यस्तो भ्रमणबाट कस्तो उपलब्धिको आशा गर्ने ?

यस्तो भ्रमणबाट कस्तो उपलब्धिको आशा गर्ने ?


प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमणलाई सकभर टार्ने/तर्कने कोशिस गरेका थिए र, अझै पनि चिनियाँ उच्च नेतृत्वसँगको साक्षात्कारमा ‘कसरी मुख लुकाउने’ भन्ने बोझिल मानसिकताबाट प्रचण्ड ग्रस्त रहेका छन् भन्ने आँकलन गरिएको छ । यस्तो बाध्यात्मक परिस्थितिबाट पिल्सिँदै गरिएको भ्रमणबाट कस्तो उपलब्धिको आशा गर्ने ?

करिव डेढ महिनाअघि छिमेकी भारतको औपचारिक भ्रमण गरेर आफ्नो पछिल्लो कार्यकालको पहिलो विदेश यात्रा सुरु गरेका प्रधानमन्त्री प्रचण्ड यतिबेला न्यूयोर्कमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिताका लागि अमेरिका यात्रामा छन् । अमेरिकाको कही दिनको बसाइपछि उतैबाट चीन प्रस्थानको तयारीमा रहेका प्रधानमन्त्रीको भ्रमणलाई लिएर अनेक कोणबाट विश्लेषण र टीका-टिप्पणी भइरहेको छ ।

‘आर्थिक र पूर्वाधारका सवालमा नेपालको पहिलो रोजाइमा भारत परेको तर दुवै छिमेकीलाई उत्तिकै महत्व दिएर समान तवरले सम्बन्धलाई अघि बढाउनुपर्ने’ धारणा विज्ञजनबाट दिइँदै आएको सन्दर्भमा प्रधानमन्त्रीले यसपटकको चीन भ्रमणलाई कसरी सन्तुलित र सार्थक तुल्याउने हुन् भन्ने जिज्ञासा सचेत तप्कामा जागृत भएको छ ।

पन्ध्र वर्षअघि सन् २००८ मा पहिलो पटक प्रधानमन्त्री बन्दा बेइजिङलाई आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य बनाएर मुलुक फर्किएलगत्तै ‘औपचारिक भ्रमण त भारतबाटै गर्ने हो’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएर चर्चा र आलोचना ब्यहोरेका प्रचण्डले यसबीच निकै अनुभव र ‘परिपक्वता’ हासिल गरिसकेका छन् भन्ने एकथरि बुझाइ छ । त्यसबेलाको भोगाइले सतर्क रहेका प्रचण्डलाई यस पटक सत्ता सम्हालेको पाँच महिनापछि नयाँ दिल्लीको भ्रमणको साइत जुऱ्यो । भारतभन्दा अघि नै चीनले बोआओ फोरममा सहभागिता जनाउने गरी पहिलो विदेश भ्रमण चीनबाट गर्न निम्तो पठाए पनि उनले उक्त अवसरलाई बहाना बनाएर टारिदिए । यसले उनको झुकाव दक्षिण छिमेकीप्रति नै रहेको सन्देश प्रवाह गर्नुका साथै उत्तरी छिमेकी चीनलाई सतर्क तुल्याएको हुन सक्छ । तर, चीनले प्रधानमन्त्री प्रचण्डलाई चिढ्याउने गरी कुनै त्यस्तो कुटनीतिक सङ्केत भने दिइसकेको छैन ।

तथापि, अमेरिका हुँदै चीन पुग्ने प्रचण्डको निर्णयप्रति चीनले आँखा चिम्लिएको या बेसरोकार रहेको होला भन्ने अनुमान गर्नु गलत हुनेछ । साँधसिमाना जोडिएका भारत र चीन अनि आकाशको छिमेकी अमेरिकाले नेपालमा आफ्नो प्रभाव विस्तार गर्न प्रतिस्पर्धा गरिरहेको यथार्थलाई आज विश्वले बुझेको छ । यस वास्तविकतालाई देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री प्रचण्डले गहिरो गरी अध्ययन तथा मनन गर्नुपर्छ र, मुलुकको विश्वसनीयता बढाउने ढङ्गले चीन भ्रमणका क्रममा भूमिका खेल्न सक्नुपर्छ । प्रधानमन्त्रीको यसपटकको चीन भ्रमणमा बेइजिङले आफ्ना मूलभूत सामरिक स्वार्थहरूको रक्षाका लागि काठमाडौंमाथि दबाब दिनसक्ने ठानिएको परिवेशमा प्रधानमन्त्रीमाथि प्रचण्ड दायित्व थपिएको छ ।

