‘कतार फिफा विश्वकप’का आप्रवासी श्रमिकहरूले अझै पाएनन् न्याय

‘कतार फिफा विश्वकप’का आप्रवासी श्रमिकहरूले अझै पाएनन् न्याय


आप्रवासी श्रमिकहरू शोषणमा पर्ने जोखिम रहेको बारेमा फिफा र विश्वकप आयोजक कतारलाई दिइएको चेतावनी र श्रमिकहरूले आफूप्रति भएको व्यवहारबारे गरेका उजूरी र विरोधका बाबजुद गत वर्षको विश्वकपका लागि सुरक्षा गार्डका रूपमा नियुक्त गरिएका सयौँ आप्रवासी श्रमिकहरूलाई उनीहरूले भोगेका दुर्व्यवहारमा अझै न्याय इन्कार गरिएको छ।

एम्नेस्टी इन्टरनेसनलले अप्रिल २०२२ मा ७० पृष्ठको एक प्रतिवेदन जारी गरी कतारको निजी सुरक्षा क्षेत्रमा विद्यमान प्रणालीगत र संरचनात्मक श्रम दुर्व्यवहारको बारेमा सजग गराइसकेको भएपनि विश्वकपमा गम्भीर श्रम दुर्व्यवहार भएको र त्यसलाई उचित रूपमा सम्बोधन नगरिएको एक अनुसन्धानले फेला पारेको छ।

‘विश्वकप आयोजकहरू यस मुद्दाका बारेमा राम्रोसँग जानकार थिए तर श्रमिकहरूले यी मुद्दाहरूलाई प्रत्यक्ष रूपमा उठाउँदा उठाउँदै पनि विश्वकप स्थलहरूमा श्रमिकहरूको सुरक्षा र अनुमानित श्रम दुर्व्यवहार रोक्ने सवालमा पर्याप्त उपायहरू लागू गर्न उनीहरू असफल भए’, एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भनेका छन् ।

‘प्रतियोगिता समाप्त भएको ६ महिना बितिसक्यो तर फिफा र कतारले दुर्व्यवहारमा परेका श्रमिकहरूलाई उनीहरूले पाउनु पर्ने न्याय र क्षतिपूर्ति प्राप्त गर्न सक्षम पार्न प्रभावकारी र पहुँचयोग्य योजना प्रस्ताव गर्न सकेका छैनन् । फिफाले अब श्रमिकहरूले भोगेका मानवअधिकार दुर्व्यवहारका लागि तत्काल र सार्थक उपचार प्रदान गर्नका लागि कदम चाल्नुपर्छ।’

कतारमा अवस्थित तेह्सीर सेक्युरिटी नाम गरेको एक कम्पनीले करारमा अनुबन्धित गराएको फिफा विश्वकप स्थलहरूमा कार्यरत मार्शल र सुरक्षा गार्डहरूले कामसम्बन्धी विभिन्न हानि र दुर्व्यवहारहरू भोगेका अनुसन्धानले देखाएको छ।

यसमा श्रमिकहरूले अवैध भर्ना शुल्क र अन्य सम्बन्धित लागतहरू तिरेको र उनीहरूको रोजगारीका शर्त र अवस्थाहरूबारे भ्रामक सूचना दिएको कुरा समावेश थियो। अस्थायी करारको अन्त्य भएपछि घर फर्कनुको विकल्प नभएको र कुनै पनि उपचार वा क्षतिपूर्तिको हक प्राप्त गर्न समेतबाट इन्कार गरिएको श्रमिकहरूले बताए ।

यसको अनुसन्धानका लागि एम्नेस्टी इन्टरनेसनलले नेपाल, केन्या र घानाका २२ जना मानिसहरूसँग कुरा गरेको थियो, जो तेह्सीरद्वारा छोटो अवधिको करारमा रोजगारत हजारौं आप्रवासी श्रमिकहरू मध्येका थिए। एम्नेस्टी इन्टरनेसनलले रोजगारी करार, काम प्रस्तावसम्बन्धी पत्राचार र श्रमिकहरू र भर्ना गर्ने एजेन्टहरू बीचको सञ्चारको आवाज रेकर्ड सहितका श्रव्य दृश्य सामग्रीहरू र मानवअधिकार समूह इक्विडेमले पहिले अन्तर्वार्ता लिएका अन्य श्रमिकहरूसँग सम्बन्धित जानकारीको पुनरावलोकन गरेको थियो जसले अरू धेरै श्रमिकले अनुभव गरेको यस्तै दुर्व्यवहारका आरोपहरूलाई पुष्टि गर्दछ।

अन्तर्वार्ता लिइएकाहरूले २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ बीचमा आयोजित खेल सुरू हुनुभन्दा अगाडिदेखि प्रतियोगिता र आयोजित कार्यक्रमको दौरानमा मार्शल र सुरक्षा गार्डको रूपमा काम गरेका थिए। उनीहरूलाई खलिफा अन्तर्राष्ट्रिय रंगशाला, फिफा फ्यान जोन, द कोर्निच र दोहाको सुक वाकिफ मेट्रोरेल स्टेसनको भित्रि र बाहिरी दुवै भागलगायतका विभिन्न स्थानहरूमा तैनाथ गरिएको थियो ।

