बेल्जियमका व्यवसायी तथा कामदारहरूलाई अभिमुखीकरण तालिम

बेल्जियमका व्यवसायी तथा कामदारहरूलाई अभिमुखीकरण तालिम


  • सनत आचार्य, लुभेन (बेल्जियम)

बेल्जियममा रहेका नेपाली उद्योगी/व्यवसायीहरूको छाता संगठन नेपाली व्यवसायी संघ बेल्जियम र एसेर्टा बेल्जियमले बेल्जियममा रहेका नेपाली उद्योगी, व्यवसायी तथा कामदारहरूलाई व्यपार व्यवसाय तथा रोगजारीलाई व्यवस्थित र मर्यादित गराउन सोमबार लुभेनमा एक दिवसीय अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

तालिम कार्यक्रममा बोल्दै संघका अध्यक्ष चिरनकुमार खवासले व्यवसायीहरूको प्रेरणाले आफूहरूले यो कार्यक्रम आयोजना गरेको बताउँदै सबै संगठित भयौँ भने अझ बढी गर्न सकिने बताउनुभयो । अध्यक्ष खवासले आगामी दिनमा संघले ब्यवसायी र कामदारहरूको पक्षमा अझ बढी सशक्त भएर काम गर्ने आश्वासन पनि दिनुभयो । अध्यक्ष खवासले विदेशमा नेपालीहरूले गरेको लगानीलाई परिणाममूखी बनाउन संघले निरन्तर हातेमालो गरेर अघि बढ्ने आश्वासन दिनुभयो ।

कार्यक्रमको शुभारम्भमा संघका उपाध्यक्ष एव्म अभिमुखीकरण तालिमका संयोजक कासी दनैले यो कार्यक्रम बेल्जियमका विभिन्न क्षेत्रमा उद्मोग व्यवसाय संचालन गरिरहेका र गर्नेहरूका लागि लक्षित गरी तर्जुमा गरिएको जानकारी दिँदै यो कार्यक्रमले व्यवसायीहरूलाई मात्र नभै कामदारहरूका लागि समेत जानकारीमूलक भएको बताउनुभयो ।

उपाध्यक्ष दनैले संघले यस्तै प्रकारको तालिम पहिले पनि आयोजना गरेको र यो तालिमलाई अझै व्यापकता दिनु पर्ने सुझाव आएको हुँदा संघको बार्षिक कार्ययोजना अनुसार नै आफुहरूले यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

एसेर्टा कम्पनीका वरिष्ठ कानुन विशेषज्ञ युलीले बेल्जियममा काम गर्ने सबै कामदारहरूले अनिवार्य रुपमा कम्पनीहरूसंग सम्झौता गरेर काम शुरु गर्नु पर्ने र यदि नगरी काम गरेका पाइएमा सरकारले ६ महिनादेखि तीन बर्षसम्म जेल सजाय र अपराध ऐनअनुसार ४ हजार ८ सय देखि ४८ हजार युरोसम्म जरीवाना तथा २ हजार ४०० देखि २४ हजार युरोसम्म प्रशासनिक जरीवाना हुने हुँदा यसप्रति सजक हुनु पर्ने बताउनुभयो ।

उहाँले बेल्जियमको कानून अनुसार हप्तामा ३८ घण्टा भन्दा माथि काम गर्ने कामदारहरूलाई पूर्णकालिन कामदार (फुल टाइम) र त्यो भन्दा कम घण्टा काम गर्नेहरूलाई आंशिक कामदारको रुपमा लिएको धारणा राख्नुभयो ।

त्यसैगरी बेल्जियमको कानुनले उमेर पुगेकाहरूका लागि ६ घण्टा नियमित काम गरेपछि १५ मिनेट ब्रेक समय दिनु पर्ने र १८ बर्षमूनीकाले साढे चार घण्टा काम मात्र गर्ने पाउने बताउनु भयो । उहाँले कामदारहरूले ३५ घण्टा नियमित काम गरेपछि एउटा आईतवार बिदा पाउने नियम रहेको पनि बताउनुभयो ।

त्यस्तै, एसेर्टाका व्यापार विकास प्रवन्धकले कुनै पनि व्यवसाय शुरुगर्नु भन्दा पहिले बजार योजना, व्यापार योजना, लगानी, आय व्ययका लागि लेखा प्रणाली, आपूर्तीकर्ता लगायतका बिषयमा ध्यान दिन जरुरी भएको बताउँदै, कम्पनीको सुरक्षाका लागि विमा, कर जस्ता विषयमा पनि प्रष्ट हुनु पर्ने बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले आयोजक संस्थाका पदाधिकारी र सम्वन्धित विषयका बिज्ञहरूसंग प्रश्नोत्तर गरेका थिए र अधिकांस व्यवसायीहरूले व्यवसाय गर्दा झेल्नुपरेका समस्याहरूको बारेमा बढी प्रश्नोत्तर गरेका थिए ।

सहभागीहरूले कार्यक्रम अत्यन्त जानकारीमूलक भएकोले यो कार्यक्रम बेल्जियमका विभिन्न क्षेत्रहरूमा आयोजना गर्न सुझाव दिएका थिए ।

अभिमूखीकरण तालिममा ६ दर्जन भन्दा बढी व्यवसायी र कामदारहरूको सहभागिता रहेको र त्यसमा पनि महिलाहरूको संख्या उल्लेख्य मात्रमा रहेको थियो ।