यसपटक दाइ लड्नु भो !

यसपटक दाइ लड्नु भो !


दाइ बोल्न सक्ने हालतमा हुनुहुन्थेन ! भाउजुले दाइको इच्छा अर्थ्याउनु भो- ‘मनसुवा त राष्ट्रपति खाने थियो नि बाबु ! गिरिजाबाबुको कत्रो सेवा गर्नुभो ! माउवादीलाई हेलिकप्टरमा बोकेर ल्याउनुभो ! केजाति विधानको कागज पनि लेख्नुभो ! गिरिजाबाबुले राष्ट्रपति तिमी नै खानु भनेर जानुभकोथ्यो ! रामचन्द्रले खाइदिए ! लोभी बाहुन !’
✍ ज्ञानमणि भुर्तेल

दाइ लड्नु भो !
डडेलोझैँ खबर फैलियो !
जयगुरु देखि धुरुधुरुसम्म, खोरेतदेखि पुरेतसम्म सबै भेला भए !
दाइ इन्तु न चिन्तु ! लम्पसार !!

पुरेतहरू अर्तिपुराणमा ब्यस्त ! खोरेत जति लम्पसार आसनमा दाइसँग सेल्फी लिन मस्त ! पुरेतहरूको दाइलाई अस्पताल लैजाने सल्लाह दरपीठ गर्दै खोरेतहरू- दाइलाई केही भएको छैन ! दाइ तगडा हुनुहुन्छ ! दाइको जित सोलिड छ को जिद्दीमा !! कुनै खोरेत त ‘दाइ तिमी अघि बढ ! जनता तिम्रो साथ छ’को नारामा लिप्त ! सबै खोरेतमा- दाइलाई केहि भएको छैन ! तन्दुरुस्त हुनुहुन्छ ! कतै लानुपर्दैन ! हाम्रै बलमा उभिनुहुन्छ ! हाम्रै बलमा दौडिनुहुन्छ ! अरु कोहि चाहिन्न भन्ने ओभरकन्फिडेन्स !

‘डाक्टर देखाएको छैन ?’ पुरेत समुहका एक बुज्रुकले भाउजुतिर जिज्ञासा तेर्स्याए !

‘त्यै डाक्टरले गर्दा त लड्नुभको हो ! के डाक्टर देखाउनु ?’ भाउजूको मलिन स्वर !

‘लौ ! डाक्टरले कतै लडाउँछन् ? डाक्टरले त उठाउने पो हो त ! यस्ता सिकिस्तै पारेर लडाउने डाक्टर चैं को परेछन् ?’

‘डाक्टर शेखरले लडायो नि ! शेखर भनेको त ओखर निस्क्यो कोइरालो !’ भाउजुले मुख बिगार्नुभो !

लौ ! यसरी हुन्न ! कुनै राम्रो डाक्टरको सल्लाह लिनुपर्छ ! पुरेत समुहका पौढले प्रेसर दिँदै जङ्गिए- यस्ता उरन्ठेउला खोरेतको सेल्फी कुरोमा अल्मलिनुहुन्न ! दाइलाई निकै गाह्रो भएजस्तो छ !

डाक्टर झट्का बोलाइयो ! सामान्य चेकजाँच पछि अस्पताल लगियो ! सिकिस्त देखिएकोले एम आर आइ गरियो ! रिपोर्ट हेरेर डाक्टर गम्भीर देखिए ! भाउजु तिर फर्केर बोले- ‘पहिले कुन औषधि लिनुहुन्थ्यो ?’

‘खै ! म त आसामतिरै थिएँ ! थाहा भएन !’ भाउजुले अनभिज्ञता प्रकट गर्नुभो !

‘तपाईंलाई थाहा नभएपनि रिपोर्टमा प्रष्टै छ- बैंशालु उमेरमा माले भन्ने ट्याब्लेट लिनुहुँदो रैछ ! पछि अनारमनि स्कुल आएपछि खेलकुद विकास समिति नामको अर्को पञ्चायती ट्याब्लेट पनि थप्नुभएछ ! हैन त ?’

