अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना


ललितपुरको पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटले म्याद गुज्रेका सामग्री बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन ललितपुरको टोलीले सो सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ ।

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आइतबार कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिएका छन् ।

उनका अनुसार विग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ । यस्तै, म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरिएको छ ।

“संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिवाना गरिएको हो,” सहायक प्रजिअ सुनुवारले भनेका छन् ।

यस्तै, घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरीक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य वस्तुको ‘डिस्पोज’ गरिएको जानकारी दिए ।