बाटो बिराएको राजनीति

बाटो बिराएको राजनीति


नेपाली राजनीतिजीवीहरूमा ‘पछि के हो के… मौकामा जसरी पनि आफ्नो बन्दोबस्त गरिहालौँ’ भन्ने प्रवृत्ति जागृत गराएको छ । देश र जनताको सेवा यिनका लागि गौण विषय बन्दै गएको छ । सत्तामा रहेकादेखि सत्ताप्राप्तिको दाउ हेरिरहेका सबै दल तथा तिनका नेताहरू लगभग यही नियतिको शिकार बनेका छन् ।

दुई वर्षअघि सम्पन्न नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा ‘सम्मानजनक पराजय’ ब्यहोरेदेखि नै काङ्ग्रेस नेता डा. शेखर कोइरालाले पार्टीमा ‘सम्मानजनक हिस्सेदारी’को आवाज उठाउँदै आएका हुन् । तथापि, आफूलाई कोइराला-काङ्ग्रेसको विरासत धान्ने मूल प्रतिनिधिपात्रको रूपमा चित्रित गर्न चाहने शेखरले ‘साठी-चालिस’को भागबण्डामा आफ्नो विश्वास नरहेको र त्यस्तो माग पनि नगर्ने अभिव्यक्ति पनि शुरुमै दिएका हुन्, तर व्यवहारमा भने त्यो लागू गर्न सकेनन् । गुटगत राजनीतिले पार्टी कमजोर बन्ने अभिव्यक्ति निरन्तर दोहोऱ्याउँदै अन्ततः उनी गुटकै सहारामा राजनीतिक बर्चस्व जोगाउन उद्यत् देखिएका छन् । कोशी प्रदेशको राजनीतिमा एकाएक विकसित घटना-परिघटना र, काङ्ग्रेसका शेखरसमर्थित आठ जना प्रदेशसभा सदस्यले गरेको विद्रोह अनि वर्तमान सत्ता-गठबन्धनको चरम विरोधि दल नेकपा (एमाले)को सहयोगमा मुख्यमन्त्रीको कुर्सी हत्याएको सन्दर्भले शेखर कोइराला अब गुटको राजनीतिमा खुलेरै उत्रिन लागेको सन्देश प्रवाहित गरेको छ ।

कुनैपनि राजनीतिक दलले आफूलाई गुटरहित दाबी गर्नु दिनलाई रात भनी जिद्दी गरेजस्तै हो । त्यस्तै, दलमा आवद्ध नेता तथा कार्यकर्ताले आफू तटस्थ रहेको जिकिर जति नै गरेपनि कुनै नेता वा समूहविशेषको पक्षमा ढल्किएकै हुन्छन् । नेपालको राजनीतिमा यो हरदम देखिँदै आएको ‘यथार्थ’ नै हो । यस्तोमा डा. शेखरले आफू भागबण्डा र गुटबन्दीको पक्षमा नरहेको जिकिर गर्नुलाई स्वभाविक मान्न सकिएको थिएन र, अन्ततः नेपाली राजनीतिको मूल चरित्रमा उनले पनि आफूलाई समाहित गरेकै पुष्टि भयो । यसलाई आश्चर्यको रूपमा लिइरहनु पर्दैन ।

आश्चर्य त यो लाग्दैछ कि गठबन्धनको नीति अपनाइरहेको काङ्ग्रेस पार्टीका सभापति देउवा आफ्नो दलका सांसदहरूले दलीय अनुशासनविपरीत ‘क्रियाकलाप गरिरहँदा पनि किन टुलुटुलु हेरिबसेका छन् ?! सामान्य विषयमा पनि कारवाहीको डण्डा चलाएर बेला-बेला पार्टीभित्र तरङ्ग पैदा गर्ने विगत बोकेका काङ्ग्रेससुप्रिमो कोशी मामलामा शेखरलाई साधन तुल्याएर कतै दोहोरो चाल चलिरहेका त छैनन् ?

