१०ः५१ को साइत राष्ट्रपति वा प्रधानमन्त्री पिर्ने !

१०ः५१ को साइत राष्ट्रपति वा प्रधानमन्त्री पिर्ने !


ज्योतिषीको दृष्टि

✍ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

पञ्चाङ्ग निर्णायक समितिले यही कात्तिक २९ गते बुधबार भाइटीकाको लागि बिहान १०ः५१ बजेलाई शुभ साइत भनेर प्रचार गरेको पाइयो । गएको दशैँमा पनि यस्तै कुसाइतमा टीका लगाउने उत्तम साइत भनी प्रसारण गरेको थियो । वास्तवमा समितिको काम पात्रामा स्वीकृति जनाउने वा पात्रासम्बन्धी अध्ययन/अनुसन्धान गर्ने हो, साइत निकाल्ने होइन । तर समितिले फेरि आग्राका कुरा गाग्रामा पुऱ्याएको छ ।

साइत भनेको सामान्य ज्योतिष पढेर निकाल्न सकिँदैन । पहिलो कुरा साइत भनेको मुहूर्त वा शुभ समय हो । यस्तो समय निकाल्न बराहमिहिर, पृथुयशका कृतिहरू पनि पढ्नुपर्छ । कुन समयमा के हुन्छ भन्ने फल तिनले बताएका छन् जो पढ्नु आवश्यक हुन्छ । मात्र राशिफल पढेका आधारमा साइत दिनु हचुवा कुरा हुन जान्छ । यसपल्ट फेरि समितिले अर्को गाईजात्रा देखाएको छ । सर्वप्रथम समितिले दिएको साइत १०ः५१ को समय हेरौँ, इष्ट ११ः१७, ज्येष्ठा नक्षत्र, वृश्चिक राशि, अतिगण्ड योग, कौलव करण तथा धनुलग्नको उत्तराद्र्ध वा अन्तिम पाउमा पर्दछ । लग्नफलः कार्येश र राज्येश बुध चन्द्रमासहित लग्नबाट बा¥हौंमा रहनाले राष्ट्रपति वा राज्यको मुख्य व्यक्तिलाई पिर्ने, तृतीय शनिको चनद्रमामाथि पूर्ण दृष्टि रहेकाले राज्यमा द्वन्द्व, विवाद, महामारी, भूस्खलन वा प्राकृतिक विपत्ति आउने र अनावश्यक खर्च बढ्ने फल हुनेछ । लग्नेश गुरु वक्र भई पञ्चम बसेर लग्नमाथि पूर्ण दृष्टि दिइरहेको हुँदा यसले प्रधानमन्त्रीमाथि विपत्ति दिने देखिन्छ भने लाभस्थानमा सूर्यसाथ मंगल (व्ययेश) बसेकाले राज्यको प्रमुख व्यक्तिमाथि अरिष्ट गर्ने देखिन्छ । दशम याने राज्यस्थानमा नीच शुक्र बसेकाले प्रधानमन्त्री वा मन्त्रिमण्डलमा हेरफेर हुने सम्भावना हुन्छ ।

अर्कोतर्फ धनुलग्नमा अकारक रहेको शनिले लग्नेश वक्री गुरुमाथि पूर्ण दृष्टिले देख्नु र गुरुले लग्नमाथि पूर्ण दृष्टि दिनु टीका लगाउने र लगाइदिने दुवैलाई नोक्सान हुनसक्ने देखिन्छ । तसर्थ समितिले दिएको साइत नभएर कुसाइत हो । यस्तो समयमा टीका ग्रहण गर्नु गराउनु हुँदैन । एक त लग्न नै अन्तिम डिग्रीमा रहेको, लग्नेश बक्री भएर लग्नमा दृष्टि दिइरहेको अवस्थामा कार्य गर्नाले आफूलाई र आफ्ना सन्ततिलाई पनि पिर्ने हुन्छ । सो दिन १०ः५६ पछि मकरलग्न हुने र दशममा सूर्य मंगल (जो यहाँ बली हुन्छन्), एकादश चन्द्रबुध, चतुर्थस्थानमा वृहस्पति हुन्छन् । अतः ११ बजेका आसपासमा टीका ग्रहण गर्नु/गराउनु उत्तम हुनेछ ।

