‘एउटा मानिस सुधारिए संसार सुधारिन्छ’

‘एउटा मानिस सुधारिए संसार सुधारिन्छ’


नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि एवम् नेपाल महिला सङ्घको केन्द्रीय सदस्यसमेत हुन् लक्ष्मी बाह्रकोटी प्रसाईं । हाईस्कुल जीवनदेखि नै ने.वि. सङ्घमार्फत् राजनीतिक जीवनमा हेलिएको बताउने उनको गौरादह (झापा)का विभिन्न सामाजिक संस्थाहरूमा रहेर काम गरेको अनुभव पनि छ । उनीसँग घटना र विचारका लागि श्यामकृष्ण लम्सालद्वारा गरिएको कुराकानीको सम्पादित अंश :

■ मुलुकको वर्तमान राजनीतिक स्थितिप्रति तपाईंको दृष्टिकोण के छ ?
– नेपालको वर्तमान राजनीतिमा आत्मकेन्द्रीत राजनीति विकास भएको छ । यस अवस्थामा नेपालका सम्पूर्ण पार्टीलाई देश विकासको क्रियाकलापमा सक्रिय बनाइ पुराना पार्टीहरूले आफ्नो पार्टीको शान जोगाइराख्न जनताको हितमा आफूलाई समर्पित गर्नुपर्छ । अहिले भएभन्दा अझ प्रभावकारी ढङ्गले जनतामा समर्पित हुने किसिमको कार्य गरी लोकतान्त्रिक शासन व्यवस्था नै दुनियाँको उत्कृष्ट शासन व्यवस्था हो भन्ने कुरालाई जनस्तरमै व्यवहारिक अनुभूति हुने किसिमको राज्य सञ्चालन हुनुपर्दछ भन्ने मेरो ठम्याइ एवम् बुझाइ हो । संक्षेपमा भन्नुपर्दा जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई शिरमा राखी काम गर्दा मुलुकका मौजुदा सबै समस्याहरू स्वतः समाधान हुँदै जान्छन् भन्ने मेरो बुझाइ रहेको छ ।

■ राजनीतिक एवम् सामाजिक क्षेत्रमा महिला सहभागिता सशक्तिकरणका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिका के-के हुन सक्छन् ?
– महिलाविरुद्धका सबै प्रकारका विभेद र हिंसाको अन्त्य गरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा प्रवद्र्धनका लागि राज्यले अधिकारमा आधारित विकास अवधारणाको अवलम्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू सञ्चालन गरी विभेदकारी कानुनहरू हटाएर हरेक क्षेत्रमा महिलाहरूको सहभागिता गराइ महिलाहरूमा भएको अन्तर्निहित क्षमतालाई वद्धि गर्नु नै महिला सशक्तिकरण हो । संविधानले जनताका हक र अधिकारहरू सुनिश्चित गर्नुका साथै महिला वर्गका अधिकारहरूलाई समेत व्यवस्थितरूपले लिपीबद्ध गरिनुपर्छ । तथापि, कार्यान्वयन पक्षमा ध्यान नपु¥याउने हो भने कतिपय स्थापित महिलाका अधिकारहरू संविधानमै सीमित हुने सम्भावना पनि देखिएका छन् । तसर्थ महिला वर्गले विशेषगरी राजनीतिक नेतृत्वमा रहेका महिला वर्गले बढी चनाखो हुनु पर्दछ ।

■ समृद्ध गौरादह निर्माणका लागि के-के काम हुनु आवश्यक छ ?
– नगरवासीका जनतालाई साथमा लिएर गौरादह नगरको सन्तुलित विकास, सार्वजनिक हित, नागरिकको सुरक्षाका निम्ति समर्पित हुनु पर्दछ । जनप्रतिनिधिहरू जस्तै गौरादह नगरवासी शहरी र ग्रामीण नागरिकको सेवा, सुविधा अभिवृद्धि गर्ने, नगरको शिक्षा, स्वास्थ्य, रोजगार, सडक, विद्युत, खानेपानी, ढल, बाँध, कुलो, पैनी, अन्य सिंचाइ, कृषि, उद्योग, पर्यटन, पशुपालन साथै किसानको हक, हित, मजदुरको हक, हित र सुरक्षा, शोषणको अन्त्य गर्दै सबै नगरबासीको सेवा, सुविधा, सम्मान र सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गरी सम्बन्धित सरोकारवाला निकायमा प्रतिनिधित्व गर्दै आवाज उठाएर आवश्यकता पूर्तिका लागि शान्तिपूर्ण माध्यमबाट पहल गर्ने प्रणका साथ नगरवासी जनताको समर्थन प्राप्त गर्दै स्थानीय सरकारले जनमैत्री, नागरिकमैत्री र समस्यामैत्री हुनु आवश्यक छ ।

