अप्रेसनको भोलिपल्ट नै बिरामी हिँडडुल गर्न सक्ने एमआईएस सर्जरी केएसमीमा

अप्रेसनको भोलिपल्ट नै बिरामी हिँडडुल गर्न सक्ने एमआईएस सर्जरी केएसमीमा


सुलोचना (नाम परिर्वतन)लाई मेरुदण्डको तल्लो भागको हड्डी भाँचिएको तथा मेरुदण्डको आकार विकृत भएपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको न्युरोसर्जरी भर्ना गरिएको थियो । उनले आफ्नो मेरुदण्ड ठीक गर्न मिनिमल इनभेसिभ स्पाइन सर्जरी (एमआईएसएस) गराइन् ।

यो उपचारमा उनले न परम्परागत रुपमा चिरेर गरिने अप्रेसन पद्धति जस्तो लामो समय अस्पताल भर्ना भएर बस्नु पऱ्यो न त ढाडमा ठूलो घाउ नै बनाउनु पऱ्यो । केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरूले मेरुदण्डको भाँच्चिएको हड्डीलाई सिधा बनाउन अत्याधुनिक एमआईएसएस प्रविधिबाट इमेज डाइरेक्सनअनुसार मेरुदण्डको भाँच्चिएको हड्डीलाई सिधा बनाउन ससाना प्वालहरूमार्फत पेचहरु राखेका थिए ।

‘उनको भाँच्चिएको मेरुदण्डमा इमेज डाइरेक्सनमार्फत पेचहरु राखिएको हो । यसका लागि उनको ढाडमा ससाना प्वालहरू बनाएर मेरुदण्डमा पेचहरु पुऱ्याइएको थियो । इमेज डाइरेक्सनबाट कुन ठाउँको अप्रेसन गर्नुपर्ने हो त्यहीँ पुग्न सकिने भएकाले उनको अप्रेसन पूर्णरुपमा सफल भयो । यसबाट उनको ढाडलाई पुरानै अवस्थामा फर्काउन सहज भयो । यो प्रविधिले चिरेर गरिने ठूल्ठूला अप्रेसनलाई विस्थापित नै गरिदिएको केएमसी न्युरोसर्जरी विभागका विभागीय प्रमुख समेत रहेका प्राडा अमित थापाले बताए ।

प्राडा थापाका अनुसार एमआईएसएस प्रविधिले खासगरी नसा तथा मेरुदण्डका बिरामीलाई ठूलो राहत मिलेको छ । परम्परागत शल्यक्रियामा ढाडमा ठूलाठूला घाउ बनाएर मेरुदण्डको उपचार गरिन्थ्यो । यो प्रविधि केएमसीले भित्र्याएसँगै बिरामीको शरीरमा ठूलो घाउ बनाउनु पर्ने, चिरेको घाउ ठिक हुन महिनौँ लाग्ने, अत्याधिक पीडासँगै लामो समयसम्म अस्पतालमा बेड रेस्ट समेत गर्नुपर्ने बाध्यता हटेको छ ।

यस्तै, यो प्रविधि भित्रिएसँगै नसा तथा मेरुदण्ड र ढाडको समस्या भएकाहरूको जटिल उपचारमा ठूलो सफलता मिल्दै गएको छ । ‘न्यूनतम क्षतिको कारण अप्रेसन पश्चात भोलिपल्ट नै बिरामी हिँडडुल गर्न सक्षम हुन्छ र ठूलो घाउ नभएको हुँदा दुखाइ पनि कम हुन्छ’ प्राडा थापा भन्छन् । एमआईएस अप्रेसन काठमाडौं मेडिकल कलेजको न्युरोसर्जरी विभागमा प्रदान गरिने अत्याधुनिक सर्जिकल प्रविधि हो जसले चाँडो निको हुने मात्र नभई राम्रो नतिजासहित प्रभावकारी अप्रेसन गर्न पनि सहयोग गर्दछ ।

काठमाडौं मेडिकल कलेजको न्युरोसर्जरी विभागले स्वास्थ्य क्षेत्रमा नवीनतम उपचार प्रविधिहरू भित्र्याएर सर्वसुलभ शुल्कमा विश्वस्तरीय स्वास्थ्य उपचारहरू नेपालमै गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । केएमसीले एमआईएस र एन्डोस्कोपिक स्पाइन सर्जरीको साथै आगामी दिनमा मेरुदण्डको शल्यक्रियामा ‘डे केयर’ सेवाहरू प्रदान गर्ने योजना बनाएको जनरल मेनेजर दाहालले बताए । ‘डे केयर’ सेवाहरू थालनी गरेसँगै शल्यक्रिया गरेकै दिन बिरामीहरू घर जानसक्ने छन् ।

अस्पतालको स्वास्थ्य सेवालाई आधुनिकीकरण गर्नमा तत्कालीन केएमसीका कार्यकारी अध्यक्ष डाक्टर सुनिलकुमार शर्माको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । हाल प्रतिनिधि सभा सदस्य रहेका डा. शर्माले सर्वसुलभ शुल्कमा विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अनुसार अस्पतालको सेवाहरू सुधार्न आधुनिक चिकित्सा क्षेत्रका नवीनतम उपकरण र सेवाहरू थप गरेका थिए ।

यस्ता छन् एमआईएसका फाइदाहरू-

✍ अप्रेसन गर्दा सानो भन्दा सानो प्वाल मात्र पारिन्छ

✍ अप्रेसन गर्दा रगत धेरै खेर जाने हुँदैन

✍ ठूलो चिरा नपारिने भएकाले मासु तथा नसाहरू काटिने जोखिम कम हुन्छ

✍ अप्रेसनपश्चात कम संक्रमण र कम जोखिम रहन्छ

✍ अप्रेसन पश्चात बिरामी लामो समय अस्पताल तथा बेडमा बस्नु पर्दैन

✍ अप्रेसनपछि घाउ निको नहुन्जेलको लामो दुखाईबाट मुक्त भइन्छ

✍ चाँडो निको भई आफ्नो दैनिक कृयाकलापमा सहभागी हुन सकिन्छ