‘हामीले पनि सुनेको यस्तै हो ! बिर्ताबजारका पोखरेल बाहुनले चैँ देखेकै हो रे !’ अलि बुज्रुक पुरेतले पुष्टि गरे ! डाक्टरले एमआरआई प्लेट ध्यानपुर्वक हेर्दै अगाडि बोले- ‘हो ! पहिलेका दुई औषधि नछोडि अर्को समाजवादी औषधि थप्ने हुँदाको रिएक्सन प्रष्ट देखिन्छ ! यो कालो दाग त्यै हो !’ प्लेटको कालो धब्बा देखाउँदै डाक्टर झट्काले प्रष्ट्याए- ‘समाजवादी औषधि पनि इमान्दारिपुर्वक खाएको देखिन्न ! पहिलेकै औषधिको असरले छोडेको छैन !’

दाइसँग लम्पसार सेल्फी लिँदैगरेको एउटा खोरेत डाक्टरछेउ आएर बोल्यो- ‘लौ न डाक्टर साब ! दाइलाई के भएको हो ? हामीले के गर्नुपऱ्यो ? दाइ स्वस्थ नभए त हाम्रो भट्टा बस्छ !’ एक सट सेल्फी डाक्टरसँग पनि भ्याइदियो !

‘हो डाक्टर साब ! मेरो त माईबाप उहाँ नै हो ! मन्त्री भएर पच्चीस लाख पचास बनाउने मेरो सपना गोलखाडी हुनेभो !‘ एउटा नगदे सांसदले झोलामा भएको तयारी दौरासुरुवाल देखाउँदै विलाप गायो ! वरिपरि गलल्ल हाँसो फैलियो !

डाक्टरले खोरेतको मुख लोपारे- नापिस् ! बेलामा सही औषधिको सल्लाह दिएको भए यो हालत हुन्थ्यो ? ठिक छ, सोलिड छ, भन्दै सेल्फी हान्दै दम्भको गलत औषधि ख्वाएर जम्मा भएको नेगेटिभ टक्सिनले सबै ड्यामेज गरेको देखिन्छ !

‘अलिक सजिलो भाषामा भन्नुस् न डाक्टर साब ! यस्तो जटिल भाषा बुझ्ने भए हामीलाई खोरेत लाग्थ्यो र ?’ खोरेतको ताल देखेर पुरेत ट्वाल्ल ! डाक्टर झट्काले सबैलाई चौरमा बसाएर बेलिबिस्तार लाए- ‘हेर केटा हो ! दाइको शरीर जस्तो देखिन्छ, आत्मा नितान्त फरक छ ! सुरुमा उहाँले जुन औषधि प्रयोग गर्नुभयो शरीरमा अहिले पनि त्यही एक्टिभ छ ! गिरिजाप्रसादले एकैपटक हाईडोज समाजवादी औषधि दिएकोले दम्भ सुन्निएर तुजुकमा परिणत भएपछि पुराना काङ्ग्रेस सिध्याउन लागेको कालो दाग प्रष्ट देखिन्छ ! गुटबन्दीको नकारात्मक असर झनै डरलाग्दो छ ! कहिले गगन कहिले प्रदीप उचाल्दै आफ्नै गाउँको फुच्चे लखेट्दा पनि रोक्न नसक्दाको शारीरिक मानसिक थकित दाग हो यो !’ एउटा कालो धब्बामा पातलो स्टिक टेकाउँदै डाक्टरले अर्थ्याए !

‘अरु के-के खराबी छ डाक्टर ? केही उपाय छ कि ?’