त्यसो त चीन र भारतका स्वार्थ अनि नेपालमा मित्रराष्ट्र अमेरिकासमेतको चासोका बीच उनीहरूको संवेदनशील सम्बन्धबारे प्रधानमन्त्री प्रचण्ड जानिफकार नै छन् । कतिपय विश्लेषकहरू त उल्लिखित तीन शक्तिराष्ट्रको चासोबाट नेपालले कसरी फाइदा लिने भन्ने ज्ञान प्रचण्डसँग रहेको पनि बताउँछन् । तर, नेपालको आन्तरिक राजनीतिमा खेल्दै यहाँका नेताहरूलाई कजाएजस्तो सहज काम होइन भन्ने पनि प्रचण्डले मनन गर्न सक्नुपर्छ । महाशक्तिराष्ट्र अमेरिकालाई चुनौती दिएर विश्वमञ्चमा दबदबा बढाइरहेको चीनजस्तो देशसँग कुटनीतिक मामलामा ‘भाँडाकुटी’ खेल प्रदर्शन गर्नु ठूलो मुर्खता सावित हुन सक्छ भन्ने ख्याल राख्नु सम्बद्ध सबैका लागि अपरिहार्य छ ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक सत्ता सम्हालेलगत्तै एक विदेशी सञ्चारमाध्यमसँगको कुराकानीमा नेपालले भारतमुखी वा चीनमुखी नभइ ‘नेपालमुखी’ विदेश नीति अँगाल्ने धारणा राखेको सन्दर्भ यहाँनेर प्रासङ्गिक होला । पक्कै पनि नेपालले नेपालमुखी नीति नै अवलम्बन गर्नुपर्छ । तर, नेपालमुखी नीति अवलम्बन गर्दै आफ्नो सार्वभौमिकताको रक्षा गर्ने कार्य वर्तमान विश्व–परिवेशमा अत्यन्त चुनौतीपूर्ण विषय हो । यसैकै लागि सुझबुझपूर्ण भूमिकाको आवश्यकता औंल्याइएको हो ।

सबैलाई मुखले ठिक्क पार्ने तर व्यवहारमा विश्वसनीयता कायम गर्न नसक्ने भन्ने आरोप प्रचण्डका लागि बिझाउने विषय हुन सक्छ । देशभित्र मात्र नभइ बाह्य निकायले पनि प्रचण्डका बारे यस्तो धारणा बनाएको सन्दर्भ बेलाबखत सतहमा आएका छन् । यस्तोमा प्रधानमन्त्री प्रचण्डलाई हेर्ने चिनियाँ दृष्टिकोण पछिल्लो समयमा कस्तो छ भन्नेमा धेरैको चासो रहेको पाइन्छ । एक हदसम्म प्रचण्डले चीनको विश्वास गुमाइसकेको टीका-टिप्पणी पनि गरिन थालिएको छ, जसलाई तर्कहीन भनी तर्क्याउन पनि मिल्दैन ।

तथापि, नेपाललाई निकै हदसम्म बुझेका कतिपय चिनियाँ विज्ञका दृष्टिमा प्रचण्ड ‘यथार्थवादी नेता’ हुन् । प्रचण्ड या नेपाललाई खुशी पारेर आफ्नो हितमा प्रयोग गर्नका लागि छिमेकी पक्षबाट यस्ता धारणा प्रकट गरिए पनि प्रधानमन्त्रीको रूपमा यतिबेला प्रचण्ड निकै चुनौतीपूर्ण अवस्थामा छन् भन्न हिच्किचाइरहनु पर्दैन । मूलतः नेपालमा बढ्दो चिनियाँ चासो र प्रभावलाई कम गर्न अमेरिकाले भारतसँगको सम्बन्धमा प्रगाढता ल्याउने कोशिस गरिरहेको तथ्य अत्यन्त मननीय छ । यसको आँकलन गर्दै चीनले नेपालसँग ‘दबाब’ दिने शैलीमा पनि प्रस्तुत हुन सक्छ । यस्ता मूल विषयलाई पर्गेलेर गरिएको भ्रमण मात्र सार्थक हुन सक्नेछ । सम्भवतः चीनको यस्तै मानसिकताको आँकलन गरेर नै होला, सकभर चीनको भ्रमणलाई टार्ने/तर्कने कोशिस प्रचण्डले गरेका थिए । र, अझै पनि चिनियाँ उच्च नेतृत्वसँगको साक्षात्कारमा ‘कसरी मुख लुकाउने’ भन्ने बोझिल मानसिकताबाट प्रचण्ड ग्रस्त रहेका छन् भन्ने आँकलन गरिएको छ । यस्तो बाध्यात्मक परिस्थितिबाट पिल्सिँदै गरिएको भ्रमणबाट कस्तो उपलब्धिको आशा गर्ने ?