैँको टीकाको दिन पूर्व श्री ५ ज्ञानेन्द्रको हातबाट टीका लाउनका लागि हजारौं मानिसहरू निर्मल निवास पुगेका थिए । राजसंस्थाको आवश्यकता देख्ने राजनीतिक दल र विभिन्न क्षेत्रका ब्यक्तिहरूले टीका थाप्दै गर्दा राजालाई ‘अब धेरै दिन बाँकी छैन सरकार राजसंस्था आउनलाई’ भनेका थिए । प्राप्त जानकारीअनुसार टीकामा मानिसहरूको भीड भन्दा पनि बिगतमा भन्दा फरक मानिसहरूको उपस्थितिले राजालाई उत्साहित बनाएको हो । यस पटक टीका थाप्नेमा युवाहरूको संख्या ठूलो थियो ।

दरबारले सोच्दैनसोचेका केही विशिष्ट ब्यक्तित्वहरूले यसपटक राजाको हातबाट टीका लगाएका छन्, त्यसमध्ये एक हुनुहुन्थ्यो- नेकपा एमालेको नेतृत्वदायी भूमिकामा बसेर लामो समय काम गर्नुभएका पूर्व राजदुत कमल कोइराला । मातृकाप्रसाद कोइरालाका छोरा, कम्युनिष्ट पृष्ठभूमिका राजनीतिकर्मी तथा लेखक कमल कोइरालाले राजा ज्ञानेन्द्रको हातबाट टीका थाप्न जानुले फरक सन्देश पनि दिएको छ । कोइराला जस्तै राजनीति र विभिन्न क्षेत्रका वरिष्ठ ब्यक्तित्वहरू टीका थाप्न निर्मल निवास पुगेका थिए । विगतमा कहिल्यै नदेखिएको ‘स्वयम्सेवी दस्ता’का नामको करिब २ सय जनाको टोली दलबलका साथ पुगेको थियो । त्यहाँ राति ९ बजेसम्म चलेको टीकामा युवा, महिला, वृद्धवृद्धादेखि मुस्लिम समूदायका मानिसहरूसम्मले सहभागिता जनाएका थिए ।

अहिले केही दिनदेखि राजपरिवार काभ्रेको नमोबुद्धस्थित दुसित रिसोर्टमा रहनुभएको छ । मुलुकका विभिन्न स्थानबाट आफ्नो ठाउँको भ्रमणका लागि निमन्त्रणा आएको भएपनि अहिले तत्काललाई भ्रमणहरू स्थगित गरिएको श्रोतले जनाएको छ ।