डाक्टर आक्रोशित भए- ‘एउटा भए पो भन्नु ? कति हो कति ? सबभन्दा खतरनाक दम्भ देखिन्छ ! गुटबन्दी ! आफ्नै सहकर्मीको बिनास ! गिरिजाप्रसादलाई राष्ट्रपतिको ललिपप देखाएर प्रचण्डसँगको मिलिभगतबाट हिन्दूराष्ट्र पतन गराइ निरपेक्ष लादेको दाग झनै खतरनाक देखिन्छ !’ छेउको अर्को दाग देखाउँदै डाक्टर बोले- ‘यो सुडानको दाग हुनसक्छ ! कुनै पनि बेला यो क्रोनिक भएर निस्किने सम्भावना छ ! संक्षेपमा भन्नुपर्दा शरीरमा पूरै नेगेटिभ टक्सिनको प्रभाव छ !!’

डाक्टरले फेरि भाउजूतिर फर्केर सोधे- राजनीतिबाहेक कुनै अरु ब्यापार बिजिनेस पनि थियोे दाइको ?

‘अँ ! अधिवेशनका बेला झापाबाट काठमाडौं भेडा लगेर बेच्नुहुन्थ्यो ! गएको अधिवेशनमा चै भेडाको भाउ खासै नआएपछि अलि चिन्तित हुनुहुन्थ्यो ! भर्खरै कोशीमा भेडा बिक्री नभएपछि चैँ थलै पर्नुभएको छ ! तर पनि उहाँ हत्तपत्त हार खाने मान्छे हैन ! अहिले टक सेन्टर भन्ने ब्यापार थाल्नुभको छ ! ब्यापार त गरिरहनुहुन्छ उहाँ ! चुप लागेर बस्नै सक्नुहुन्न ! देश र जनताको लागि खटेर निकै गल्नु भको छ ! लसुनप्याज त खानुहुन्न !’ भाउजुले एकै सासमा दाइको गुण बखान्नु भो !

बुढेसकालमा लसुनप्याज नखाएर के गर्नु ? दुर्व्यसन जति बैंशमै भ्याइसक्नुभएको रैछ ! जुन पायो त्यै औषधि खाएर शरीर पूरै नेगेटिभ टक्सिन ब्याप्त छ ! डाक्टरले प्लेट हुत्याउँदै आक्रोश पोखे !

अब के गर्नुपर्ला त डाक्टर बाबु ? अन्त कतै विदेशतिर लग्दा सुधार होला कि ? एक बुज्रुकले प्रश्न राखे !

आराम ! केवल आराम ! अब आराम जरुरी छ ! त्यो पनि सकारात्मक सोचका साथ ! शरीरमा जम्मा भएको टक्सिनले खोरेतको रुप लिइसकेकोछ ! पैतालाबाट सुरु भएको खोरेत मष्तिष्कमा पुगिसकेको छ ! खोरेत संगत छोडेर इमान्दारिपुर्वक समाजवादी औषधि सेवन गरे टक्सिन घट्ने सम्भावना पनि छ ! हैन भने राम्रो भेट्नेरी खोजेर अप्रेसन गर्नुको विकल्प देखिन्न !

डाक्टरले औषधि सुझाउँदै थिए ! खेतैखेत लैनोपाडोझैँ दौडिँदै प्रिय भाइ आइपुगे ! नजिकै आएर शिर झुकाएर बोले– आदरणीय दाइ ! जय नेपाल !!

भाइको स्वर कोरामिनझैँ भो दाइका लागि ! बिस्तारै नयन खोल्नुभो ! ‘जुस खानुस् दाइ’.. आफुले ल्याएको सदाचार ब्राण्डको जुस भाइले दाइतिर तेर्स्याए ! दाइले अनिच्छा देखाउनुभो ! मुख बिगार्नुभो !

‘के खाने इच्छा छ त ? आदरणीय दाइ !’

