भूकम्पीय जोखिम र नेपालको नियति

भूकम्पीय जोखिम र नेपालको नियति


भूकम्पीय प्रकोप भोगेर, देखेर, पढेर, सुनेर पनि भूकम्पले पार्न सक्ने प्रभाव वा परिणतिबाट जोगिन न नागरिक तप्का सचेत रह्यो न त सरकारीस्तरबाट गरिनुपर्ने जिम्मेवारी निर्वाह गरिएको अनुभूति गर्न पाइयो । जब समस्या आइपर्छ तब विसङ्गत प्रकृतिको भागदौड, छटपटी, कोलाहल, हारगुहार अनि उद्धार र राहतका अस्वाभाविक तथा नाटकीय उपक्रम दोहोरिनु यहाँको नियति नै हो ।

विभिन्न कालखण्डमा ठुल्ठुला भूकम्प ब्यहोरिसकेको नेपाल जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका कारण यतिबेला पुनः एकपटक थिल्थिलो बन्न पुगेको छ । ६ दशमलव चार म्याग्निच्युडको उक्त भूकम्पबाट मूलतः सुदूरपश्चिमका दुई जिल्ला जाजरकोट र रुकुमपश्चिम आक्रान्त बनेका भएपनि ठूलो मात्रामा जनधनको क्षतिका कारण सिङ्गै देश पीडामा छ । मध्यरातको समयमा उत्पन्न भूकम्पीय प्रकोपबाट एक सय सन्ताउन्न जनाको मृत्यु र दुई सयभन्दा बढी सङ्ख्यामा घाइते बनेको सरकारी तथ्याङ्क छ । मानवीय क्षतिको आँकडा अझ बढ्न सक्छ । लगातार जारी परकम्प र दोहोरिइरहेको भुइँचालोका कम्पनले भूकम्पप्रभावित क्षेत्रका जनतालाई ढुक्कले निदाउन दिएको छैन ।

‘भूकम्पीय जोखिमको हिसाबले विश्वकै अग्रणी मुलुकमध्येको एक हो नेपाल’- यो तथ्य हरेक भूकम्पीय दुर्घटनाको बेला रट्दै-रटाउँदै आएका छौँ हामी । नब्बे सालको बहुचर्चित भूकम्पीय घटनाको चर्चा आफ्नै ठाउँमा छ, त्यसबाहेक पनि पटक-पटक ठूला भूकम्प गइसकेका छन् । बहत्तर सालको विनाशकारी भूकम्प गएयता चार म्याग्निट्युडभन्दा माथिका नै ७ सय ७० वटाभन्दा बढी भुँइचालोहरू गइसकेको रेकर्ड छ । जाजरकोट भूकम्पयताका केही दिनभित्रै पनि चार सयभन्दा ज्यादा परकम्प गएका छन् । यसबाट महसूस गर्न सकिन्छ कि भूकम्पीय जोखिमको दृष्टिले नेपाल कति खतरामा छ र, जोखिमबाट बच्न आवश्यक पूर्वतयारी हाम्रो सन्दर्भमा कति अपरिहार्य छ !

तर, भूकम्पीय प्रकोप भोगेर, देखेर, पढेर, सुनेर पनि भूकम्पले पार्न सक्ने प्रभाव वा परिणतिबाट जोगिन न नागरिक तप्का सचेत रह्यो न त सरकारीस्तरबाट गरिनुपर्ने जिम्मेवारी निर्वाह गरिएको अनुभूति गर्न पाइयो । जब समस्या आइपर्छ तब विसङ्गत प्रकृतिको भागदौड, छटपटी, कोलाहल, हारगुहार अनि उद्धार र राहतका अस्वाभाविक तथा नाटकीय उपक्रम दोहोरिनु यहाँको नियति नै हो । कयौँको मृत्यु, कयौँ घाइते, अपाङ्ग तथा घरवारविहीन हुन पुगेका अनि राज्यलाई अर्ब-खर्बको क्षति पुगेको सन्दर्भको साक्षी भएर पनि सोबाट पाठ नसिकी लापर्वाहीयुक्त जीवनयापनमा निमग्न रहनु विडम्बनाको कस्तो पराकाष्टा !

