दूध बिक्रि बन्यो गाउँकै आम्दानीको बलियो श्रोत

दूध बिक्रि बन्यो गाउँकै आम्दानीको बलियो श्रोत

घ.वि. सम्वाददाता
0
Shares

दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गर्न सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकहरु सफल भएका छन् ।

आफ्नै गाउँमा सञ्चालित विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर स्थानिय कृषकले सो आम्दानी गर्न सफल भएका हुन् । कृषक डिल्लीराम नेपालले एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुभयो । उहाँले चार वटा गाई पाल्नुभएको छ भने दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्नुहुन्छ । उहाँ संस्थाको सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक बन्न समेत सफल हुनुभएको छ ।

अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर रु छ लाख ८२ हजार एक सय ९९ आम्दानी गर्नुभएको छ । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर रु छ लाख ३३ हजार तीन सय र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर रु छ लाख २१ हजार दुई सय कमाउन सफल हुनुभएको छ ।

बित्तजेलका कृषकहरुले मेहनत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।कृषक तोयानाथले घरमै बसेर खेतीपती र वस्तुभाउ दुवै पेसालाई साथ साथ गर्दा लखपति बन्न सकेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँजस्तै दुई सय ८० कृषकले नियमितरुपमा दूध बेच्दै आइरहेका छन् ।

उक्त संस्थाले गत आर्थिक वर्षमा मात्रै चार लाख ७७ हजार सात सय ७९ लिटर दूध सङ्कलन तथा बिक्री गरेको व्यवस्थापक द्वारीका नेपालले जानकारी दिनुभयो। दूध बिक्रीबाट मात्रै संस्थाले एक वर्षमा रु दुई करोड एक लाख दस हजार आम्दानी गरेको छ ।

उक्त संस्थाले एक वर्षमा रु सात करोड ५१ लाख २८ हजार पाँच सय २२ को कारोबार गर्नाका साथै दूध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोबार पनि गर्दै आएको छ ।

संस्थाको शेयर सदस्य भने चार सय ३६ छन् । सबै सदस्य बचत कार्यक्रममा नियमित सहभागी रहँदै आएको संस्थाका सचिव मायानाथ नेपालले बताउनुभयो ।