‘व्यवसायमा युवालाई आकर्षित गर्न मेरो उम्मेदवारी’ : विश्वराज बज्राचार्य

‘व्यवसायमा युवालाई आकर्षित गर्न मेरो उम्मेदवारी’ : विश्वराज बज्राचार्य


यही असोज १९ र २० गते ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । यसै निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिने क्रम पनि बढिरहेको छ । यसै सन्दर्भमा ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी दिएका छन् । अध्यक्षका उम्मेद्वार तीनमध्येका एक ललितपुर उद्योग वाणिज्य संघको हालका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले आफ्नो उम्मेदवारीको औचित्य यसरी प्रष्ट्याएका छन् ।

० तपाईंको उम्मेद्वारी किन र केका लागि ?
– विगत १५ वर्षदेखि उद्योगीको हकहितमा काम गदै आउनुका साथै वरिष्ठ उपाध्यक्ष भएको नाताले वरियताको आधारले पनि मैले यसपटक अध्यक्षमा उम्मेद्वारी दिएको हुँ । साथै उद्योग व्यवसायमा युवालाई आकर्षित गर्न युवा नेतृत्वको खाँचो भएकाले पनि युवालक्षित कार्यक्रमलाई केन्द्रसँग जोड्ने उद्देश्यले मैले उम्मेद्वारी दिएको हुँ । भएका युवाशक्ति विदेश पलायन हुने र नेपालमा नै भएका युवा पनि नेतृत्वमा नआउँदा भोलि उनीहरुको आवाज सुनिदिने कोही नहुने स्थिति आउने हुँदा औद्योगिक क्रान्तिका लागि पनि युवा नेतृत्वको खाँचो छ ।

० तपाईंले उम्मेदवारी दिँदै गर्दा औद्योगिक क्षेत्रमा तपाईंको मुख्य मुद्दा के रहेको छ ?
– वास्तवमा भन्नुपर्दा नेपालमा उद्योगी व्यवसायीहरूले अहिले कठिन समयको सामना गर्नुपरेको छ । उद्योगबाट उत्पादित सामानको बिक्रीवितरणका लागि अन्तरराष्ट्रिय बजारका लागि सरकारले पहल गर्नु आवश्यक छ । सरकारको नीतिगत सहयोग गर्नुका साथै ननिजी क्षेत्रले उत्पादन गरेका सामानको बजारीकरणमा सहयोग गर्नका लागि घच्घच्याउने मेरो उद्देश्य रहेको छ । नेपालमा सम्भावना छ भन्ने भावनाको विकास युवाहरूमा गराउने नीजि क्षेत्रको उद्देश्य हो ।

० जुन उद्देश्यले तपाईं चुनावी मैदानमा होमिनुभएको छ, विजय हासिल गरेपछि मूख्यगरी के-के काम गर्नुहुन्छ ?
– वस्तुगत संघको समस्या निराकरण हुनु भनेको समग्र ललितपुर उद्योग वाणिज्य संघको समस्या निराकरण हुनु हो, त्यसैले म त्यसतर्फ बढी केन्द्रित छु। विशेषगरी ललितपुर उद्योग वाणिज्य संघ भनेको हस्तकलाका उद्योगहरू बढी आबद्ध भएको संघ हो । यसकारण पनि हस्तकला क्षेत्रमा अहिले घाटामा गइरहेको अवस्था छ । यसैगरी हस्तकलाका सामानलाई उत्पादनपछि पनि बिक्रीका लागि प्रमाणीकरण गर्नुपर्ने हुन्छ कि यो प्राचिन होइन नयाँ उत्पादित हो भनेर, ९० प्रतिशत हस्तकलाका सामान ललितपुरमा उत्पादन हुने भएकाले प्रमाणीकरण प्रक्रिया सहज बनाउन पनि पहल गर्नेछु । पहिलेको तुलनामा अहिले हस्तकला व्यवसायी पलायन तथा उत्पादित सामानले पनि बजार नपाएको अवस्थाले गर्दा यस समस्यातर्फ नै म बढी केन्द्रित हुनेछु ।

० थप भन्नैपर्ने कुरा केही छ भने बताइदिनोस् !
– वास्तवमा हामीले व्यापार व्यवसायलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको हुनाले ललितपुर हस्तकला नगरीका रुपमा विकास हुँदै गर्दा युवामा हस्तकला पुस्तान्तर गर्न पहल गर्ने छौँ । युवाहरुमा हस्तान्तरण नगरेमा भोलि लोप हुने हुँदा १५बुँदे घोषणापत्रअनुरुप काम गर्नेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु ।

  • प्रस्तुति : दिनेश महर्जन