बीमा कम्पनीको कारोबार गतवर्षभन्दा ११ दशमलब ८५ प्रतिशतले बढ्यो

बीमा कम्पनीको कारोबार गतवर्षभन्दा ११ दशमलब ८५ प्रतिशतले बढ्यो

घ.वि. सम्वाददाता
0
Shares

जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले गत भदौसम्ममा २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा ११ दशमलब ८५ प्रतिशतले बढी हो ।

कम्पनीहरुले २०७९ भदौसम्ममा २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधि अर्थात एक वर्षको अवधिमा जीवन बीमा क्षेत्रबाट ३ अर्ब ८ करोड ६५ लाख रुपैयाँ बढी प्रिमियम संकलन भएको छ ।

सञ्चालित १४ कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले २०८० भदौसम्ममा ८ अर्ब एक करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ दशमलब ९२ प्रतिशतले बढी हो । र, बढी प्रिमियम संकलन गर्नेको दोश्रो स्थानमा रहेका राष्ट्रिय बीमा संस्थानको तुलनामा दुई गुणा बढी हो ।

राष्ट्रिय बीमा संस्थान बिजनेसमा आक्रामक देखिएको छ । २०७९ भदौमा ८३ करोड ८८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको संस्थानले २०८० भदौसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा ३२५ दशमलब ३९ प्रतिशतले बढी हो ।

यता सानिमा रिलायन्स र सिटिजन लाइफ इन्स्योरेन्सबीच बीमाशुल्कमा कडा प्रतिस्पर्धा देखिएको छ । दुई कम्पनी मर्जभएर बनेको सानिमा रिलायन्सले एक अर्ब एक करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सिटिजन लाइफले मर्ज बिनै एक अर्ब एक करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रतिशतको आधारमा भने सानिमा रिलायन्सको बिजनेस १२ दशमलब ५५ प्रतिशतले बढेको छ भने सिटिजन लाइफको बिजनेस गत वर्षको तुलनामा ५ दशमलब ०५ प्रतिशतले खस्किएको छ । सर्वाधिक प्रिमियम संकलन गर्नेको सूचीमा भने यी दुई कम्पनी क्रमशः आठौं र नवौं स्थानमा छन् ।

संकलित प्रिमियमको आधारमा हिमालयन र नेशनल लाइफबीच पनि प्रतिस्पर्धा देखिएको छ । तीन कम्पनी मर्ज भइ बनेको हिमालयनले २ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा मर्जरमा नगएको नेशनल लाइफले २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सूचीको आधारमा हेर्ने हो भने हिमालयन लाइफ सर्वाधिक प्रिमियम संकलन गर्नेको तेश्रो स्थानमा छ भने नेशनल लाइफ चौथो स्थानमा देखिन्छ ।

समीक्षा अवधिमा अधिकांश कम्पनीको बिजनेस बढेको छ भने केही कम्पनीको खस्किएको छ । गत वर्षको तुलनामा बिजनेस खस्किएको सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), नेशनल लाइफ, सूर्यज्योति, सिटिजन, मेट र सन नेपाल लाइफ रहेका छन् । यी कम्पनीको बिजनेस अधिकतम १० प्रतिशतसम्मले घटेको छ ।

यीमध्ये पनि सन नेपाल लाइफले सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ६३ करोड ७४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ९ कम्पनीले एक अर्ब बढी प्रिमियम संकलन गरेर अर्बको क्लबमा प्रवेश गरेका छन् भने बाँकी ५ कम्पनी करोडको क्लबमा सीमित छन् । करोडको क्लबमा हुनेमा मेट लाइफ, प्रभु महालक्ष्मी, आइएमई, रिलायबल नेपाल र सन नेपाल लाइफ रहेका छन् ।