इमान्दार प्रयासको घेराबन्दी !

इमान्दार प्रयासको घेराबन्दी !


सम्भवतः नेपालको इतिहासमा यो नै पहिलो घटना हुनुपर्छ, जहाँ एकजना मन्त्रीका कारण सत्तापक्ष र विपक्ष एकै ठाउँमा उभिन आइपुगे । यस प्रकरणले नेपालमा भ्रष्टाचारीहरूको सन्जाल कति बलियो रहेछ भन्ने तथ्य उजागर गरेको छ । कर्मचारीको ठूलो तप्का, राजनीतिक दलका नेताहरूको ठूलो हिस्सा र अवैध आर्जनमा रमाउँदै आएका ब्यापारीहरूमा जुन स्तरको सन्त्रास र प्रतिक्रिया देखापऱ्यो यसले नेपालमा सानोतिनो प्रयासले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना हुन नसक्ने पुष्टि गरेको छ ।
✍ देवप्रकाश त्रिपाठी

राम्रो काम गरेपछि सबैको प्रिय होइन्छ या सबैले सकारात्मक दृष्टिले हेर्छन् भन्ने कुरा सही नभएको प्रमाण नेपालमा पटक-पटक भेटिएको छ र, अझै भेटिने क्रम जारी छ । साम्राज्यवादीहरूसँग लडेर हिमालको काखमा नेपालको पुनर्एकीकरण गर्नुहुने बडामहाराजाधिराज पृथ्वीनारायण शाहले समेत विवाद, अपमान र तिरष्कारको सामना गर्नुपरिरहेको यो समयमा अरू कसैले राम्रो काम गरेकै कारण तिनको उच्च मूल्याङ्कन हुने आशा गर्नु उचित होइन । फेरि यो त घर, परिवार, धन सम्पत्ति, शान-मान र राजपाठसमेत त्यागेर हिँडेका गौतम बुद्धलाई समेत अपमानको भाला वर्षाउने धर्ती हो यो ! राज्यको सीमा विस्तार गर्दै यसको शान र मान बढाउने काजी भीम मल्लको शिर छेदन भएको यो देशमा राम्रो गर्नेको भलो हुन्छ भनेर आशा र विश्वास गरिनु हुन्न । यहाँ राम्रो गर्ने भनेको आत्मसन्तुष्टिका निम्ति मात्र हो ।

राजा महेन्द्रले नेपालको भौतिक पूर्वाधार विकाशमा अद्वितीय योगदान पुऱ्याएका थिए, उनले नेपाली राष्ट्रियताको प्रवर्द्धन र राष्ट्रिय एकताका निम्ति इतिहास-स्मरणीय कार्य गरेका छन् । तर अहिले समग्र नेपाल र नेपालीको हितका पक्षमा कोही उभियो भने तिनलाई महेन्द्रवादी बनेको ‘बिल्ला’ भिराइन्छ र, अपमान गरिन्छ । टङ्कप्रसाद आचार्य जो एक महान् देशभक्त थिए, नेपालको रक्षामा उनले पनि अविष्मरणीय देन दिएका छन्, तर उनको नाम लिन कोही चाहँदैनन् । कोटेश्वरस्थित सबैको आँखा पर्ने ठाउँमा एउटा शालिक राखिएको थियो, त्यसलाई पनि उखेलेर आँखा नपर्ने ठाउँतिर सारिएको छ । मरिचमान सिंह श्रेष्ठ जसले नेपालको स्वाभिमान रक्षाका निम्ति अविष्मरणीय योगदान दिएका थिए, बाँचुन्जेल कुखुरा पालेर आफ्नो ज्यान पाल्नु पऱ्यो र, मरेका बेला पूर्व प्रधानमन्त्रीको हैसियतमा एउटा राजकीय सम्मानसम्म दिइएन । पञ्च भएकोले अपमान गरिएको भनौँ भने जनमतसङ्ग्रह (२०३७) मा धाँधली गरेर पञ्चायतलाई जिताउने आरोप लागेका र, देशको हितप्रतिकुल अनेक निर्णय लिएर विवादमा आएका सूर्यबहादुर थापालाई राजकीय सम्मान मिल्यो । कसैको श्रीमती भएकै कारणले पनि राजकीय सम्मान दिएको पनि देखियो ! देश, जनता र प्रजातन्त्रका निम्ति आफ्नो पूरै जीवन समर्पण गर्ने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरूले रुँदै आफ्नो पार्टी परित्याग गर्नुपऱ्यो, एउटा अनपेक्षित अपमान र तिरष्कारका बीच सिंह र भट्टराईहरूले जीवन परित्याग गर्नुपऱ्यो । त्यसैले यो मुलुकमा इमान्दार र देशभक्त राष्ट्रवादीको उच्च मूल्याङ्कन हुने अपेक्षा राख्न सकिँदैन र हुँदैन पनि ! आफ्नो आत्माको खुशीका निम्ति मात्र देश, जनता र राष्ट्रियताको पक्षमा योगदान पुऱ्याउने हो ।

