आरतीलाई न्याय कहिले ?

आरतीलाई न्याय कहिले ?


राजधानी काठमाडौंको मुटु माइतीघरको अनसन स्थलमा विगत १ सय ४५ दिनदेखि एउटा तुल टाँगिएको जो कोहीले देख्न सक्छ । जसमा लेखिएको छ, ‘आरती साहलाई न्याय देउ !’ ब्यानरमा उज्यालो मुहारकी युवतीको फोटो छ, फोटोमा भएकी ती युवतीको नाम आरती साह हो, जसको यही २०८० साल जेठ ६ गते हत्या भएको भनी अहिले उनको परिवार न्यायका लागि माइतीघर मण्डलामा छ ।

जनकपुरनिवासी आरतीको २०७८ सालमा जनकपुरकै मोतीबाबु साहसँग विवाह भएको थियो । परिवारले दिएको जानकारीअनुसार २५ लाख दाइजोसहित गरिएको उक्त विवाहको केही समयदेखि नै केटा पक्षले थप दाइजोको माग गर्दै आएको थियो । घटना भएको ११ दिनअघि छोरीले माइत गएर एउटा बाइक र दराज चाहियो भनिरहेका छन् भनेकी थिइन् । आरतीकी आमाले बाइक त दिने अवस्था छैन दराजचाहिँ केही समयपछि दिउँला भनेकी थिइन् । तर छोरी घर गएको ११ दिनपछि अकस्मात उनको मृत्युको खबर माइतीमा पुग्यो । परिवारका सदस्य अस्पताल पुग्दा आरतीको शरीरमा निलडाम देखे । घरपट्टिकाले आरतीले पासो लगाएर आत्महत्या गरेको भनेपनि लाशको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएन । पोस्टमार्टम रिपोर्टमा अस्पताल ल्याउनुअघि नै मृत्यु भइ्सकेको देखिएपछि बाबुआमाले मृत्यु स्वीकार गर्न सकेनन् र प्रहरीमा रिपोर्ट गरे । तर, प्रहरीले मुद्दा दर्ता गर्न मानेन । पछि मुद्दा तर्दा त भयो तर सही अनुसन्धान नगरिएको र मुद्दालाई फितलो बनाइएको परिवारको दाबी छ ।

जनकपुरमा आफ्नो केही नलागेपछि बाबु विनोद साह, आमा निर्मला, भाइ सन्तोष र बहिनी मनिषा माइतीघरमा बसेको करिव पाँच महिना भइसकेको छ । माइतीघरको खुल्ला अकाशमुनि यो निरीह बाबु पोष्टरमा टाँगिएकी छोरीलाई हेर्दै न्याय दिलाएरै छोड्छु भन्छन् । भाइ, बैनी, आमा आरतीको हत्यापछि सबैको दिनचर्या हत्यारालाई कार्वाही होस् भनेर भौँतारिनुमा परिणत भएको छ । माइतीघरबाट प्रहरीले बेला बेलामा उठाएर अनामनगर प्रहरी थानामा लाने र केही दिन राखेर वीर अस्पतालअघि छोडिदिने गरेको उनीहरूले बताएका छन् ।

न्यायका लागि यतिका दिनदेखि बसिरहेको यो परिवारको मागको बारेमा तत्काल राज्यको ध्यान जान जरुरी छ । आरतीको हत्या हो कि आत्महत्या अनुसन्धान गरी हत्या भए हत्यारालाई र आत्महत्या भए आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कार्वाही हुन आवश्यक छ ।