सद्भाव खल्बल्याउने षड्यन्त्र !

सद्भाव खल्बल्याउने षड्यन्त्र !


राजनीतिको माध्यमबाट जनतालाई शान्ति, स्थिरता, विकास र समृद्धि दिने यिनको उद्देश्य प्रतीत हुँदैन, बरु एउटा देश र देशवासीका लागि अपरिहार्य यिनै काम-कुरा हुन नदिइ अस्तित्व नै समाप्त पार्न उद्यत्-अभीष्ट प्रष्टिँदै गएको बोध हुन्छ । फलतः धरान काण्डजस्ता काण्डहरू अब कहाँ-कहाँ कतिबेला कुन रूपमा प्रकट हुनेहुन्- विष्मयको विषय बनेको छ ।

सामाजिक, धार्मिक एवम् जातीय सद्भाव र सहिष्णुताका लागि कहलिएको नेपाल आज धार्मिक तथा जातीय द्वन्द्व-आरम्भको डिलमै उभिन पुगेको छ । यस देशको मौलिक वा मूल विशेषताहरूमध्ये यहाँका विविध जातजाति, धर्म, वर्ण, भेष-भाषाबीच आपसी सद्भाव, मेलमिलाप र एकता थियो, जसले मुलुकलाई शान्त-सुन्दर तुल्याउन अहम् भूमिका निर्वाह गरेको थियो । तर, विभिन्न राजनीतिक परिवर्तनको बहानाबाजीमा यस देशको मूल चरित्र तथा महत्वपूर्ण विशेषतामाथि नै घातक प्रहार हुँदै आएको छ र, सदियौँदेखि मिलेर बसेका नेपाली-नेपालीबीच जात र धर्मको बखेडा सिर्जना गरी विवाद, झगडा र द्वन्द्व बढाउने दुष्प्रयत्न चरमोत्कर्षमा पुऱ्याइएको छ । गाइ-गोरु काटेर मासु पकाइ खाएको श्रव्य-दृश्य सामग्री धरानतिरबाट सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत सम्प्रेषण गरिएको सन्दर्भ यसैको द्योतक हो ।

कुनै पनि मुलुकलाई कमजोर तुल्याउनु या समाप्त पार्नु छ भने त्यहाँको भाषा, भेष, धर्म-संस्कृति, आपसी भाइचारा खल्बल्याइदिनुपर्छ भन्ने विश्वव्यापी मान्यता स्थापित छ । विश्वका अनेकौँ मुलुक आज यही खतर्नाक ‘हतियार’को प्रयोगबाट रुग्ण बन्न पुगेका छन् । धर्म सम्प्रदाय तथा जातजातिबीचको आपसी लडाइँले त्यहाँको शान्ति र समृद्धिको अवस्थामात्र खल्बलिएको नभइ जबर्जस्ती सिर्जित द्वन्द्वले रगतको खोलो बगाएको छ । अस्थिरताको गर्तमा डुबेर अन्ततः देशको अस्तित्व नै समाप्त हुने परिवेश निर्माण भएका उदाहरण निकै छन् । नेपालका राजनीतिक दल तथा तिनका नेतृत्व तहमा रहेका पात्रहरूलाई पनि यसबारे भलीभाँती जानकारी नभएको होइन, तर यस्तो संवेदनशील पक्षप्रति राजनीतिजीवीहरूमा उदासिनता या लापर्वाहीपन दिन-प्रतिदिन बढेको अनुभूति गरिँदैछ ।

