इसरोले आगामी जनवरीमा बिकिनी प्रक्षेपण गर्ने

इसरोले आगामी जनवरीमा बिकिनी प्रक्षेपण गर्ने

घ.वि. सम्वाददाता
0
Shares

भारत, भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आगामी जनवरीमा बिकिनी प्रक्षेपण गर्ने भएको छ । यो युरोपेली अन्तरिक्ष कम्पनी द एक्सप्लोरेसनको एक रि इन्ट्री भेहिकल हो । अर्थात् रकेटले एउटा यानलाई अन्तरिक्षमा निश्चित उचाइसम्म लगेर छाड्नेछ । त्यसपछि यान पृथ्वीमा फिर्ता हुनेछ । यसका लागि युरोपेली कम्पनी र इसरोबीच सम्झौता भैसकेको छ ।

आगामी जनवरीमा इसरोको पिएसएलबी रकेटबाट उक्त सानो आकारको युरोपेली यान प्रक्षेपण गरिनेछ । सो यानको नाम बिकिनी हो । वास्तवमा बिकिनी द एक्सप्लोरेसन कम्पनीको पुनः प्रयोगयोग्य रि इन्ट्री मोड्युल निक्सको सानो संस्करण हो ।

रकेटले बिकिनीलाई पृथ्वीको सतहभन्दा ५ सय किलोमिटर माथि लगेर छाडिदिनेछ । त्यहाँबाट यान पृथ्वीमा फर्किनेछ । त्यसक्रममा यसको पुनःप्रवेशका सम्बन्धमा विभिन्न अनुसन्धान गरिनेछ । वायु मण्डल पार गर्दै यो यान समुद्रमा खस्नेछ । बिकिनीको वजन ४० किलो मात्र हुनेछ । यो यानको उद्देश्य अन्तरीक्षमा विभिन्न सामानको आपूर्ति गर्नु हो ।

द एक्सप्लोरेसन कम्पनी आफ्नो विकिनी अन्तरिक्षयानको माध्यमबाट अन्तरिक्षमा सामानहरुको आपूर्ति गर्ने योजनामा जुटिरहेको बताइन्छ ।

यदि बिकिनीको जनवरीको रि(इन्ट्री मिसन सफल भएमा यसबाट व्यवसायिक उडानको नयाँ संसारको ढोका खुल्नेछ । अर्थात् अन्तरिक्षमा सहज रुपमा कुनै पनि सामानको आपूर्ति सम्भव हुनेछ, त्यो पनि कम खर्चमा ।

बिकिनी मिसनका लागि द एक्सप्लोरेसनले युरोपियन एरियनस्पेस कम्पनीसँग सम्झौता गर्ने तय भैसकेको थियो । तर पछि उक्त सम्झौताका लागि पछि भारतको न्यू स्पेस इण्डिया लिमिटेड कम्पनी छनोट भयो । न्यू स्पेस इण्डिया लिमिटेड भारतीय स्पेस एजेन्सी इसरोको व्यवसायिक भगिनी संस्था हो । एरियन सिक्स रकेटको निर्माणमा ढिलाइ भएसँगै भारतीय कम्पनीले उक्त ठेक्का पाएको हो । बिकिनीलाई पोलर स्याटेलाइट लञ्च भेहिकल (पिएसएलबी) रकेटको चौथो चरणमा आबद्ध गरिनेछ र अन्तरिक्षमा लगेर छाडिनेछ । जहाँबाट बिकिनी पृथ्वीमा फर्किनेछ ।

उक्त मिसनका क्रममा संकलित तथ्यहरुबाट भविष्यमा अझै उत्कृष्ट रि इन्ट्री तथा रिकभरी प्रविधिको विकासमा सहयोग पुग्ने बताइएको छ । पिएसएलभी रकेटमा पिएस ४ अर्थात् चौथो चरणको प्रयोग हालै पिएसएलभी अर्बिटल एक्सपेरिमेन्टल मोड्युल अर्थात् पोएमका लागि गरिएको थियो ।

पिएस ४ ले पृथ्वीको चारैतर्फ परिक्रमा गरी विभिन्न प्रयोग गर्दछ । बिकिनीलाई पिएस फोरको माथिल्लो भागमा राखिनेछ ताकि यसको मुख्य मिसनमा कुनै असर नपरोस् । बिकिनीमा कुनैपनि खालको प्रोपल्सन सिस्टम छैन । पिएस फोरकै सहारामा यसले अन्तरीक्षमा छोटो समय बिताउनेछ । उपयुक्त उचाइ हासिल भएसँगै पिएस ४ हट्नेछ । त्यसपछि बिकिनी तीव्ररुपमा वायुमण्डल पार गर्दै समुद्रमा खस्नेछ ।

वास्तवमा बिकिनी यान ठूलो अन्तरिक्ष मिसनको छोटो ट्रायलको रुपमा रहनेछ । यो मिसनका लागि बिकिनीलाई ५ सय किलोमिटर आसपासको उचाइमा छाडिनेछ । त्यसपछि पिएस(४ ले बिकिनीलाई डिबुस्ट गर्दै कक्ष छाड्नेछ । त्यसपछि १२० देखि १४० किलोमिटरको उचाइमा आएपछि बिकिनीलाई छाडिदिनेछ र बिकिनी सिधै समुद्रमा खस्नेछ ।

स्मरण रहोस्, बिकिनी यान बनाउने जर्मन कम्पनी द एक्प्लोरेसन करीब २ वर्षअघि स्थापना भएको स्टार्टअप हो । सन् २०२८ सम्ममा चन्द्रमामा पुग्ने लक्ष्य कम्पनीको छ । एजेन्सी