स्मरण-शक्ति अब्बल बनाउने केही उपाय

स्मरण-शक्ति अब्बल बनाउने केही उपाय


✍ मिलन आफन्त
स्मरण-शक्तिको परिभाषा :

स्मरण-शक्ति एक यस्तो डायरी हो, जुन सदैव हामीसँग रहन्छ : ओस्कार वाईल्ड

स्मरण एक प्रकारको मानसिक प्रक्रिया हो, जसमा मानिस धारण गरिएको विषय/सामाग्रीलाई पुनःस्मरण गरेर चेतनामा ल्याइ चिन्ने प्रयास गर्छ । स्मरण एक रचनात्मक मानसिक प्रक्रिया हो । स्मरण-शक्ति मष्तिस्कको सबैभन्दा महत्वपूर्ण कार्य हो । मानिसको सम्पूर्ण ज्ञान तथा सिप मात्र होइन कि हरेक विचार, हरेक कार्य, ब्यक्तिगत पहिचान तथा ब्यक्तित्व आदि सबै स्मरण-शक्तिमा निर्भर रहन्छ । स्मरण-शक्तिबिना मानिसको सम्पूर्ण ज्ञान तथा अनुभव निरर्थक हन्छ, जीवन शून्य हुन्छ । स्मरण-शक्तिबिना हामीले कुनै पनि काममा सफलता पाउन सक्दैनौँ । स्मरण-शक्तिको अभावमा हाम्रो जीवन अन्धकारमा रुमलिन पुग्दछ तसर्थ हाम्रो जीवनको केन्द्रविन्दु हो- स्मरण-शक्ति… ।

स्मरण-शक्तिमा विधिको महत्व :

स्मरण-शक्ति बढाउनको लागि विभिन्न विधिहरूको प्रयोग गरिएको हुन्छ । प्राचिन कालमा युनानीहरूमा स्मरण-शक्ति बढाउने विधिहरू प्रचलित थियो । स्मरण-कारक (नेमोनिक्स) प्रशिक्षित स्मरण-शक्तिको एउटा ठुलो भाग हो । युनानीवासिहरूले सबैभन्दा पहिला मानव स्मरण-शक्ति एउटा सम्बन्ध प्रकृया हो भन्ने पत्ता लगाएका थिए । जो वस्तुहरूलाई एकअर्कासँग जोड्ने कार्य गर्दथे । स्मरण-कारक (नेमोनिक्स)को निर्माण गर्ने समय पूरै ध्यान यसको तार्किकता र विनोदप्रियतामा हुनुपर्छ किनकि यसबाट यो सजिलै याद गर्न सकिन्छ । सबै मुख्य विचार वा अध्यायका सबै प्रमुख कुराहरू लेख्ने विधिबाट याद गर्नयोग्य वाक्य वा शब्द बन्दछन् । यस विधिमा प्रत्येक अध्याय वा महत्वपूर्ण कुराहरूको विधि छ । उदाहरणका लागि इन्द्रधनुषको अलगअलग रङ्ग कसरी याद राख्ने भनेर यहाँ एउटा कोण बनाई हेरौँ- एक रङ्गको लागि एक कोड बनाऔँ, जस्तैः vibgyor जो सबै रङ्ग (बैजनी, नीलो, आकाशे, हरियो, पहेँलो, सुन्तला र रातो) को अंग्रेजी नामको पहिलो अक्षरले बन्छ ।

स्मरण-शक्तिमा खाना एवं स्वास्थ्यको महत्व :

शारीरिक या मानसिक काम गर्नको लागि उर्जाको आवश्यकता हुन्छ । यसैप्रकार अध्ययनमा तपाईंले शारीरिक एवं मानसिक दुबै प्रकारको काम गर्नुपर्ने हुन्छ, जसको लागि उर्जा हामीले खानाबाट प्राप्त गर्छौं । हाम्रो शरीरले खानाबाट निम्नलिखित पदार्थको एक निश्चित मात्रा नियमित रुपमा प्राप्त हुन आवश्यक छ- १. कार्वोहाईड्रेट २. बोसो ३. प्रोटिन ४. खनिज ५. भिटामिन र, ६. पानी । हाम्रो स्मरण-शक्तिलाई तेज बनाउन सन्तुलित आहारको अत्यन्तै महत्वपूर्ण स्थान छ । सन्तुलित आहारको अर्थ हो यस्तो खाना, जसमा सबै पोषक पदार्थ सही मात्रामा होस् । सन्तुलित आहार अत्यन्तै आवश्यक छ । हामी हरदिन जुन खाना खान्छौँ त्यसबाट शरीर संचालनको जुन उर्जा प्राप्त हन्छ, त्यसलाई क्यालोरीमा नाप्छौँ । त्यस्तै, आम मानिसको लागि खानामा हरदिन २५०० देखि ३५०० क्यालोरीको आवश्यकता हुन्छ । ३५०० क्यालोरी उर्जा धावक र कठोर परिश्रम गर्ने मानिसलाई तथा २००० देखि २५०० क्यालोरी विद्यार्थीलाई चाहिन्छ जसले शारीरिक र मानसिक दुबै खालको क्रिया गर्छन् ।