अवैध भर्ना शुल्क र झुठा वाचाहरू

ती मानिसहरू सन् २०२२ को अक्टोबरको मध्यमा कतार आएका थिए र तीन महिना काम गर्नको लागि अनुबन्धित गरिएको थिए । उनीहरू सबैले काम पाउनका लागि भर्नासँग सम्बन्धित लागतहरू तिरेको बताए । १६ जनाले २०० अमेरिकी डलर भन्दा धेरै तिरेका सुनाए जसमा चार जनाले ६०० अमेरिकी डलर भन्दा बढी तिरेका थिए जुन उनीहरूको कुल अपेक्षित आम्दानीको एक तिहाई भन्दा बढी थियो।

यी लागतहरूमा कतिपयको लागि भर्ना गर्ने एजेन्सीका शुल्कहरू ३०० अमेरिकी डलर सम्म थिए र साथै उनीहरू कतार आउनुअघि मेडिकल जाँच, कोभिड(१९ परीक्षण र फौजदारी अभिलेख जाँच समेत समावेश थिए । घाना र केन्याका श्रमिकहरूमध्ये पाँचले उनीहरूले आफ्नो देशमा दुई हप्ताको प्रशिक्षण कार्यक्रममा भाग लिनको लागि यात्रा र बस्नको लागि ८५ देखि करिब ५० अमेरिकी डलर खर्च भएको जनाएका थिए र यस अवधिमा उनीहरूलाई तलब भुक्तानी गरिएको थिएन।

तेह्सीरले उनीहरूको लाग्ने लागतहरू फिर्ता गर्नेछ भनेर केही भर्ना गर्ने एजेन्टहरूले श्रमिकहरूलाई बताएका थिए र एम्नेस्टी इन्टरनेसनलले हेरेको रोजगार प्रस्ताव पत्रहरूले कम्पनीले भर्नासँग सम्बन्धित सबै खर्चहरू वहन गर्ने पुष्टि गरेको थियो । तर धेरैजसोले भनेका छन् कि तेह्सीरका प्रतिनिधिहरूले केही श्रमिकहरूलाई कतार आइपुगे लगत्तै आफूले भर्ना शुल्क बापत तिरेको रकमबारे व्यवस्थापनलाई पत्र लेख्न आग्रह गरे तापनि उनीहरूलाई यसको भुक्तानी गरिएको छैन ।

अन्तर्वार्ता लिइएका विशेषगरी मार्शलको रूपमा रोजगाररत एक तिहाईभन्दा बढी मानिसहरूले प्रत्येक दिन १२ घण्टा श्रम गर्नुपरेको र एक दिनको पनि बिदा नलिइ वा अतिरिक्त श्रमलाई प्रतिबिम्बित गर्नेगरी पर्याप्त पारिश्रमिक बिना लगातार ३८ दिनसम्म श्रम गरेको बताए जुन कतारी कानुनको उल्लंघन हुन्छ । उनीहरूको कामअन्तर्गत प्रायः धेरै घण्टासम्म नबसिकन उभिनुपर्ने र पर्याप्त प्रशिक्षण र सहयोग बिना खेल पछि ठूलो भीडसँग व्यवहार गर्न आवश्यक थियो।

सौक वाकिफ मेट्रोमा मार्शलको रूपमा काम गर्ने नेपालका २६ वर्षीय किरण (नाम परिवर्तन)ले भने, ‘त्यस क्षेत्रमा एउटा मेट्रो (स्टेसन)थियो र धेरै भीड भएकोले यो गाह्रो काम थियो। म दिनको १० देखि १२ घण्टासम्म उभिनु पर्थ्यो…, ब्यारिकेडहरूमा अडेस लगाएर । कहिलेकाहीं हामीलाई डर लाग्थ्यो किनभने यो धेरै व्यस्त थियो र मानिसहरूले धकेलिरहेका हुन्थे ।’

दुर्व्यवहारहरूको उजुरी

यी दुर्व्यवहारका कारण कतारमा रहँदा तेह्सीरका श्रमिकहरू धेरै अवस्थामा विरोध गर्न बाध्य भए। आफूले नोभेम्बरमा विश्वकपको गुनासो हटलाइनमा उनीहरूको व्यवहारको उजुरी गरेको तर त्यसउपर कुनै कारबाही नभएको कुरा केहीले एम्नेस्टी इन्टरनेसनललाई भने । गुनासो गरेको बदलामा एक प्रबन्धकले आफूलाई र अन्यलाई बर्खास्त गर्ने धम्की दिनुका साथै उनीहरूलाई फेरि यी विषयहरू रिपोर्ट नगर्न चेतावनी दिएको कुरा एक श्रमिकले बताए ।

