पूर्वपरराष्ट्रमन्त्री डा. खड्का र पोल्याण्डका पूर्वराष्ट्रपति वालेसाबीच भेटघाट

पूर्वपरराष्ट्रमन्त्री डा. खड्का र पोल्याण्डका पूर्वराष्ट्रपति वालेसाबीच भेटघाट


नेपाल-पोल्याण्ड सम्बन्धमा विविध पक्षबारे छलफल

युरोप भ्रमणमा रहेका पूर्वपरराष्ट्रमन्त्री एवम् संघीय सांसद डा. नारायण खड्का र पोल्याण्डका पूर्वराष्ट्रपति एवम् सन् १९८० को दशकमा पोल्याण्डको एकदलीय अधिनायकवादी व्यवस्थाविरुद्धका चर्चित मजदूर आन्दोलनको नेतृत्व गरेका नोवेल पुरस्कारप्राप्त लेक वालेसाबीच भेटघाट भएको छ ।

पोलेसाले नेतृत्व गरेको विश्वमै चर्चित ‘सोलिडारिटी मुभमेन्ट’को पोल्याण्डमा मात्रै नभएर पूर्वी युरोपमै एकदलीय अधिनायकवादी व्यवस्थाको अन्त्य गर्दै बहुदलीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न महत्वपूर्ण भूमिका थियो । भेटमा पूर्वराष्ट्रपति वालेसाले आफै क्रान्ति अथवा परिवर्तनको पक्षपाती भएको बताएका नेता खड्काले जानकारी दिएका छन् ।

वर्तमान विश्वले भोगेको समस्याको समाधान हुन नसक्ने वालेसाको धारणा रहेको जानकारीसहित पूर्वराष्ट्रपति वालेसाको भनाइ उद्धृत गर्दै डा. खड्काले जानकारी दिएअनुसार शान्ति, लोकतन्त्र र समृद्धिको सवालमा युक्रेनमाथि रुसको हमलाले विश्व अहिले असुरक्षित रहेको र, यसले ठूलो चुनौती थपेकोे छ । त्यस्तै, उनले अहिले कतिपयले भनेजस्तो समाजवादले पनि समानता तथा न्याय दिन सकेन र पूँजीवादले पनि आशातीत अपेक्षाहरू पूरा गर्न असमर्थ हुँदा प्रजातन्त्रवादी देशहरूमा धार्मिक कट्टरपन्थी तथा दक्षिणपन्थीहरू हाबी हुँदै गएकोले थप समस्या आएको चर्चा गरे ।

भेटमा नेपाल–पोल्याण्ड सम्बन्धका विविध पक्षहरूमा समेत छलफल भएको जानकारी डा. खड्काले दिए । उनले पूर्वराष्ट्रपति वालेसालाई नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री डा. खड्काले पोल्याण्डका विदेश राज्यमन्त्री वोचियच गेरवेलसँग पनि नेपाल-पोल्याण्डबीच दुई पक्षीय हितका विषयमा लामो छलफल गरेका छन् । उक्त भेटघाटमा पोल्याण्डका लागि नेपालका वाणिज्यदूत डा. बोधराज सुवेदीको पनि उपस्थिति रहेको थियो ।