ग्रेटर नेपालको नक्सा र नारा !

ग्रेटर नेपालको नक्सा र नारा !


हो, भारत र नेपालबीच सांस्कृतिक समानता छ, एकअर्काको इतिहास र सम्पदाप्रति हामी दुवै देशका बासिन्दा गौरव महसूस गर्छौं । तर बुद्ध नेपालमा जन्मिएको विषयलाई लिएर उत्पन्न तनाव शिथिल नहुँदै भारतको सांस्कृतिक नक्सामा लुम्बिनी र कपिलवस्तु प्रकट हुँदा नेपालीहरू झस्किएका छन्, समयमै यसबारे दुवै मुलुक स्पष्ट हुने परिस्थिति निर्माण गर्न आवश्यक छ ।
✍ देवप्रकाश त्रिपाठी

अस्तित्व सत्य या भ्रम जे भएपनि हरेक अस्तित्वको इतिहास हुन्छ । सृष्टिमा जे-जति अस्तित्व बोध हुन्छन् यी सबैको आ-आफ्नै कारण र इतिहास छन् । अस्तित्वहरूमध्ये देशको अस्तित्वलाई आधुनिक विश्वले सर्वाधिक महत्वपूर्ण मान्दै आएको छ, र अस्तित्वको उत्पत्ति र रक्षाका क्रममा संसारमा धेरै ठूला युद्ध भए र, अझै हुँदैछन् । दार्शनिक दृष्टिमा जीवन भ्रम हो र, देश पनि केवल भ्रम मात्र हो । जुन तथ्य मानिसको स्वीकार या अस्वीकारमा निर्भर रहन्छ त्यो भ्रम हो र, जुन तत्व मानिसको स्वीकार या अस्वीकारसँग सरोकार राख्दैन त्यो सत्य हो । यस अर्थमा सूर्य सत्य हो, उज्यालो सत्य हो, हामीले आँखा चिम्लिएर अँध्यारो माने पनि सूर्य चम्किरहेको हुन्छ र, उज्यालो छरिरहेको हुन्छ । पृथ्वी सत्य हो, हामीले स्वीकार या अस्वीकार जे गरेपनि एउटा पिण्डका रूपमा यसको अस्तित्व रहिरहेको हुन्छ । तर देशको अस्तित्व मानिसले स्वीकार गरिन्जेलसम्मका निम्ति मात्र कायम रहन्छ, यस अर्थमा देशलाई केवल भ्रम मान्ने मत पनि अस्तित्वमा छ ।

तर देश एउटा यस्तो भ्रम हो जसको अस्तित्व ब्यक्तिको सम्पूर्ण जीवनसँग गासिएको हुन्छ । वर्तमान विश्वमा देश या राज्यबिनाका मानिसको कल्पनासम्म गरिँदैन । आफ्नो अस्तित्वप्रति अपनत्व र गौरव बोध गर्ने हरेक ब्यक्ति देशसँग सम्बन्धित छन् र, देशको अस्तित्वसँग आफ्नै अस्तित्व निहित रहेको ठान्दछन् । आधुनिक विश्वले हरेक ब्यक्तिलाई संसारको कुनै पनि भू-भागमा गएर बसोबास गर्ने या कुनै पनि मुलुकको नागरिकता ग्रहण गर्ने कानूनसम्मत अधिकार स्वीकार गरेको छ । तर देश छोडेर जानेले पनि अर्को एउटा देशलाई शिरोधार्य गर्नुपर्ने हुन्छ । जन्मिएको देश र धारण गरिएको देशबीच अनुभूतिजन्य अन्तर हुन सक्छ, तर जे भएपनि हरेक मानिस देशको अस्तित्व स्वीकार गर्न बाध्य छन् । सुदूर भविष्यमा देशको अस्तित्व अस्वीकार हुँदै जान पनि सक्ला, तर वर्तमान देशको अस्तित्वकै पक्षमा उभिएको छ, त्यसैले देशको नाममा गौरव गर्ने गरिन्छ ।

आफ्नो देश सबैलाई प्यारो हुन्छ, बाबुआमाको हेरविचार गरेर घरमै बस्ने सन्तानलाई भन्दा विवाह गरेर परायाघर पुगेकी चेलीलाई माइतीघरको माया बढी हुन्छ र, माया बढी हुने भएकैले देशलाई माइती ठान्नेहरूको हातमा देश जिम्मा लगाउनुपर्छ भन्ने मान्यतासहित एकथरी नेपाली जोडतोडका साथ लागिपरेका छन् । सामाजिक मान्यताअनुरुप छोरीहरू विवाह गरेर अर्कै घरमा पुग्छन्, उनीहरूले आफ्नो भविष्य सोही घरमा देखिरहेका या खोजिरहेका हुन्छन् । भविष्य सूरक्षित देखिएन भने उनीहरू अर्को घर खोज्न या माइतीघर फर्कन सक्छन् । नेपालमा पछिल्लो समय देशलाई घरभन्दा माइती ठान्नेहरूको बोलवाला बढ्दै गएको छ । तथापि, देशलाई घर ठान्ने र माइती ठान्ने दुवैथरी मानिसको मन र मष्तिष्कमा देश रहने गर्दछ ।

