प्रचण्ड-अभिव्यक्तिको विरोध र सहमतिको नौटङ्की !

प्रचण्ड-अभिव्यक्तिको विरोध र सहमतिको नौटङ्की !


प्रधानमन्त्रीले हिजो बोलेको कुरालाई लिएर आजै स्पष्टीकरण दिनु र आत्मसमीक्षाको याचना गर्दै गल्ती स्वीकारोक्तिको भावमा संसद्मा प्रस्तुत हुनु भनेको नैतिक रूपमा प्रमको पदमा बस्न अयोग्य छु भनी स्वीकारेकै हो ।

‘मलाई प्रधानमन्त्री बनाउन उहाँ धेरै पटक दिल्ली धाउनुभयो…!’ कुनै पात्रविशेषको प्रशंसाहेतु देशका कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री प्रचण्डद्वारा अभिव्यक्त उपरोक्त अभिव्यक्तिले मुलुकको राजनीति र सामाजिक सञ्जालका सबै माध्यम तरङ्गित तुल्याइदियो । नेपालको प्रधानमन्त्री ‘दिल्ली’बाट मात्र बन्न सक्ने आशययुक्त सन्देश प्रवाहित हुने प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेकपा (एमाले) त सञ्जालमा मात्र नभइ भएभरको शक्ति लगाएर सदनमै प्रस्तुत भयो । सात-आठ दिन प्रतिनिधिसभाको बैठक अवरुद्ध बन्न पुग्यो । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसद्को सार्वभौमिकतालाई नै चुनौती दिएको भन्दै उनको राजीनामालाई ‘बटम लाइन’ बनाएर संसद् अवरोधमा उत्रिएको एमाले अन्ततः सत्तापक्षसँग सहमतिमा पुगेको छ ।

विषयलाई ‘विष’कै तहमा उरालेर अन्ततः ‘सहमति’को सतहमा उत्रनु एमालेको लागि सामान्य कुराझैँ भएको छ । विगतदेखि हालसम्मका उसका गतिविधि वा व्यवहारले यस्तै अनुभूति गराउँछ । प्रचण्डबाट अनपेक्षित धोका पाएर रन्थनिँदै सत्ताबाट बाहिरिन पुगेको एमाले प्रचण्डलाई सत्ताबाट ओह्रालेर मेख मार्ने दाउमा रहेको जो-कसैले बुझेकै कुरा हो । प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीबाट उतार्न जुनसुकै हथकण्डा या दाउपेच अपनाउन उद्यत् देखिँदैछ केपी ओली नेतृत्वको सो दल । यस्तो परिवेशमा ‘देशको प्रधानमन्त्री दिल्लीबाट बनाइने’ स्पष्ट सन्देश प्रवाहित हुने प्रचण्ड-अभिव्यक्तिले एमाले नेतृत्वलाई सञ्जीवनी बुटीकै अनुभूति दिलाउनु आश्चर्यको विषय होइन । किनकि, बोली चिप्लिएर होस् वा लापर्वाहीका कारण अभिव्यक्त भएको होस्, ‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहजी धेरै पटक दिल्ली धाउनुभयो’ भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति सामान्य मानेर नजरअन्दाज गर्न सकिने कोटीको किमार्थ होइन । यसर्थमा ‘सशक्त प्रतिपक्षी’को छवि निर्माणमा समेत लागेको एमाले चुप बस्ने त सवाल नै रहन्न ।

तथापि, विषयबस्तु वा मुद्दालाई अतिरञ्जनाको उत्कर्षमै पुऱ्याउने र, जसरी उरालियो सोही गतिमा सुस्ताउने प्रवृत्तिले मुलुकलाई भन्दा ज्यादा अहित सम्बन्धित दललाई नै गर्दछ । प्रधानमन्त्री प्रचण्डले आफू छोरीको सम्झनामा भावुक बन्न पुगेको प्रष्टोक्ति दिँदै ‘म सेन्टिमेन्टल छु, प्रचण्ड यस्तै छ, थोरै भावनामा आएँ, मैले त्यो नभनेको भए हुन्थ्यो तर मनमा आयो, मैले भनेँ… यसमा दुःखित छु’ भावनामा बगेर त्यस्तो बोलेकोमा क्षमाप्रार्थी छु’ भनिदिएकै भरमा एमाले आफ्नो मागबाट पछि हट्यो । प्रधानमन्त्रीको ओहदामा रहेका व्यक्तिले देश तथा संसद्को सार्वभौमिकताप्रति नै प्रश्न उठ्ने अभिव्यक्ति दिएको सन्दर्भलाई ‘भावुकतावश बोलेको’ भनिदिएकै भरमा उन्मुक्ति पाउने रहेछन् त ‘प्रधानमन्त्रीको राजीनामा नै बटमलाइन’ भन्दै देश-दुनियाँलाई भ्रमित तुल्याउने नौटङ्की किन गर्नुपरेको ? यस्तै, प्रधानमन्त्रीले पनि हिजो बोलेको कुरालाई लिएर आजै स्पष्टीकरण दिनु र आत्मसमीक्षाको याचना गर्दै गल्ती स्वीकारोक्तिको भावमा संसद्मा प्रस्तुत हुनु भनेको नैतिक रूपमा प्रमको पदमा बस्न अयोग्य छु भनी स्वीकारेकै हो । आफ्नो अभिव्यक्ति अक्षम्य प्रकृतिकै हो भन्ने प्रधानमन्त्री प्रचण्डलाई पनि राम्रैसँग हेक्का छ । यति बोध गर्ने विवेकबिना आजको ओहदासम्म उनी आइपुगेको ठानिन्छ भने त्यो हास्यास्पदबाहेक केही ठहरिन्न ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति-विवाद, प्रमुख प्रतिपक्षीको विरोध तथा संसद् अवरोध र प्रमुख भनिएका तीन दलबीचको ‘रहश्यपूर्ण’ सहमतिसम्मको समग्र प्रकरणले फेरि पनि पुष्टि गरेको छ कि मुलुक अझै पनि पुरातनवादी कथित संसदीय भासमै डुबुल्की मारिरहेको छ । साढे तीन दशक आलोपालोमा एकछत्र शासन-सत्ता कब्जा गरी देशलाई रसातलको यात्रामा हिँडाउनेहरूकै खटनपटनमा शासित हुन नेपाली जनता अभिसप्त नै छन्, र एकाध व्यक्तिविशेषका उज्याला कर्ममा रमाएर सुखद् भविष्यको कल्पनामा रमाउन खोज्नुमै नेपालीको दैनन्दिनी गुज्रँदैछ ! सात-सात दिन अवरुद्ध रहेको संसद् आखिर जब तीन नेताबीच भएको सातै मिनेटको भेटघाटले खुल्न सक्छ भने त्यस्तो के सुत्रले काम गऱ्यो भन्ने जिज्ञासा स्वभावतः प्रकट हुन्छ । ठुल्ठूला भ्रष्टाचार प्रकरणमा पुराना भनिएका सबै दलसम्बद्ध कैयन पात्रको नाम मुछिएको छ । शीर्ष तहकै नेताहरू समेत सन्देहको घेरामा परेका छन् । यस्तोमा कतै आफूहरूलाई चोख्याउने ‘औजार’ त बनाइएन विरोध र सहमतिको खेललाई ? स्वभाविक आशङ्का पैदा भएको छ । नेताहरू जवाफदेही बनुन् ।