अस्पतालमा बिरामीको चाप बढ्यो, स्वाथ्य बिमाका बिरामीले पाएनन् शैया

अस्पतालमा बिरामीको चाप बढ्यो, स्वाथ्य बिमाका बिरामीले पाएनन् शैया

घ.वि. सम्वाददाता
0
Shares

चितवन / चितवनमा स्वास्थ्य बिमाका बिरामीले अस्पतालमा शय्या (बेड) पाउन मुस्किल हुन थालेको छ । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा अस्पतालका शय्या भरिभाउ भएपछि बिरामीले भर्ना पाउन छाडेका हुन् ।

भरतपुरको सरकारी अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा कायम रहेको छ । यी दुई अस्पतालमा बिरामीको चाप बढेसंगै आकस्मिक (इमर्जेन्सी) र बहिरङ्गमा समेत बिरामीको चाप क्षमताभन्दा बाहिर हुने गरेको छ। चितवन मेडिकल कलेजसहित निजी अस्पतालमा भने बिरामीको चाप कम रहेको छ ।

अस्पतालमा उपचार गर्न आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँले अस्पतालमा आएका सेवाग्राहीहरुलाई शय्या नभएको बताउनुपर्दा दु ख लागेको बताउनुभयो । विगत केही दिनदेखि आकस्मिकदेखि सबै छ सय शय्या प्रायः खाली नभएको उहाँले बताउनुभयो । अस्पतालमा सघन उपचार कक्ष ३०, बाल सघन उपचार कक्ष ६, नवजात शिशु सघन उपचार कक्ष २० सबै भरिएका उहाँको भनाई छ।

त्यस्तै, १० शय्याको वृद्धवृद्धा वार्डको शय्या आजदेखि बढाएर १६ पु¥याइएको भएपनि ती शय्याहरुमा पनि स्वास्थ्य बीमाका बिरामीले भरिएका छन् । पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताउनुभयो । उहाँले सरकारी अस्पतालमा आएका बिरामीलाई सकेसम्म उपचार गर्ने प्रयासमा अस्पताल लागिपरेको बताउनुभयो । अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् । साथै सङ्घीय अस्पताल भएकाले पनि यस अस्पतालमा धेरै सेवाग्राही बिरामी आउने गर्दछन् । यस अस्पतालमा बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी र दैनिक बहिरङ्ग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेलले दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको बताउनुभयो ।अस्पतालमा शय्या अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा अस्पतालमा नभएर रिफर माग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामीको चाप उस्तै छ। त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन्। बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन्। अन्य जिल्लाबाट समेत बीमाका बिरामी रिफर भएर यहाँ आउने गरेका छन् ।

अस्पतालका अतिरिक्त निर्देशक डा मनोहर प्रधानका अनुसार अस्पतालका सबै शय्या भरिएकाले आएका सबै बिरामी भर्ना लिन नसकिएको हो । उहाँले अस्पतालको सबै शय्या भरिएर केही बिरामी फिर्ता जाने गरेका बताउनुभयो । सो शिक्षण अस्पतालमा पाँच सय ५० शय्या सञ्चालनमा छन् । तीमध्ये ९० वटा सघन उपचार कक्ष छन् । अस्पतालमा नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई उपचार गर्नका लागि सघन उपचार कक्ष रहेकोमा सबै भरिएको उहाँले बताउनुभयो।

अस्पतालमा अधिकांश शय्या भरिएका कारण सबै बिरामीलाई सेवा दिन नसकिएको उहाँले बताउनुभयो । उहाँले अहिले ज्वरोका बिरामीको संख्या अत्याधिक रहेको र तीसँग अरू बिरामीको चाप पनि बढेको जानकारी दिनुभयो । स्वास्थ्य बीमा गरेकाहरु सोही कार्यक्रमअन्तर्गत उपचार गर्न चाहन्छन् । आर्थिक रुपमा टेवा पुग्ने भएकाले सबैको रोजाइ बीमा कार्यक्रम हुने गरेको छ ।

मौसम परिवर्तनसँग मौसम ज्वरो, डेङ्गु, स्क्रबटाइफस लगायतका बिरामीको सङ्ख्या बढेको छ । पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी पनि अस्पतालमा आउने गर्दछन् । यहाँका अस्पतालमा चितवनसहित देशैभरबाट बिरामी आउने गर्दछन् । नजिकका जिल्लाहरुबाट स्वास्थ्य बीमा गर्दा नै पहिलो विन्दु भरतपुर अस्पताल बनाउनेहरुको सङ्ख्या समेत ठूलो छ ।