नेपाल संसारका पुराना देशहरू मध्ये पर्दछ । पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण गर्नुअघि पनि नेपाल देश थियो, कहिले खुम्चिएको त कहिले फैलिएको अवस्थामा थियो । तर नेपाल हजारौँ वर्ष अघिदेखि अस्तित्वमा रहेको प्रामाणिक तथ्यहरू छन् । नेपाल वर्तमान सीमाभित्र सीमित हुनुभन्दा ठीक अगाडि यसको बिस्तारित रूप पश्चिममा काँगडा, पूर्वमा टिष्टा, उत्तरमा हिमालय र दक्षिणमा गङ्गाको मैदानसम्म फैलिएको थियो । तत्कालीन शासक भीमसेन थापाले अहिलेका जिलेन्स्कीले झैँ आवेगी नबनेर जङ्गबहादुर राणाले जस्तै कुटनीतिक सुझबुझ देखाउन सकेका भए नेपाल सोही रूपमा रहिरहन असम्भव थिएन । तर भीमसेन थापाको मति सायद ठेगानमा रहेन, उनले विश्व-अधिपतिसँग समयोचित व्यवहार गर्न नसक्नुको परिणाम वर्तमान नेपालभन्दा पनि केही सानो नेपाल हामीलाई मिलेको हो । थापाको समयमा हामीले कुल एक लाख पाँच हजार वर्ग किलोमीटर जमिन गुमाएका थियौँ । पछि जङ्गबहादुर राणाको कुटनीतिक चातुर्यको परिणामका रूपमा हामीले केही भूभाग फिर्ता पाएका हौँ, जसलाई अहिले बाँके, बर्दिया, कैलाली र कन्चनपुरका रूपमा चिनिन्छ । तत्कालिन शासकद्वारा ब्रिटिष भारतसँग युद्ध नगरिकन कुटनीतिक सम्झौतामार्फत समाधान खोजिएको भए पनि आजको भन्दा धेरै ठूलो नेपाल अस्तित्वमा रहन सम्भव थियो । कारण जेसुकै भएपनि ऐतिहासिक घटना सन्दर्भले हामीलाई महाकालीदेखि मेचीसम्मको भू-क्षेत्रमा सीमित गरिदिएको छ र, हामी यही आकारको नेपालमा चित्त बुझाउन र रमाउन विवश छौँ ।

हो, यतिबेला बिक्ने कुराचाहिँ आवेगकै हो, सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता पाउनुपर्छ भन्ने नारा लगाउँदा जति चर्चित र लोकप्रिय होइन्छ त्यति नै अलोकप्रिय त्यस्तो नारा नबोक्नेहरू हुन्छन्/बन्छन् । प्रश्न लोकप्रिय बन्ने कि नबन्ने होइन, हाम्रो वर्तमान भूभाग जोगाउने कि नजोगाउने भन्ने हो ! नयाँ-नयाँ विवाद र झमेला थपेर भारतसँगको सीमा सन्धी पन्छाउँदै जानु देशभक्ति हो कि दुईपक्षीय विवादहरू चाँडै टुङ्ग्याएर देशको अस्तित्व रक्षा गर्नुचाहिँ देशभक्ति हो भन्ने विषयमा हरेक नेपालीले गम्भीर भएर सोच्नु उपयुक्त हुनेछ ।

अङ्ग्रेजले नै एकीकरण गरिदिएको भएपनि भारतको बिस्तार आजको पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलङ्कासम्म भएको थियो । कालान्तरमा भारत पनि आजको आकारमा खुम्चिएको हो । कम्तिमा पनि पाकिस्तान र बङ्लादेशलाई समेटेर अखण्ड भारतको स्थापना गर्ने सपना भारतीय राष्ट्रवादीहरूले देखेका छन् भने कठिन भएपनि त्यस्तो देख्नु अस्वाभाविकचाहिँ होइन । अङ्ग्रेजले टुक्र्याइदिएको भारतलाई पुनः जोड्ने इच्छा र योजना भारतभित्र प्रकट भएको छ भने त्यसलाई अतिरन्जना या अवान्छित परिकल्पना ठान्नु नपर्ला । भारत पुनः एकीकरण हुँदा भारतीय जनता र नेतृत्व अङ्ग्रेजद्वारा खोसिएको नेपाली भूभाग नेपाललाई नै फिर्ता गर्न तत्पर भए भने त्यो स्वागतयोग्य हुनसक्छ । देशका रूपमा आजको भारतभन्दा नेपाल धेरै पुरानो भएकोले पनि अखण्डित भारतले नेपालको भूभाग फिर्ता गर्ने सदाशयता दर्शायो भने त्यसलाई अत्यन्तै पुण्यकर्म मान्न सकिन्छ ।