■ झापा-५ मा नेपाली काङ्ग्रेसको साङ्गठनिक स्थिति कस्तो छ ?
– लोकतान्त्रिक पद्धति सुदृढ गराउन नेपाली काङ्ग्रेसको जिम्मेवारीको अवस्था राम्रैसँग सङ्गठन चलेको छ । यस्तो अवस्थामा पनि केन्द्रको राजनैतिक कारणले पनि नेपाली जनतालाई राजनीतिप्रति वितृष्णा रहेका बेला पनि हामीले कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकामा पनि अध्यक्ष जितेका छौँ । दमकमा उपप्रमुख जितेका छौँ । गौरादहमा गठबन्धनका कारण चिन्ह फरक हुँदा धेरै मत बदर भएका कारणले मात्र प्रमुख गुमाएका हौँ । नेपाली काङ्ग्रेसका यस क्षेत्रका नेता, कार्यकर्ताहरू सक्रियरूपमा आफ्नो जिम्मेवारी बहन गर्नुभएको छ । नेपाली काङ्ग्रेस गौरादह नगरले धेरै राम्रो तरिकाले पार्टीलाई चलायमान गर्न सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई जिम्मेवारी दिएको छ र आफ्नो जिम्मेवारी सबैले पूरा गर्नुभएको छ ।

■ अझ सुधार कसरी गर्न सकिन्छ ?
– काङ्ग्रेसीजन सबै सम्हालिनुपर्छ । आन्तरिक अवस्थालाई सुधार गरेर लैजानुपर्छ । सर्वप्रथम त घरलाई बलियो बनाउनुपर्छ । पार्टीलाई रुपान्तरण अभियानमार्फत् यस क्षेत्रका सम्पूर्ण नेताहरूले गुट, उपगुट अन्त्य गरी सबैजना एक हुनुपर्छ र नेताहरूले आफ्ना कार्यकर्ताहरूको घर-घरमा गएर बिचलित भएका साथीहरूलाई सम्झाउनुपर्छ र पार्टी चलायमान बनाउनलाई नेपाली काङ्ग्रेसका भातृसङ्घ-संस्थाहरूलाई पूर्णता दिनुपर्छ ।

■ स्थानीय सरकारको कार्यशैली र प्रभावकारीताको सम्बन्धमा नेपाली कांग्रेसको दृष्टिकोण के छ र स्थानीय सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?
– दीगो विकास अथवा टिकाऊ विकासमा आधारित भएर शिक्षा, स्वास्थ्य, सडक तथा बजार, कृषि विकासका लागि विज्ञहरूको परामर्श र सर्वपक्षीय छलफलबाट सबैले अपनत्व हुनेगरी दीर्घकालीन गुरुयोजना निर्माण गर्नुपर्छ । महिलाहरूको सीप, क्षमता विकास, विपन्न महिला विकासका लागि कार्यक्रम, महिला तथा बालबालिकाको हिंसामुक्त, महिला हक, अधिकार र महिलाहरूको आर्थिक सबलीकरणका लागि समान ज्याला अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ । नेपाली काङ्ग्रेसको सिद्धान्तलाई अँगाल्दै बीपीले देख्नुभएको छ– ‘नेपालमा कोही पनि भोका, नाङ्गा, अशिक्षित नरहून् । देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराहरूको अभाव नहोस् ।’ त्यस्तै उत्तरदायी शासन व्यवस्था प्रयत्न गर्न, पुँजी सङ्ग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन् । तर विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सबलीकरण नै हो । समुन्नत नेपाल बीपी कोइरालाकै समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्या हो ।

■ अन्त्यमा, थप भन्न मनलागेको कुरा केही छ कि ?
– संविधानको रक्षा, स्थिरता र शान्ति होस् । मुलुकको विकास र समृद्धि होस् । नेपाली राष्ट्रिय गरिमा उच्च हुने काम नेताहरूले गरुन् । संविधानमा भएका महिलाप्रतिको सम्पूर्ण अधिकार कार्यान्वयन होस् । केन्द्रदेखि नै नेता, कार्यकर्ताको कार्यशैली बदलियोस् । संसारमा एउटै मानिस सुधारिए पुग्छ, त्यो स्वयम् या आफैँ हो भन्न चाहन्छु ।