श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी लिएको चार महिनाभित्र जे-जति कार्य गरे त्यसले ऐतिहासिक रेकर्ड बनाएको छ । उनीबाट भए/गरेका कामको राम्रोसँग प्रचार हुन सकेन या प्रचण्डनेतृत्वको सरकार भएकोले मानिसले ‘क्रेडिट’ दिन कन्जुस्याइँ गरेका हुनसक्छन् । तर झिल्केगिरी गर्नेहरूबाट नारायणकाजीले गरेको कामको आधी मात्र भएको भए पनि यतिबेला मुलुकमा बिग्रेको मोटरसाइकलले भन्दा बढी ध्वनीप्रदुषण हुनेगरी होहल्ला भइरहेको अवस्था हामीले झेल्नुपर्ने हुन्थ्यो ।

नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी लिएपछि उनले जे गरिरहेका छन्- देश, जनता र सुशासनका पक्षमा मात्र गरेका छन् । सुराकीभत्ताका नाममा हुँदै आएको अपारदर्शी खर्च उनले शपथ लिएर बहाल गरेकै दिन सदाका निम्ति खारेज गरिदिए । नेपालीलाई अन्य मुलुकको शरणार्थी बनाउँदै राज्यशक्तिको दुरुपयोग गरेर धनार्जनका निम्ति देशको प्रतिष्ठालाई धुलिसात तुल्याउने कार्यको पर्दाफास गरि दोषीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउने काम नारायणकाजी श्रेष्ठबाहेक अरू कसैबाट सम्भव थिएन । सरकारी जग्गामा नक्कली मोही खडा गरेर कब्जा गर्नेहरूलाई कानूनी कारवाही गर्ने र, सरकारको जमीन सरकारकै नाममा फिर्ता ल्याउन प्रक्रिया सुरु गर्ने पनि श्रेष्ठ नै हुन् । सुन तस्करीलाई संरक्षण दिने काम भविष्यमा कसैबाट नहोस् भनेर छानवीन र अनुसन्धानको जिम्मा प्रहरीलाई दिन पनि नारायणकाजीले आफ्नैहरूसँग लड्नुपऱ्यो ।