आज विश्वमा जुन आकार-प्रकारका देशहरू अस्तित्वमा छन्, हिजो यस रूपमा थिएनन् र, भोलि अर्कै रूपले अस्तित्वमा देखापर्न सक्छन् । हिजो अमेरिका बेलायतको अधीनस्थ थियो, अनेक राज्यमा विभाजित थियो । जार साम्राज्य अलास्कासम्म फैलिएको थियो र, सोभियत सङ्घको रूपमा पृथ्वीको चौथाइ क्षेत्रफल रसियाले ओगटेको थियो । मंगोलियाका चङ्गेज खाँले पूरा चीन र आसपासका भूभाग समेटेर विशाल राज्य खडा गरेका थिए । नेपोलियनले आजको फ्रान्सलाई धेरै टाढासम्म बिस्तार गरेका थिए । आज सबैले आ-आफ्ना बिस्तारित रूपको दाबी गर्न थाल्ने हो भने विश्वमा कस्तो परिस्थिति उत्पन्न होला ? पहिलो र दोस्रो विश्वयुद्धभन्दा त्यस्तो अवस्थाको युद्ध कति घातक हुनसक्ला ? अनुमान गर्न सकिन्छ । दोस्रो विश्वयुद्धयताको संसारलाई तुलनात्मक रूपमा स्टेबल मानिन्छ, यो स्थायित्वले निरन्तरता नपाउनु भनेको अर्को भयङ्कर युद्ध निम्त्याउनु हो ।

आफ्नो देशको आकार बढोस्, समृद्धि र प्रतिष्ठा बढोस् भन्ने इच्छा र कामना कुन देशभक्त राष्ट्रवादीमा नहोला !? यस अर्थमा नेपालीले ग्रेटर नेपालको सपना देख्नु गल्ती होइन, तर हाम्रो यस्तो सपना कति उपयोगी र सम्भव हुनसक्छ भन्नेतर्फ हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । भीमसेनको आवेगले आधा नेपाल गुम्यो, हाम्रो आवेगका कारण बाँकी नेपाल नगुमोस् भन्नेतर्फ हामी सचेत रहन आवश्यक छ ।

उत्तरको छिमेकी मुलुक चीनसँग हाम्रो सीमानासम्बन्धी सन्धि भइसकेको छ, तर भारतसँग अहिलेसम्म सीमा सन्धि हुनसकेको छैन । कालापानी र सुस्ता क्षेत्रको सीमा विवादका कारण भारतसँग सन्धि हुन नसकेको जानकारी हामी सबैलाई छ । ती स्थानका निम्ति उत्पन्न विवादको समाधान कुटनीतिक प्रक्रियाद्वारा खोज्ने सुस्त रूपमै भएपनि प्रयास भइरहेको पृष्ठभूमिमा विवाद र समस्या शीघ्रातिशीघ्र ‘रिड्युस’ गर्दै सीमासम्बन्धी सन्धिको वातावरण बनाउनुपर्ने बेला हामी विवाद र तनावका नयाँ ढोका खोल्छौँ भने त्यसको सिधा अर्थ भारतसँगको सीमा सन्धी पन्छाउँदै जान चाहन्छौँ भन्ने हुन्छ । भौगोलिक रूपले सम्वेदनशील र आकारमा साना मुलुकहरूका निम्ति आफ्नो अस्तित्व रक्षा सर्वाधिक महत्वपूर्ण हुनेगर्छ । नेपालजस्ता कुनै पनि मुलुकले सीमासम्बन्धी विषयलाई जति चाँडै टुङ्ग्याउन सक्छन् त्यति नै तिनको अस्तित्व जोगिन सम्भव हुन्छ ।

अङ्ग्रेजले टुक्र्याइदिएको भारतलाई पुनः जोड्ने इच्छा र योजना भारतभित्र प्रकट भएको छ भने त्यसलाई अतिरन्जना या अवान्छित परिकल्पना ठान्नु नपर्ला । भारत पुनः एकीकरण हुँदा भारतीय जनता र नेतृत्व अङ्ग्रेजद्वारा खोसिएको नेपाली भूभाग नेपाललाई नै फिर्ता गर्न तत्पर भए भने त्यो स्वागतयोग्य हुनसक्छ । देशका रूपमा आजको भारतभन्दा नेपाल धेरै पुरानो भएकोले पनि अखण्डित भारतले नेपालको भूभाग फिर्ता गर्ने सदाशयता दर्शायो भने त्यसलाई अत्यन्तै पुण्यकर्म मान्न सकिन्छ ।