यो तथ्य सिद्ध गर्नका लागि उदाहरणहरू बग्रेल्ती भेटिन्छन्, ताजा उदाहरणको रूपमा एक-दुई वटा सन्दर्भ यहाँ उल्लेख गर्न सकिन्छ । वर्तमान सत्ता-गठबन्धनका एक प्रमुख हस्ती माधव नेपालका विश्वासी र मन्त्रीसमेत रहेका मेटमणि चौधरीले हालै दाङमा आयोजित एक सम्प्रदायविशेषको कार्यक्रमलाई अतिथिको रूपमा सम्बोधन गर्दै भने- ‘चर्चको समृद्धि, विकास र विस्तार गर्न सकेनौँ भने मुलुक अघि बढ्न सक्दैन !’ मन्त्री चौधरी कुनै धर्मविशेषबाट प्रभावित हुन या मान्न सक्छन्, उनको स्वतन्त्रताको कुरा हो । तर, उनले यस्तो बेला ‘चर्चको विकास र विस्तार हुनुपर्ने’ अभिव्यक्ति सार्वजनिक गरेका छन् जतिबेला आफूलाई क्रिश्चियन सत्मार्गी दाबी गर्ने केही पात्रले देशको संविधानविपरीत गौहत्या गरी मासु पकाएर खाएको भिडियो डकुमेण्ट सार्वजनिक तथा ‘प्रवर्द्धनात्मक’ प्रचारप्रसार गरिरहेका छन् । मुलुकका ८० प्रतिशत भन्दा बढी हिन्दु धर्मका अनुयायीहरूलाई उत्तेजित तुल्याएर धार्मिक एवम् साम्प्रदायिक द्वन्द्व निम्त्याउने अभिप्राय उल्लिखित पात्रहरूमा रहेको सहजै अनुमान लगाउन सकिन्छ । यस्तोमा सरकारमा मन्त्री रहेका पात्रबाट अशोभनीय अभिव्यक्ति आउनुलाई स्वभाविक मान्न किमार्थ सकिँदैन ।

यस्तै, वर्तमान सरकारका अर्का मन्त्री धनराज गुरूङको अभिव्यक्तिसहितको भिडियो क्लिप पनि यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । उनले भाषण गर्दै भनेका छन्- ‘दिनको एक मिनेट मात्र फादर मुनलाई सम्झिए दिलभित्र शान्ति मिल्छ, कुनै योग साधना गरिरहनैपर्दैन, फादर मुनलाई सम्झिए पुग्छ !’ सेप्टेम्बर २१, २०११ का दिन उनले जुन मनसायले मन्तव्य दिएका भएपनि यतिबेला शासन-सत्तामा रहँदै गर्दा यी पात्रविशेषको अभिव्यक्तिले खास महत्व राख्दछ । अर्थात्, हिन्दुराष्ट्र नेपाल आज जबर्जस्ती ‘धर्मनिरपेक्ष देश’ बन्नु/बनाइनुको पृष्ठभूमिमा यस्ता पात्रहरूको भूमिका के-कति थियो या रहेछ भन्ने हेक्का राख्नैपर्ने हुन्छ । कुनैबेला रातो पासपोर्ट बेचेर चर्चामा आउँदा उनको राजनीतिक भविष्य समाप्त भएको ठानिएको थियो । कुनै इमानदार राजनीतिकर्मीमाथि यस्तो आरोप लागेको भए सायद तिनको राजनीतिक अस्तित्व त्यतिबेलै अन्त्य हुने थियो । तर, धनराजलाई उल्टै फलिफाप भयो र आज आएर मन्त्री नै बनाइएका छन् । उदाहरणको लागि उनको सन्दर्भ उल्लेख गरिएको भएपनि यस्ता पात्र थुप्रै छन्, नेपाली राजनीतिमा जमे/जमाइएका ! जहाँ सरकार प्रमुख नै जाति-जनजाति उकासेर स्वायत्त राज्य दिने भाषण दिन हिच्किचाउँदैनन्, यस्तो मुलुकमा अन्य पात्रको कुरा गर्नुकै तुक पो के रहला र ?!

जे होस्, जाति, धर्म, भाषा जस्ता संवेदनशील विषयमा बखेडा सिर्जना गरी आपसी सद्भाव खल्बल्याउन परायाका गोटी बनेका पात्रहरू आज मुलुकमा जताततै सर्वेसर्वा बन्न पुगेको आभास हुन्छ । राजनीतिको माध्यमबाट जनतालाई शान्ति, स्थिरता, विकास र समृद्धि दिने यिनको उद्देश्य प्रतीत हुँदैन, बरु एउटा देश र देशवासीका लागि अपरिहार्य यिनै काम-कुरा हुन नदिइ अस्तित्व नै समाप्त पार्न उद्यत्-अभीष्ट प्रष्टिँदै गएको बोध हुन्छ । फलतः धरान काण्डजस्ता काण्डहरू अब कहाँ-कहाँ कतिबेला कुन रूपमा प्रकट हुनेहुन्- विष्मयको विषय बनेको छ ।