स्मरण-शक्ति अब्बल बनाउन शरीर र मानसिक पूर्णरूपमा स्वस्थ हुन नितान्त आवश्यक छ । जसरी शरीरलाई स्वस्थ राख्नको लागि शारीरिक ब्यायामको जरुरी छ त्यसैगरी स्मरण-शक्ति अब्बल बनाउन मानसिक ब्यायामको आवश्यकता पर्दछ । हामीले सदैव सकारात्मक कुरा सोच्न पर्दछ र राम्रा राम्रा किताब पढ्ने अनि ज्ञानवर्द्धक प्रवचनहरू सुन्ने गर्नु पर्दछ । जुन स्मरण-शक्तिले हामीलाई सोच्न मद्दत गर्छ, त्यसलाई इन्टेलिजेन्ट मेमोरी भनिन्छ र, यो उमेरसँगै बढ्दै जान्छ । यस प्रकार खाना एवं स्वास्थ्यले स्मरण-शक्तिमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ ।

स्मरण-शक्ति बढाउने केही उपाय :

नेपाली मेमोरी किङका रूपमा चिनिने अर्पण शर्माका अनुसार, स्मरण-शक्ति कसरी बढाउने भन्ने विषयप्रति धेरै युवाहरूलाई चासो हुन्छ । यसका लागि सबैभन्दा पहिले हामीले आफ्नो जीवनशैली र खानपानमा ध्यान दिनुपर्छ । किनकि, अब्यवस्थित जीवनशैली, तनाव, अस्वस्थ खानपान, अनिन्द्रा जस्ता विभिन्न कारणले मानिसको स्मरण-शक्तिमा असर गरिरहेको हन्छ । हामीले आफ्नो स्मरण-शक्तिलाई बढाउन केही टिप्स पनि अपनाउन सक्छौँ, जसकारण हामीले सिकेका र पढेका कुराहरू राम्ररी याद गर्न सकियोस् ।

१) पढ्नका लागि शान्त र ब्याकुलतारहित वातावरण खोज्नुहोस् ।
२) निन्द्रासँग सम्झौता नगर्नुहोस् । पर्याप्त आराम पाएको दिमागले मात्रै राम्रोसँग सम्झन सक्छ ।
३) जटिल सामाग्रीहरूलाई याद गर्न भन्दा पहिला बुझ्ने प्रयास गर्नहोस् । यसका लागि शिक्षक वा एआईको मद्दत लिन सकिन्छ ।
४) याद गर्नुपर्ने लामा कुराहरूलाई स-साना टुक्रामा विभाजन गर्नुहोस् । यसो गर्दा सूचनालाई अवचेतन मनसम्म पुर्याउन सजिलो हुन्छ ।
५) बिहानै कम्तीमा १० मिनेट ध्यान र प्राणायामका लागि समय निकाल्नु होस् । ध्यानले स्मरण शक्तिका साथै एकाग्रता क्षमता पनि बढाउँछ । तपाईंको दिमागलाई चाहिने अक्सिजन र उर्जा प्रदान गर्छ ।
६) सम्भव भएमा आफुले पढेका कुरा अरुलाई सिकाउने प्रयास गर्नुहोस् । यसले बुझाई र स्मरण दुवै बढाउँछ ।
७) विचार र सूचनाहरूलाई ‘माइन्ड म्यापिङ’को अवधारणाले स्मरण शक्तिको दुनियाँमा विस्तारै चर्चा कमाउँदै छ ।
८) संज्ञानात्मक कार्य र मेमोरी बढाउन नियमित शारीरिक ब्यायाममा संलग्न हुनुहोस् ।
९) एकै बसाईमा लामो समय पढिरहनु भन्दा ‘पोमोडोरो टेक्नीक’ अपनाउनुहोस् । हरेक २५ मिनेटको पढाइपछि कम्तीमा ५ मिनेटको विश्राम लिनुहोस् । अनेकौँ अनुसन्धानअनुसार यो छोटो विश्रामले पढेका कुराहरू तुलनात्मक रुपमा सजिलै याद रहन्छ ।
१०) खाने कुरामा विशेष ध्यान दिनुहोस्, जङ्कफुडबाट बच्नुहोस् । फाइबरयुक्त ब्रेन-फुडहरूले तपाईंको दिमाग सधैं तेज बनाइराख्न मद्दत गर्दछ ।