जाजरकोट, रुकुम पश्चिमको सवालमा पनि जनचेतनाको अभावका साथै कमजोर संरचना अनि पूर्वतयारीबारे रत्तिभर ख्याल नहुनु जस्ता कारणले क्षतिको मात्रा अत्यधिक बढाएको सहजै आँकलन गर्न सकिन्छ । वास्तवमा क्षति हेर्दा भूकम्पसम्बन्धी जनचेतना पटक्कै नरहेको नै देखिन्छ । राज्यका जिम्मेवार निकायहरूले भूकम्पको विषयमा काम गर्न नसकेको नै रहेछ । भूकम्प जान्छ, प्रतिरोधात्मक घर बनाउनुपर्छ भन्ने जनस्तरलाई जानकारी नभएको मात्र नभइ स्थानीय सरकारले पनि यसबारे काम नगरेकै रहेछ । २०७२ सालपछि नेपालले धेरै काम गरेको भनिए पनि राज्यले भूकम्पसम्बन्धी जनचेतना पुऱ्याउन नसकेको नै रहेछ । तितो लागेपनि यथार्थ यही हो ।

भनिरहनु पर्दैन कि नेपालले आगामी दिनमा पुनः यस्तै विपद् सामना गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था कायम नै छ । तर, हालको अवस्था विद्यमान रहे हामीले आगामी दिनमा ठूलो भूकम्प आउँदा अपूरणीय क्षति ब्यहोर्नुपर्ने हुनसक्छ । सरकारी तहबाट निर्वाह गरिनुपर्ने जिम्मेवारीबारे औंल्याइरहनु नपर्ला, प्रत्येक नागरिकसमेत भुकम्पीय जोखिम र यसबाट सुरक्षित रहन आवश्यक पर्ने पूर्वतयारीका काम-कुराबारे जानिफकार रहनु अत्यावश्यक छ । किनकि, यसको आगमनको पूर्वानुमान गर्न नसकिने, मानवीय र भौतिक संरचनाको ठूलो क्षति हुनसक्ने र उद्दार कार्य पनि कष्टकर हुने हुँदा यसलाई बाढी, पहिरो, सुख्खा, हिमपात, आँधिबेहरी, सुनामीभन्दा कठोर विपत्तिका रुपमा लिइएको छ । भूकम्पलाई मानव जीवनकै कठोरतम् विपत्तिमध्येको एक मानिन्छ ।

१९९० सालको महाभूकम्पमा पुगेको क्षतिको सम्झनामा गत २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको स्मरणमा राख्नु यहाँनेर सान्दर्भिक ठहरिएला । भूकम्प सुरक्षा दिवस मनाउनुको तात्पर्य केवल भूकम्पका घटना सम्झन/सम्झाउनका लागि मात्र नभइ भूकम्पको सम्भावित खतरा वा क्षतिबाट बच्न पूर्वतयारीको अवस्थामा रहनका लागि हो भन्ने बुझ्नुपर्छ । नेपाल उच्च जोखिममा रहेको सत्यलाई मनन गर्दै भूकम्पबारे अध्ययन, अनुसन्धान र तालिमका लागि प्रयोगशालासहितको अनुसन्धान केन्द्रको आवश्यकता उहिल्यै औंल्याइएको थियो, तर त्यतातिर राज्यको ध्यान जान नसकेको यथार्थ पनि यतिबेला उल्लेख गर्नैपर्ने हुन्छ  । स्थानीय स्तरमा सबै किसिमका घरहरूका लागि भूकम्पप्रतिरोधी निर्माणविधि अनिवार्य गर्नेतर्फ सबै स्थानीय निकाय लाग्नुपर्ने थियो, घनाबस्ती भएका शहर र शहरोन्मुख क्षेत्रहरूमा मात्रै भए पनि यसलाई कार्यान्वयन गर्न सकिन्थ्यो, तर विज्ञजनका यस्ता सुझावको कुनै कदर राज्य तहबाट हुन सकेन ।

जे होस्, जाजरकोट भूकम्पलगत्तै प्रधानमन्त्रीले व्यक्तिगत तवरले दर्शाएको तत्परताको भने प्रशंसा गरिएको छ । तर यस्तो विपत्तिका बेला कुनै व्यक्तिविशेषको प्रयत्नले मात्र पुग्दैन । यसले प्रेरणा जगाउने काम त गर्ला तर मृतकको परिवार, घाइते तथा पीडितको उद्धार, उपचार र पुनःस्थापनका लागि त राज्य र समस्त नागरिकको समष्टिगत प्रयासकै दरकार पर्दछ भन्ने नभुलौँ ।