प्रचण्डलगायत केही माओवादी नेताहरूका कारण आम मानिसमा माओवादीले पनि राम्रो गर्न सक्छ भन्ने विश्वास उडिसकेको छ । मानिसको जीवनमा छवि (Image) निकै महत्वपूर्ण हुनेगर्छ । देवताको छवि बनेका मानिसले गल्ती नै गरेछन् भनेपनि त्यसको ढाकछोप आम मानिसले आफै गरिरहेका हुन्छन् । दानव छविका मानिसबाट राम्रो काम हुँदा पनि मानिस विश्वास गर्न तयार हुँदैनन् । हाम्रो सनातनी सभ्यतामा दानव कुलमा पनि असल मानिसको जन्म भएको र ऋषि कुलमा समेत दानवको जन्म भएको दृष्टान्त पाइन्छ । रावणको जन्म ऋषिकुलमा भएको थियो, तर चरित्र र ब्यवहारले उनलाई दानव शिद्ध गरिदियो । सामान्य परिवारमा जन्मिएर धुन्धुकारीले नकारात्मक तर विशिष्ट छवि बनाएका छन् । राजकुमारका रूपमा क्षेत्रीय कुलमा जन्मिएर राम भगवान् बनेको पनि उनको आफ्नै भूमिका र चरित्रका कारणले हो । हिरण्यकस्यपु बहुचर्चित दानव हुन्, तर उनीबाट जन्मिएका प्रल्हादले शास्त्रमा असल मानिसको छवि बनाएका छन् । हो, छवि खराब भएपछि राम्रै काम गर्न खोजेपनि पत्याइन्न, गरेपनि श्रेय दिइन्न । नारायणकाजी श्रेष्ठले जीवनमा हिंसाको मार्ग कहिल्यै अवलम्बन गरेनन्, बरू हिंसाको विरोध गर्दै उनी माओवादीको युद्धमा सामेल भएनन् । हिंसाबाट नै जनवाद र समाजवाद स्थापनाको सपना देख्ने माओवादीलाई अन्ततः शान्तिपूर्ण र सहमतिको राजनीतिमा अवतरण गराउन नारायणकाजी श्रेष्ठले नै महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् ।

पार्टी एकीकरण भएपछि श्रेष्ठलाई पनि माओवादी नेता भन्न थालियो । विचार समूह माओवादी भएपनि नारायण्काजी श्रेष्ठ अहिंसावादी हुन्, ब्यक्तिगत रूपमा उनी शाकाहारी हुन् र, मार्क्सवादलाई आत्मसात गर्दागर्दै पनि उनी आध्यात्मिक ब्यक्ति हुन् । सम्पुर्ण जीवन देश र जनताप्रति समर्पित नारायणकाजी अविवाहित हुन्, उनले सिङ्गै देशवासीको अभिभावकत्व लिने अठोट गरेर नै राजनीतिमा सहभागी भएकोमा शङ्का गर्नुपर्ने छैन । श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी लिएको चार महिनाभित्र जे-जति कार्य गरे त्यसले ऐतिहासिक रेकर्ड बनाएको छ । उनीबाट भए/गरेका कामको राम्रोसँग प्रचार हुन सकेन या प्रचण्डनेतृत्वको सरकार भएकोले मानिसले ‘क्रेडिट’ दिन कन्जुस्याइँ गरेका हुनसक्छन् । तर झिल्केगिरी गर्नेहरूबाट नारायणकाजीले गरेको कामको आधी मात्र भएको भए पनि यतिबेला मुलुकमा बिग्रेको मोटरसाइकलले भन्दा बढी ध्वनीप्रदुषण हुनेगरी होहल्ला भइरहेको अवस्था हामीले झेल्नुपर्ने हुन्थ्यो । कोही माओवादी विचार समूहको भएकै कारण इमान्दार हुन सक्दैनन् या उनीहरूले दूरदर्शिता राख्दैनन् भन्ने होइन । आजको चीनका निर्माता देङ सियाओ पिङ माओकै पार्टीका नेता थिए । त्यही पार्टीमा माओको हुकुम चल्दा कतिले ज्यान गुमाउनु पऱ्यो, चीनको अर्थतन्त्र तहसनहस हुने स्थितिमा पुग्यो । त्यही पार्टीका अर्का नेता (देङ) ले नेतृत्व लिएपछि उनले आजको समृद्ध चीनको जन्म गराए । उता तत्कालीन सोभियत सङ्घको पनि सामाजिक र आर्थिक स्थिति डावाडोल हुन लाग्दा त्यहाँ युवालाई नेतृत्व दिएर समाधान खोजे, देश नै भताभुङ्ग बन्यो । यता चीनमा भने ७८ वर्षीय परिपक्व ब्यक्ति (देङ)लाई राज्यसत्ता जिम्मा लगाएर देशको भविष्य खोजियो । मूल कुरा ब्यक्तिको इमान, प्रतिबद्धता र दूरदर्शिताको हो ।

