चर्चामा काङ्ग्रेसको बैठक र हर्कको हर्कत !

चर्चामा काङ्ग्रेसको बैठक र हर्कको हर्कत !


डेड सातादेखि चलेको नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय समितिको बैठक राजनीतिक वृत्तमा यतिबेला चर्चाको विषय बनिरहेको छ । करिव एक वर्षपछि कर-बलले बोलाइएको बैठक हुनुको कारणले यसैपनि चर्चा र चासोको विषय बनेको काङ्ग्रेस बैठक दुई ‘युवा’ महामन्त्रीको ‘धज्जी’ उडेको र सभापति शेरबहादुर देउवाका ‘अन्ध-अनुयायी’हरूले शरणार्थी प्रकरणमा मुछिएर थुनाको बास बसिरहेका बालकृष्ण खाणको पक्षमा वकालत गर्दै सभापति-दम्पतिको प्रशस्तिगान गाएको सन्दर्भले बढ्ता चर्चामा छ । यसैगरी, बैठकको प्रत्यक्ष-दर्शन गराउने व्यवस्था सुनियोजित किसिमबाट गराइ सभापति देउवाले कथित ‘लोकप्रिय’ महामन्त्रीद्वयको ‘औकात’ छरप्रष्ट पारिदिएको प्रसङ्गले पनि काङ्ग्रेस वृत्तबाहिर समेत स्थान बनाएको छ ।

नेपालको दलीय राजनीति तथा राजनीतिक दल एवम् तिनका नेता-नेतृत्वलाई नियाल्दै आएका सबैले बुझेकै कुरा हो कि जे-जस्ता हौवा-हङ्गामा मच्चाइए पनि दलहरूको उच्च बैठकले कुनै नवीन परिणामदायी तरङ्ग सिर्जना गर्न सक्दैन । फगत बैठकको निम्ति बैठक गरी कार्यकर्ता र आमजनताको आँखामा छारो हाल्ने कर्म दलीय मठाधीशहरूको संस्कार-संस्कृति नै बनेको छ । आफ्नो पकड दर्शाउने, ‘हनुमान-मण्डली’ तयार पारेर स्वेच्छानुरुपको निर्णय पास गराउने माहोल मिलाइसकेपछि मात्रै देखावटीका निम्ति बैठक आयोजना गर्ने प्रवृत्ति सबैजसो पुराना र ठुला भनिएका दलहरूमा देखिन्छ । यस्तै मेसो देउवाले पनि मिलाए र, वर्चस्व बनाए । यसैगरी, बैठकको माग गर्ने देउवाइतरका नेताहरूले पनि आफ्नो हैसियत जान्न पाए । ‘दैवको अघिल्तिर मान्छेको के जोड चल्छ’ भनेझैँ देउवाको काँध वृद्ध नै भएपनि पङ्गा लिन सहज रहेनछ भन्ने अन्तःष्करणबाट महसूस तिनले गरे शायद ! प्रकारान्तरले असन्तुष्ट काङ्ग्रेसीका लागि यो एउटा ‘उपलब्धि’ पनि हो । स्याल मार्न जाँदा पनि बाघकै शिकारको तयारी गर्नुपर्छ भन्ने पुर्खाको उक्ति छ, देउवाको वर्चस्व समाप्त पारेर नेतृत्वमा विराजमान हुन के-कस्तो दाउपेच चल्नुपर्नेरहेछ भन्ने तत्वबोध केही न केही त भयो नै होला काङ्ग्रेसभित्रका प्रतिपक्षीहरूलाई !

यसका बाबजुद देउवाले पनि धेरै आत्मरति लिनुको तुक देखिन्न । समय सधैं एकनास रहन्न । दिनपछि रात त आउँछ नै । त्यसमाथि धर्मपत्नी नै तुच्छस्तरको विवादमा तानिएर रन्थनिनुपरेको परिवेश छ । पत्नीको हर्कतले धर्मसङ्कटमा पारेको छ, महसूस गर्ने-नगर्ने सभापति देउवाको मर्जी हो । आफ्ना विश्वासपात्रहरू एकपछि अर्को गम्भीर प्रकृतिका मामलामा तानिँदै छन्, जसबाट साख गिर्ने पनि मूलतः देउवाकै हो । तैपनि चाकडीवाजहरूको झुण्ड तयार गरी सूर्यलाई हत्केलाले छोप्ने हास्याष्पद र निष्फल प्रयत्न जारी नै छ । बैठकमा यस्तै देखियो । यसले देउवाको ‘आभा-मण्डल’ मात्र समाप्त पार्ने हो या सिङ्गो काङ्ग्रेस नै सखाप हुने हो- प्रतीक्षाको विषय बनेको छ । अवान्छित परोक्ष शक्तिद्वारा सञ्चालित रहेको आशङ्काबीच शक्ति-सत्तामा वर्चस्व बनाउन ‘युवा नेता’ भनिएकाहरूले दर्शाएको अपरिपक्व हतारो, बाह्य शक्तिकै उपज मानिएका नवोदित दल वा सम्बद्ध पात्रहरूको अविश्वसनीय उदयबाट विचलित हुन पुगेको मूल नेतृत्व, बीपीको मार्गदर्शनबाट पूरै विचलन भइ ‘माओ-काङ्ग्रेस’को रूपमा पुकारिन थालिएको अवस्था, कार्यकर्तामा पन्पिएको अराजकता र निराशा, दिशाहीन नेतृत्व जस्ता यावत नकारात्मकताका कारण वास्तवमै काङ्ग्रेस अस्तित्व मेटाउने दिशामा अग्रसर रहेको भान हुन्छ ।

काङ्ग्रेस बैठकले पैदा गरेको तरङ्गको अलावा अर्को एक सन्दर्भ पनि यतिबेला ‘हट् केक’ बनेर चर्चामा छ । चियाचौतारीदेखि सामाजिक सञ्जाल यत्रतत्र चर्चा र गफको विषय बनेको सन्दर्भ हो- धरान नगरपालिकाको मेयर हर्क साम्पाङको हर्कत ! एक्लो प्रयासबाट मेयर जितेका भन्दै सुरुमा उनको जुनरूपले चर्चा र प्रशंसा भयो, प्रशंसाको हद नाघेर प्रशस्तिगान नै जसरी गर्न थालियो, आज हर्कको तारिफको पुल बाँध्नेहरू नै लज्जित हुनुपर्ने परिस्थिति सिर्जना भएको छ । मेयरजस्तो मर्यादित स्थानमा रहेर पनि उनले सामाजिक सञ्जालदेखि बोली-व्यवहारमै पनि जुन तहको अराजकता प्रदर्शन गर्दै आएका थिए, पछिल्ला दिन यसले सीमा नाघेको अनुभूति गरिएको छ । कुनै धर्म-सम्प्रदायविशेषको पक्षमा ‘परोक्ष प्रकटिकरण’सहित हिन्दु, बौद्धलगायतका नेपालीले मानिआएका धर्म-सम्प्रदायविरुद्ध उनले सामाजिक सञ्जालमार्फत जसरी विषवमन गरिरहेका छन्, यसबाट धार्मिक एवम् सामाजिक सद्भाव खल्बलिने खतरा बढेको छ । राज्यलाई नै चुनौती दिँदै अहमता प्रदर्शनको अहंकारले उनी स्वयम्लाई त समाप्त पार्ला नै, हर्कको विजयमा हर्षबढाइँ गर्ने आममतदाता एवम् प्रशंसकहरूको हृदय पनि छिया-छिया पार्दैछ । हर्कको चेत समयमै फिरोस् !