जीवन

जीवन


✍ राजेन्द्र पाठक

नकल्पेका दुःखहरु भोगीसकेँ मैले
नअल्पेका सुखहरु खोजीसकेँ मैले
दुःख सुख हाँसो खुसी भोगीसकेँ मैले
तेत्तीसकोटी देवीदेवता ढोगीसकेँ मैले !

कति बोलाएँ देवतालाई बोल्दैबोलेनन्
जिउँदा छन् कि मुर्दा खोल्दैखोलेनन्
प्रसाद भेटी फुल अक्षता चढाइसकेँ मैले
जिउँदै भए बोल्दा हुनन् खुसी हुँदा कैले !

भुतप्रेत मशानघाटमा देखिसकेँ मैले
मन्दिरभित्र देवतालाई भेटी सकेँ मैले
जिउँदै हुँदा डराउने मन डराएन ऐले
सयौँ भारी दाउरा जल्दा कराएन ऐले !

दन्दन जल्यो कोमल तन पोल्दै पोलेन
मायालुले डाँको छोड्दा बोल्दै बोलेन
मनको ईच्छा मनैभरी पोको खोलेन
मलामीलाई पोली सक्यो उस्लाई पोलेन !

खरानी भो प्यारो तन पखालिन्छ ऐले
फोटो चित्र बाँकी रह्यो जीवन छैन ऐले
हाँसोखुशी भरी दिन्थ्यो ज्युँदो छँदा पैले
चौबाटोमा भेट हुँदैन अब जैले तैले !