जस्तोसुकै वेदना बिर्सिएर चाडपर्वमा रमाउने नेपालीजनको विशेषता रहँदै आएको छ । आर्थिक मन्दीले जर्जर बनेको देश र समाज, महँगीको भारले थिचिएको दैनन्दिनी, अभाव, भोक, रोग, शोक सबै बिर्सिएर उल्लासका साथ दशैँ मनाउने ‘मूड’ आमनेपालीले दर्शाइसकेका छन् । बडादशैँ २०८० को सुखद अवसरमा सबैमा शुभकामना ।

युद्ध र राजनीतिमा जे पनि जायज हुन्छ भन्ने भनाइ प्रचलित छ । राजनीति फोहोरी खेल हो भन्ने मान्यता पनि स्थापित नै छ । यस मान्यतामा आधारित रहेर भन्नुपर्दा गठबन्धनका एक शीर्ष हस्ती एवम् सत्ताका माहिर खेलाडी शेरबहादुर देउवा कुनै नयाँ खेल खेलिरहेका पनि हुन सक्छन् । कम बोल्ने तर धेरैथोक गरिदेखाउने उनको विशेषता पनि हो । गठबन्धन जोगाउने कसरत गरिरहँदा माओवादी (प्रधानमन्त्री प्रचण्ड)को ‘पिछलग्गु’ बनेर काङ्ग्रेसले आफ्नो पहिचानमात्र नभइ अस्तित्व नै गुमाउँदै गएको भनी पार्टीभित्रैबाट समेत घोर आलोचना भइरहेको छ । सभापति देउवामाथि प्रहार गर्न संस्थापनइतर पक्षलाई यो नै दर्बिलो बहाना पनि बनिरहेको छ । यतिबेला शेखर-गगन गुट मौलाएर प्रदेशको मुख्यमन्त्री नै बदल्न सक्ने हैसियतमा पुग्नुको कारण पनि माओवादीसँगको देउवा (काङ्ग्रेस)को अस्वाभाविक गठबन्धन प्रमुख एक नै हो भन्नेमा बहस गरिरहनु आवश्यक छैन । यो सबै पक्षमाथि विचार गर्दै देउवाले आगामी खेलको तानाबाना बुनिरहेका हुन सक्छन् ।

नेपालको वर्तमान राजनीति यसरी दुषित भइसकेको छ कि सत्ता नै सबैथोक हो र, धनआर्जनको सजिलो माध्यम पनि सत्ता नै हो, सत्ताको माध्यमबाट पैसा बटुल्ने अनि गलत आर्जनको त्यही धन प्रयोग गरी शक्ति आर्जन गर्ने होडबाजीमा सबै दलहरू लिप्त प्रतीत भइरहेका छन् । यसले नेपाली राजनीतिजीवीहरूमा ‘पछि के हो के… मौकामा जसरी पनि आफ्नो बन्दोबस्त गरिहालौँ’ भन्ने प्रवृत्ति जागृत गराएको छ । देश र जनताको सेवा यिनका लागि गौण विषय बन्दै गएको छ । सत्तामा रहेकादेखि सत्ताप्राप्तिको दाउ हेरिरहेका सबै दल तथा तिनका नेताहरू लगभग यही नियतिको शिकार बनेका छन् । राजनीतिले यसरी बाटो बिराउँदा नेपाल र नेपालीको दुर्दशा दर्दनाक बन्न पुगेको छ । नेताहरूले चाहिँ अझै आफूलाई सच्च्याउने प्रयास गरेको महसूस गर्न पाइएको छैन ।

यस्तै-यस्तै हालतको क्रममा नेपाली घर-आँगनमा महान् चाड दशैँ प्रवेश गरिसकेको छ । जस्तोसुकै वेदना बिर्सिएर चाडपर्वमा रमाउने नेपालीजनको विशेषता रहँदै आएको छ । आर्थिक मन्दीले जर्जर बनेको देश र समाज, महँगीको भारले थिचिएको दैनन्दिनी, अभाव, भोक, रोग, शोक सबै बिर्सिएर उल्लासका साथ दशैँ मनाउने ‘मूड’ आमनेपालीले दर्शाइसकेका छन् । बडादशैँ २०८० को सुखद अवसरमा सबैमा शुभकामना ।