प्रिन्सिपलको राजीनामा माग गर्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सका विद्यार्थी आन्दोलित

प्रिन्सिपलको राजीनामा माग गर्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सका विद्यार्थी आन्दोलित

घ.वि. सम्वाददाता
0
Shares

भैरहवा, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरु प्रिन्सिपल प्रा. डा. लक्ष्मी पाठकको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीका लागि नयाँ ड्रेस कोड लागू गरेकी थिइन् । तर यो ड्रेस कोड आफूहरुलाई मान्य नहुने विद्यार्थीहरुको अडान छ ।

प्रा.डा. पाठकले आफूहरुलाई अनावश्यक तनाव समेत दिएको विद्यार्थीहरूको आरोप छ ।

विद्यार्थीहरुका अनुसार ड्रेस कोड लागू भएका कारण मात्र विद्यार्थीहरु आन्दोलित भइका होइनन् । प्रिन्सिपलले विद्यार्थीहरूको परीक्षा रोकिदिने र दुर्व्यवहार गर्ने गरेको उनीहरुको आरोप छ ।

यसैबीच कलेजकी प्रिन्सिपल पाठकले आन्दोलनरत विद्यार्थीहरुले आफूलाई बन्धक बनाएर राखेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् भने विद्यार्थीहरुले यसलाई खण्डन गरेका छन् ।