दाइ बोल्न सक्ने हालतमा हुनुहुन्थेन ! भाउजुले दाइको इच्छा अर्थ्याउनु भो- ‘मनसुवा त राष्ट्रपति खाने थियो नि बाबु ! गिरिजाबाबुको कत्रो सेवा गर्नुभो ! माउवादीलाई हेलिकप्टरमा बोकेर ल्याउनुभो ! केजाति विधानको कागज पनि लेख्नुभो ! गिरिजाबाबुले राष्ट्रपति तिमी नै खानु भनेर जानुभकोथ्यो ! रामचन्द्रले खाइदिए ! लोभी बाहुन !’ भाउजुले मुख बिगार्दै अगाडि थप्नुभो- ‘अब उहाँलाई राष्ट्रसभा अदक्षे खान मन छ ! त्यसका लागि ‘टक सेन्टर’को बेपार सुरु गर्नुभको छ ! भाइले सहयोग गर्नुपऱ्यो ! हामी त एउटै फेमिलीको पो त ! भाइलाई संसद बनाउन दाइ कम्ता खट्नुभको हो र !’ भाउजूले रसिला आँखा पुछ्दै भाइको टाउको सुम्सुम्याउनुभो ! जम्मा भएको भिडतिर फर्केर अर्को रहस्य खोल्नुभो- ‘मौका पऱ्यो भने पिछडावर्गकी महिला छेउमा राखेर कांग्रेसको ड्राइभिङ सिट नै ताक्दै हुनुहुन्छ !’

भाइ गम्भीर भए ! भावुक भए ! बिस्तारै बोले- ‘मेरो आदरणीय नेतालाई जस्तोसुकै सहयोग गर्न तयार छु ! अस्ति भर्खरै जिल्ला सम्मेलनमा प्रमुख अतिथि पनि दिएकै हो नि ! राष्ट्रियसभा अध्यक्ष दिन पनि मेरो पुर्ण सहयोग रहन्छ ! निश्चिन्त रहनुस् दाइ !’

यति सुन्नासाथ दाइ जुरुक्क उठ्नुभो ! दाइ उठेको देखेर सबै खोरेत दङ्ग परे ! घेरा हालेर सेल्फी सुरु गरे ! कोही जिन्दावाद चिच्याउन ब्यस्त भए ! दाइले भाइलाई अँगालोमा बेर्नुभो ! तुलसीमठ छेउ उभिएर बोल्नु भो- ‘अब झापाको गुटबन्दी सकियो ! हामी दाइभाइ मिल्यौँ ! अब झापामा निषेधको राजनीति अन्त भो ! निषेधको राजनीतिको अन्त हुनुपनि पर्छ ! अब कोही K+ छैन कोहि B+ छैन ! केवल कांग्रेस छ !’ खोरेत पुरेत सबैले ताली बजाए ! दाइभाइ दुबैको मुहारमा भावुकता छल्कियो ! सेल्फी लिन सिपालुले भाइसँग पनि सेल्फी लिन भ्याए ! छुट्टिने बेला दाइले भाइको कानमा खोरेतमन्त्र फुक्नुभो- ‘अब हाम्रो गुट दरो बनाउनुपर्छ है भाइ ! हाम्रो विरोध बोल्ने त्यो कुमार बुढाथोकीलाई आउट गर्नुपर्छ ! उसलाई हाम्रो कार्यक्रममा अस्ति जिल्लामा निषेध गरेझैँ निषेध गर्नुपर्छ ! अब हाम्रो गुट मजबुत पार्नुपर्छ !’

‘हुन्छ दाइ ! तपाईं मेरो आदरणीय नेता ! आज्ञा सिरोपर !’- भाइले टाउको झुकाए ! दाइले आशीर्वाद दिनुभो !

एकातिर- गुटबन्दी अन्त गर्नुपर्छ ! निषेधको राजनीतिको अन्त हुनुपर्छ ! अर्कोतिर- हाम्रो गुट दरो बनाउनुपर्छ ! हाम्रो विरोध बोल्ने कुमार बुढाथोकी जस्तालाई निषेध गर्नुपर्छ !!

यो सकुनि चाल न डाक्टर झट्काले बुझे न छेउमै रहेको छुचुन्द्रे पत्रकारले बुझ्यो !

मैले चैँ मष्तिष्कमा खोरेत पसेकै बुझेँ !

तपाईंले के बुझ्नुभो ?