अब १०ः५१ को समयमा धनुलग्न, धनु नवमांश हुन्छ, नवमांशमा पनि लग्नमाथि मंगल (व्ययेश) सूयृसहित सप्तममा देख्ने हुँदा टीका ग्रहण गर्ने व्यक्ति रोगी हुने, लगाइदिने दुर्घटनामा पर्ने बढी सम्भावना रहन्छ । ज्योतिषशास्त्रमा लग्नलाई भुक्तांश र नवमांशलाई भोग्यांश भनिन्छ । त्यसैले पहिलेका बुढापाकाहरूले नवमांशलाई अंशा भनेका हुन् । लग्नभन्दा नवमांश बढी शक्तिसाली हुन्छ, यो बिग्रियो भने भविष्य नै बिग्रन्छ । तसर्थ समितिले दिएको साइत उत्तम नभएर अधम हो, यसमा टीका लाउनु हुँदैन ।

सामान्यतः गण्ड योगमा शुभकार्य नगर्नु भनिएको छ भने कात्तिक २९ गते त अतिगण्ड योग परेको छ । सो दिन ११ः१ बजेको साइत गर्दा मकरलग्न र मकर नवमांश पर्छ, नवमांशमा दशम बुध भएकाले अति उत्तम हुने देखिन्छ । पहिले पहिले पात्रा बनाउँदा बारलाई पनि हेक्का राखिन्थ्यो । जस्तो साउने सङ्क्रान्ति जे बार छ, माघेसङ्क्रान्ति त्यही बार राखिन्थ्यो । त्यस्तै ऋषिपञ्चमी र वसन्तपञ्चमी एकैबार र दशैंको टीका र भाइटीका पनि एउटै बारमा हुन्थे । अहिले समितिबाट स्वीकृत पात्राहरूमा दशैंको टीका मंगलबार र भाइटीका बुधबार गरिएको छ । बार नमिल्नुको अर्थ हो तिथिका घडी पला नमिल्नु । अर्को कुरा समितिले हरेक वर्ष २ महिना ३२ का बनाएको हुन्छ, जब विश्वमा कहीँ पनि ३२ का महिना हुँदैनन्, अथवा एउटा महिना त ३२ को हुँदैन भने २/२ महिना ३२ का कसरी भए ? यसको अर्थ समितिका पदाधिकारीमा सामान्य ज्योतिषको पनि ज्ञान भएको देखिँदैन ।

हुन त हामीकहाँ रामहरि जोशीपछि पढेलेखेको र केही बुझेको मान्छे संस्कृतिमन्त्री नभएकाले पनि होला अशुद्ध पात्राहरूलाई शुद्ध्याउने काम भएन । एक समय ज्योतिष शिरोमणि नयराज पन्तज्यूले पात्रा शुद्ध बनाउन कोसिस गर्दा नगर्दै समितिबाट हटाइयो र पछि प्रा.डा. केशवराम जोशीलाई अध्यक्ष बनाइएन र अपमानपूर्वक व्यवहार गरियो, हाल डा. साम्बराज आचार्य मात्र ज्योतिर्विधामा स्वनामधन्य हुनुहुन्छ । उहाँ के-कस्तो अवस्थामा हुनुहुन्छ भन्ने पत्तो छैन । यदि पढेलेखेको मान्छे संस्कृतिमन्त्री हुन्थ्यो भने उहाँको पक्कै खोजी हुन्थ्यो ।

समितिले निर्धारण गरेका साइत दशैँको टीका र भाइटीकालाई हेर्दा पढे लेखेका र ज्योतिष पनि बुझेका मान्छे समितिमा नभएको प्रस्ट हुन्छ । हामीले लेख्दा बोल्दा र काम गर्दा बहुजन हितायलाई हेर्नुपर्छ, केवल मानु पचाउने इरादाले काम गर्नु हुँदैन । समितिका मानिसमा लुब्ध मानसिकता र विग्रहकारी भावनाको प्रचुर्यता रहेको देखियो । अतःएव सबैको कल्याणको कामनाले सो दिन मध्यान्ह ११ः१ को साइतमा टीका ग्रहण गर्न/गराउन म हार्दिक अपिल गर्दछु ।

  • महाकवि देवकोटा आश्रम, हाल : बेघर