नौ महिनामा ६ लाख पर्यटक : साढे ४ अर्ब रुपैयाँ नेपाल भित्रियो

नौ महिनामा ६ लाख पर्यटक : साढे ४ अर्ब रुपैयाँ नेपाल भित्रियो


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या विगतको तुलनामा बढेको छ । सन् २०२३ को ९ महिनामा ६ लाख पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सरदर एक जना विदेशीले दैनिक ६० डलर खर्च गर्छन् । यस हिसाबले यस अवधिमा ४ अर्ब ६८ लाख रुपैयाँ वैदेशिक मुद्रा नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डकी प्रवक्ता नन्दिनी लाहे थापाले बताइन् ।

नेपाल भ्रमण गर्ने विदेशीमा पहिलो स्थानमा भारतीय नागरिक हुन्छन् । त्यसपछि अमेरिका, बेलायत, चीन, बंगलादेश, इण्डोनेशिया, थाइलैण्ड र श्रीलंकाका पर्यटक रहने गरेका छन् । भारतको उत्तर प्रदेश र बिहारबाट पैदल मार्गबाट पर्यटक भित्रने गरेपछि त्यसबाहेकका स्थानबाट भने हवाइ मार्गबाट नै आउने गरेको पाइन्छ ।

सन् २०२३ को पुस १५ सम्ममा १० लाख विदेशी नेपाल भित्र्याउने लक्ष्य छ । ‘अहिलेसम्मको तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपाल आउने देखिन्छ’- पर्यटन बोर्डकी प्रवक्ता थापाले भनिन् ।

अब मनसुन सकिन लागेको छ । मनसुन सकिएपछि पर्यटकको आगमनमा वृद्धि हुने पर्यटन व्यवासायीहरुको आँकलन छ । असोज १५ पछि पर्यटनको ‘सिजन’ सुरु हुन्छ । अक्टोबरदेखि डिसेम्बरसम्म पर्यटन उद्योगका लागि राम्रो समय मानिन्छ । नेपालमा प्रायः सबै महिना पर्यटकका लागि उचित मानिए पनि वर्षातको समयमा भने पर्यटकहरू कम आउँछन् ।

सन् २०११ मा पर्यटन वर्ष मनाउँदै ११ लाख पर्यटक भित्र्याउने योजना सरकारले बानाएको थियो, तर जम्मा ८ लाख पर्यटकमात्र भित्रिएका थिए । कोरोनाको समयमा पर्यटक आगमन ह्वात्तै घटेको थियो । प्रवक्ता थापाका अनुसार अब समय सहज भएकोले पर्यटकको आगमनमा वृद्धि हुँदै जाने देखिन्छ ।

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अहिलेको तथ्याङ्क विश्लेषण गर्दा आगामी वर्ष उक्त संख्यामा पर्यटक आउने देखिन्छ ।

नेपालको कूल गार्हास्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ४ प्रतिशत योगदान छ । यसलाई १० प्रतिशतमा वृद्धि गर्ने लक्ष्य लिएपनि त्यो हालसम्म पूरा हुन सकेको छैन । पर्यटक अधिक भित्र्याउन पर्यटन बोर्डले श्रोत बजारमा गतिविधिहरू गर्दै आएको छ । बढी पर्यटक आउने देशमा यहाँका संस्कृति, सम्पदा, परम्परा, रीतिरिवाजसमेतको प्रचारप्रसार गर्दै आएको पर्यटन बोर्डले जनाएको छ ।