बाबुदुमीले खोले लैंगिक अल्पसङ्ख्यक समुदायभित्रको रहश्य

बाबुदुमीले खोले लैंगिक अल्पसङ्ख्यक समुदायभित्रको रहश्य


हरेक मानिसको जीवन संघर्षले भरिएको हुन्छ । तर, केही विशेष मानिस हुन्छन् जसले पृथक या विशेष प्रकारको सङ्घर्षमयी जीवन जिएका हुन्छन् । हो, यस्तै संघर्षले भरिएको जीवन छ बाबुदुमी राईको पनि । पुरुषलिङ्गीको रूपमा जन्मिए पनि पछि आफ्नो लैङ्गिक पहिचानको महसूस भएपछि अहिले लैंगिक अल्पसङ्ख्यक समुदायको एक सशक्त पात्र बन्न पुगेका छन् उनी ।

आफ्नो बाल्यकाल सम्झँदै बाबुदुमी राई परिवारमा पुरुष आफूमात्र हुँदा र आफ्नो बाबुले छाडेर जाँदा धेरै दुःख पाएको बताउँछन् । सानैदेखि आफ्नो समाजले लैंगिक आधारमा थोपरेको कार्यविभाजन र गरिब भएकै कारण भोग्नुपरेको पीडालाई उनले अझै पनि भुल्न सकेका छैनन् । सानो छँदा नै घरको बारी जोत्ने जोतार नआइदिँदा रुँदै आफैले बाँझो बारी जोत्नुपरेको याद गर्दै उनी भन्छन्- ‘जन्मका आधारमा यो छोरा, छोराले यो काम गर्नुपर्छ, अनि यो छोरी, छोरीले यी-यी काम गर्नुपर्छ भन्दै छुट्याउने, छोराले यस्तो र छोरीले यस्तो पोशाक लगाउनुपर्छ भन्ने खालको विभाजनले मलाई असन्तुष्ट तुल्याउँदथ्यो । आफू विशुद्ध मानिस बनेर बाँच्न पाउने अधिकार नै खोसिएको महसूस मैले त्यसबेलै गरेको थिएँ ।’

आफू जन्मेको परिवारमा विद्यालयको शिक्षा भन्दा पनि फरक तथा व्यवहारिक शिक्षा प्राप्त गरेको पनि उनी बताउँछन् । आफूले घरमा महिला र पुरुषले गर्ने कार्यको शिक्षा प्राप्त गरेको र उक्त समय एवम् कामलाई चुनौती र अवसरको रुपमा लिएको उनले बताए ।

सुरुवाती समयमै आफ्नो बाबाले घर छाडेपछि दिदीहरू र आमाप्रतिको जिम्मेवारीलाई अँगाल्दै आमाले सञ्चालन गर्दैआएको गाउँलेहोटलको काममा सघाउनेलगायत स-साना आयआर्जनको काम गरी स्वावलम्बी बन्दै आए बाबुदुमी । सानै छँदादेखि नै समाजका व्यक्तिले गर्ने व्यवहार र, यो गर यो नगर भन्ने परिपाटीले आफ्नो लैंगिक पहिचान खोज्न प्रेरणा जगाएको उनको भनाइ छ ।

उनी जब एसईई दिएर काठमाडौं आए, अनिमात्र आफ्नो लैंगिक पहिचानबारे खासमा जानकार भए । त्यसपछि उनले थप आफ्नो पहिचान र समाजका बारेमा बुझ्नका निम्ति (सोसल साइन्स) विषय अध्ययन गर्ने निर्णय गरे । त्यसपछि उनले नीलहिरा समाजको स्वयम्सेवकको रुपमा काम गर्न थाले । त्यसपश्चात आफू कुन वर्गमा पर्छु भन्ने पत्ता लगाएको उनी बताउँछन् । आफूलाई फरक भेषभुषामा सजिएको देख्दैमा पुरुष नदेख्ने समाजलाई ‘म फरक भेषभुषामा भएपनि पुरुष नै हुँ है’ भन्ने दबाब सिर्जना गर्ने अभियानमा आफू लागेको उनको भनाइ छ । महिला वा पुरुष जे भएपनि परम्परागत महिला र पुरुषकै पहिरनमा हिँड्नुपर्छ भन्ने छैन भन्ने आफ्नो अभियान रहेको उनी प्रष्ट्याउँछन् ।

अहिलेको स्थानसम्म आईपुग्न धेरै सङ्घर्ष गर्नुपरेको र अझैपनि आफ्नो यौनिक तथा लैंगिक अल्पसङ्ख्यककै समुदायभित्र पनि गलत सोच हाबी रहँदै आएको उनी खुलासा गर्छन् । सो समुदायभित्र पनि श्रीमान् र श्रीमतीको पात्रका रूपमा व्यवहार गरिँदै आएको र, सो गलत भएको उनको धारणा छ । नेपाली समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसका कुरा अझैपनि लुक्ने गरेकाले कतिपय गलत अवधारणाहरूले पश्रय पाएको उनी बताउँछन् । आफूले सधैँ परिवारको भलाईका लागि काम गर्दै आएकाले आफ्नो परिचयका बारेमा परिवारलाई म यस्तो हुँ भनेर भन्न आजसम्म जरुरी नभएको बताउँछन् बाबुदुमी ।