जनवरीको प्रारम्भमा उनीहरूको सम्झौताको म्याद सकिनु भन्दा केही दिन अघि सयौं सुरक्षा गार्डहरूले उनीहरूलाई वाचा गरिएको तर भुक्तानी नगरिएको ओभरटाइम रकम र बोनस लगायतको बक्यौताको भुक्तानीको माग गर्दै विरोध प्रदर्शन गरे । सो विरोध पश्चात श्रमिकहरूलाई तेह्सीर र सरकार दुवैका प्रतिनिधिहरूले उनीहरूलाई क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गरे । तर उक्त प्रतिवद्धताको पालना भएको छैन ।

अन्तर्वार्ता लिइएका केहीका अनुसार तेह्सीरका प्रतिनिधिहरूले कम्पनीले व्यवस्था गरेको हवाई उडानमार्फत कतार नछोडे उनीहरूलाई अमुक ‘कारबाही’ गर्ने वा नयाँ हवाई टिकटको निम्ति उनीहरूले आफैँले रकम तिर्नुपर्ने धम्की दिए।

न्याय प्राप्तिको बाटो छैन

तेह्सीर र फिफालाई त्यस्तो दुर्व्यवहारको बारेमा जानकारी गराइएको भन्ने ती मानिसहरूको भनाइको बावजुद कुनै पनि संगठनले यी विषयहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न तथा श्रमिकहरूको लागि समयमै उपचार सुनिश्चित गर्न प्रभावकारी कदम चालेको देखिँदैन।

कतारले गुनासो संयन्त्र कार्यान्वयनमा ल्याएको छ तर कतारको श्रम अदालत र क्षतिपूर्ति योजनाउपर पहुँच हाँसिल गर्न श्रमिकहरू कतारमै रहेको हुनुपर्छ। दुर्गम तवरबाट गुनासो गर्ने कुनै तरिका नभएको र कतार छोड्नु बाहेकको अन्य विकल्प पनि नभएको अवस्थामा आप्रवासी श्रमिकहरूलाई न्याय इन्कार गरिएको छ।

सन् २०१० मा विश्वकप आयोजना गर्न फिफाले कतारलाई छनौट गरेदेखि नै सुरक्षा गार्डहरूले सहनुपर्ने दुर्व्यवहारहरू आप्रवासी श्रमिकहरूले कतारमा भोग्नुपरेको हानिको स्वरूपको एक हिस्साको रूपमा रहेको छ। लाखौँ आप्रवासी श्रमिकहरूले अवैध भर्ना शुल्क तिरेका छन् वा उनीहरूको ज्याला रोकिएको छ र त्यस विषयमा उनीहरूले न्याय पाएका छैनन् । रङ्गशाला र पुर्वाधार निर्माण गर्न सहयोग गरेका अर्थात प्रतियोगिता सम्पन्न गर्न योगदान पुर्याएका धेरैले ज्यान गुमाएका छन् र उनीहरूका परिवारलाई अझै पर्याप्त क्षतिपूर्ति दिइएको छैन। कतिपयलाई त केही पनि क्षतिपूर्ति नदिइएको अवस्था छ।

कतार र फिफाले कतारको विद्यमान प्रक्रिया पर्याप्त नै रहेको भनी जोड दिँदै न्याय प्राप्तिका निम्ति पर्याप्त संयन्त्र स्थापना गर्न सकेको छैन। मार्च २०२३ मा फिफाले आफ्नो मानवअधिकार उपसमितिले श्रम दुर्व्यवहारको उपचारको प्रश्नलाई समेत सम्बोधन गर्ने गरी उक्त प्रतियोगिताको मानवअधिकार विरासतको मूल्याङ्कन गर्ने घोषणा गर्‍यो।

‘न्यायको निम्ति कतारको विद्यमान संयन्त्र’ उद्देश्य सार्थकु छैन र त्यसले हजारौं श्रमिकहरूलाई उनीहरूले भोगेको दुर्व्यवहारको क्षतिपूर्तिबाट वञ्चित गरेको छू, स्टिभ कक्बर्नले भने।

‘आफ्नो प्रदर्शनीयुक्त प्रतियोगिताको तयारी गर्ने र प्रस्तुती गर्ने क्रममा संलग्नहरूको आपूर्ति शृङ्खलाभरी मानवअधिकारको सम्मान हुनुपर्ने कुराको सुनिश्चितता गर्नुपर्ने फिफाको स्पष्ट जिम्मेवारी रहेको छ। विश्वकप भएको छ महिना बितिसक्दा पनि फिफाले यस विषयमा अहिलेसम्म न त प्रभावकारी रूपमा छानबिन गरेको छ, न त उसले कुनै उपचारको प्रस्ताव गरेको छ। श्रमिकहरूले न्यायको लागि धेरै नै समय पर्खिसकेका छन्।’

  • एम्नेस्टी इन्टरनेसनल