देवताको छवि बनेका मानिसले गल्ती नै गरेछन् भनेपनि त्यसको ढाकछोप आम मानिसले आफै गरिरहेका हुन्छन् । दानव छविका मानिसबाट राम्रो काम हुँदा पनि मानिस विश्वास गर्न तयार हुँदैनन् । हाम्रो सनातनी सभ्यतामा दानव कुलमा पनि असल मानिसको जन्म भएको र ऋषि कुलमा समेत दानवको जन्म भएको दृष्टान्त पाइन्छ ।

एउटा राजाले देश बनाउने अठोट गरे, आजको समृद्ध दुबई बन्यो । एउटा तानाशाह पार्क चुङ हीले कोरिया बनाउने अठोट गरे, इमानका साथ गरिएको प्रयासको परिणाम नै आजको दक्षिण कोरिया हो । महाथीर मोहम्मद र ली क्वान यु हरू पनि कति प्रजातान्त्रिक थिए त्यसको लेखाजोखा गर्न सकिन्छ । तर नारायणकाजी तानाशाह होइनन् र, त्यस्तो गुण-स्वभाव पनि उनमा भेटिँदैन । नारायणकाजीले भ्रष्टाचार र अनियमितता चरमोत्कर्षमा पुगेर निराशाको निशाकालमा एउटा दियो बाल्ने प्रयास गरेका हुन्, खराब नेता र नीति हुँदाहुँदै पनि कोही एउटाले मात्र भएपनि इमानदार प्रयास गर्दा आशाको किरण पैदा हुनसक्छ भन्ने सन्देश नारायणकाजीले दिएका छन् । गृहमन्त्रीको रूपमा उनले सामान्य जिम्मेवारी पूरा गर्नखोज्दा असामान्य तरङ्ग पैदा भयो, देशैभरिका भ्रष्टाचारी तथा अवैध क्रियाकलापमा संलग्न रहेकाहरूमा एकप्रकारको आतङ्क मच्चियो, दानवहरूको स्वर्गमा आगलागी हुने परिस्थिति उत्पन्न भयो, राज्यलाई लुटको अखडा बनाएर भागबण्डा गर्दै खाइपाइ आएकाहरूको निन्द्रा हरण हुन पुग्यो, फलस्वरूप नारायणकाजीका कदममा अवरोध पैदा गर्न सत्तापक्ष र विपक्षमा अभूतपूर्व तर अघोषित एकताको स्थिति देखापरेको छ ।

सम्भवतः नेपालको इतिहासमा यो नै पहिलो घटना हुनुपर्छ, जहाँ एकजना मन्त्रीका कारण सत्तापक्ष र विपक्ष एकै ठाउँमा उभिन आइपुगे । यस प्रकरणले नेपालमा भ्रष्टाचारीहरूको सन्जाल कति बलियो रहेछ भन्ने तथ्य उजागर गरेको छ । कर्मचारीको ठूलो तप्का, राजनीतिक दलका नेताहरूको ठूलो हिस्सा र अवैध आर्जनमा रमाउँदै आएका ब्यापारीहरूमा जुन स्तरको सन्त्रास र प्रतिक्रिया देखापऱ्यो यसले नेपालमा सानोतिनो प्रयासले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना हुन नसक्ने पुष्टि गरेको छ । नारायणकाजीबाट सुशासन र भ्रष्टाचार नियन्त्रणको एउटा इमान्दार प्रयास हुँदा उनलाई साथ दिन धेरैथरी मानिस तयार भएनन्, बरू नारायणका बारेमा भ्रम उत्पन्न गराउने र उनलाई निरुत्साहित गराउनेहरूको प्रभुत्व रहेको महसूस हामीले गरेका छौँ । नारायणकाजी विरूद्धको घेराबन्दीले देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको कार्य निकै कठिन भएको स्पष्ट गरेको छ, जय मातृभूमि !