वर्तमान समयमा आफ्नो छोराले केटै मनपरायो र छोरीले केटी नै मनपराइन् भनेर अभिभावक आत्तिनुभन्दा पनि असल मनोवैज्ञानिक परामर्श लिएर उनीहरूको इच्छाअनुसारको जीवन जिउन दिनु नै उत्तम हुने उनको सुझाव छ । आफ्नै समलिङ्गी साथीप्रति आकर्षण भएर प्रेमको सुरुवात भएको उनी स्वीकार्छन् । सो समुदायका धेरै व्यक्तिलाई पारिवारिक साथ र सहयोग नहुँदा असुरक्षित यौन सम्पर्क, लागुऔषध दुर्व्यसनलगायतका कुलतमा फस्ने र एच.आई.भी. एड्सजस्ता भयानक रोगको सिकार हुने समस्या देखिएकाले आफ्नो सन्तानको इच्छा बुझेर सही निर्णय लिन अभिभावकलाई उनको आग्रह छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पनि विविधता रहेको, जसले गर्दा सोही समुदायका व्यक्तिले आफ्नो पहिचान बनाउन खोज्दा गलत औषधी तथा अत्याधिक हर्मोनको प्रयोगका कारण स्वास्थ्यमा जटिल समस्या उत्पन्न हुने गरेको जानकारी पनि उनले दिए ।

समग्रमा युवाहरूको वर्तमान अवस्थामा सरकारले सही व्यवस्थापन गर्न नसकेको र युवाहरूको लागि रोजगारी सिर्जना गर्न नसकेकै कारण डिप्रेसन र एन्जाइटीको सिकार बन्नुपरेको यथार्थलाई समेत उनले उजागर गरे । यस्तै, युवाहरू स्वयम्ले पनि केवल सरकारको मात्र मुख नताकी स्वरोजगारको सिर्जना गर्नुपर्ने उनको सुझाव छ ।

आफ्नो लागि आफै सुपरमोडल भएको र कहिलेकाहीँ विगत सम्झँदा आफै त्यही व्यक्ति हुँ र ? भन्ने प्रश्न गर्ने गरेको बाबुदुमी बताउँछन् । आफ्नो विगतको संघर्षले नै आजको स्थानसम्म आउन उनलाई मद्दत गरेको हो । आफ्नो कमाईको केही प्रतिशत समाजसेवामा लगाउनुपर्ने उनको धारणा छ । नेपाली शिक्षा व्यावहारिक नभएको र पुस्तकमा पाएको शिक्षा र दैनिक जिन्दगीले सिकाएका पाठहरूमा धेरै नै भिन्नता रहेको पनि उनी बताउँछन् । युवाहरूले आफ्नो नजिकका ठानेको व्यक्तिबाट धोका भयो भन्दैमा जीवन समाप्त पार्ने गलत प्रवृत्तिको विकास भएको सन्दर्भमा व्यक्ति आफूले आफूलाई नै महत्वपूर्ण या पहिलो स्थानमा राखी बाँच्नुपर्ने उनको सुझाव छ ।

यौनिक तथा अल्पसंख्यक समुदायका युवाहरूमा थुप्रै विकृति रहेकाले त्यसबाट मुक्त हुने प्रयासमा लाग्न स्वयम् युवा तयार हुनुपर्ने र आफ्नो मनलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ छ । आफूले सम्मान खोज्दा अरुको सम्मान गर्ने अभियानको सुरुवात गर्न आवश्यक रहेको बताउँछन् उनी । सो समुदायका व्यक्तिले यौन व्यवसायमा लाग्दा केही हदसम्म पनि बलात्कारका घटनामा कमी आएको तथ्यांक पनि आफूले भेटेको बाबु बताउँछन् । सो समुदायमा हुने यौनजन्य दुव्र्यवहारका घटनाले धेरैलाई मानसिक रूपमा विक्षिप्त पारेको समेत उनको भनाइ छ ।

कानुनी रुपमा दर्ता विवाहका लागि मान्यता दिएपनि सो समुदायमा विवाह व्यावहारिक बन्न नसकेको उनले बताए । समाजमा रहेर सामाजिक जीवन जिउँदै गर्दा जति महिला र पुरुषले भोग्नुपरेका समस्या छन् तीभन्दा विकराल समस्या यौनिक तथा लैंगिक अल्यसंख्यक समुदायका व्यक्तिहरूले भोग्नुपरेको बाबुदुमी राईको अनुभव छ । उनी भन्छन्- ‘समतामुलक समाज निर्माणका लागि एक जिम्मेवार नागरिकको नाताले तपाईं-हामी सबैको समान दायित्व यो हुन आउँछ कि प्रत्येक नागरिकको सम्मानका साथ बाँच्न पाउने अधिकारको सम्मान गरौँ ।’ प्रस्तुति : बसुन्धरा गौतम

(वरिष्ठ पत्रकार बबिता बस्नेतद्वारा बाबुदुमी राईसँग गरिएको कुराकानीमा आधारित)