जापानमा नेपाली विद्यार्थीको हृदयघातबाट मृत्यु

जापानमा नेपाली विद्यार्थीको हृदयघातबाट मृत्यु


एक साताभित्रै तीन नेपालीको निधन

  • विशेष प्रतिनिधि, नागोया (जापान)

जापानको नागोया शहरमा एक नेपाली विद्यार्थीको हृदयघातबाट असामयिक निधन भएको छ ।

जापानी भाषा स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीको विद्यालय जाँदै गर्दा अचेत भएर ढलि उपचार गर्नेक्रममा निधन भएको हो ।

नेपाल ताप्लेजुङ सान्थाक्रा स्थायी घर भइ सन् २०२३ फेब्रुवरीमा जापानको नागोया सहरस्थित इओयु भाषा विद्यालयमामा अध्ययनको लागि आएका बच्चन केदेम लिम्बूको निधन भएको हो ।

जुन २३ तारिख शुक्रबार बिहान छात्रवासबाट विद्यालय जाने क्रममा रेल स्टेशन नजिक ढलेका १९ वर्षीय लिम्वूलाई तत्काल मिनातोकुस्थित चुवु रोसाई हस्पिटल लगिएको थियो । तर, अस्पतालका चिकित्सकले हृदयघातबाट उनको निधन भएको पुष्टि गरेका थिए ।

लिम्बु बिद्यार्थी भिसामा करिव ४ महिनाअघि मात्र जापान आएका थिए ।

लिम्बुको शव नेपाल पठाऊन आवश्यक पहलका लागि निजको विद्यालय एवं एनआरएनए नागोयाको संयुक्त पहलमा प्रयास भइरहेको एनआरएनए आइसिसीका सदस्य दीपक कार्कीले जानकारी दिएका छन् ।

जापानमा विभिन्न कारणले यो साता मात्र लिम्बुसहित तीन जना नेपालीको ज्यान गएको छ ।