भारतमा अखण्ड भारतको नारा लागेको छ भने त्यो अस्वाभाविक होइन, भारत स्वतन्त्र हुने क्रममा विभाजित भूभागलाई पुनः एकीकृत तुल्याउने तिनको सपना नाजायज पनि नहोला । भारत मात्र होइन स्वतन्त्रतासँगै विभाजित कोरिया प्रायदीपको पुनः एकीकरणलाई पनि हामीले वान्छनीय ठान्नुपर्दछ र, चीनबाट उछिट्टिएको ताइवान चीनमा समेटिने कुरालाई पनि हामीले स्वागतयोग्य मान्नुपर्छ । तर, भारतले आफ्नो संसद् भवनमा कुनै नक्सा राखेकै आधारमा हामी उत्ताउलिनु र आवेगमा आएर प्रतिक्रियात्मक व्यवहार दर्शाउनु नेपालको हितमा नहुनसक्छ । हो, यतिबेला बिक्ने कुराचाहिँ आवेगकै हो, सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता पाउनुपर्छ भन्ने नारा लगाउँदा जति चर्चित र लोकप्रिय होइन्छ त्यति नै अलोकप्रिय त्यस्तो नारा नबोक्नेहरू हुन्छन्/बन्छन् । प्रश्न लोकप्रिय बन्ने कि नबन्ने होइन, हाम्रो वर्तमान भूभाग जोगाउने कि नजोगाउने भन्ने हो ! नयाँ-नयाँ विवाद र झमेला थपेर भारतसँगको सीमा सन्धी पन्छाउँदै जानु देशभक्ति हो कि दुईपक्षीय विवादहरू चाँडै टुङ्ग्याएर देशको अस्तित्व रक्षा गर्नुचाहिँ देशभक्ति हो भन्ने विषयमा हरेक नेपालीले गम्भीर भएर सोच्नु उपयुक्त हुनेछ ।

हामीलाई थाहा छ, भारत गुलामीमूक्त भएको पौने एक शताब्दी मात्र भएको छ । त्यसमाथि भारत साँचो अर्थमा स्वतन्त्र र स्वाभिमानी बन्न थालेको भारतीय सत्तामा नरेन्द्र मोदीको उदयपश्चात् मात्र हो भन्ने निष्कर्ष निकालियो भने त्यो अत्युक्ति हुनेछैन । सन् २०१४ मा नरेन्द्र मोदीले भारतको सत्ता सम्हालेयता भारतमा राष्ट्रिय जागरण र सांस्कृतिक पुनरुत्थानको अभियान प्रारम्भ भएको छ । भारतले भारतीय संस्कृति, सभ्यता र आफ्नो मौलिक इतिहासमा गौरव गर्ने परिस्थिति मोदीले निर्माण गरिदिएका छन् । छिमेकमा एउटा सच्चा राष्ट्रवादीको सत्ता स्थापित हुनु हाम्रानिम्ति पनि खुशीको विषय हुनसक्छ, हुनुपर्छ । राष्ट्रवादीहरूले मात्र अर्काको राष्ट्रियता र राष्ट्रवादको मर्म बुझ्न सक्छन् । नेपाली राष्ट्रियता र राष्ट्रवादको मर्म बुझ्ने क्षमता नरेन्द्र मोदी र उहाँको पार्टीका नेता-कार्यकर्तामा नरहेको ठान्नु गल्ती हुनसक्छ । आफ्ना सम्पदा, संस्कृति र इतिहासप्रति गौरवभाव जनाउन भारतले संसद् भवनमा आफ्नो सांस्कृतिक नक्सा राख्नु स्वभाविक हो, तर त्यसमा लुम्बिनी र कपिलवस्तु समेतलाई प्रस्तुत गर्दा त्यसले नेपालमा उत्पन्न हुने प्रतिक्रियाप्रति भारतीय संस्थापन असम्वेदनशील देखिन पुगेको छ ।

हो, भारत र नेपालबीच सांस्कृतिक समानता छ, एकअर्काको इतिहास र सम्पदाप्रति हामी दुवै देशका बासिन्दा गौरव महसूस गर्छौं । तर बुद्ध नेपालमा जन्मिएको विषयलाई लिएर उत्पन्न तनाव शिथिल नहुँदै भारतको सांस्कृतिक नक्सामा लुम्बिनी र कपिलवस्तु प्रकट हुँदा नेपालीहरू झस्किएका छन्, समयमै यसबारे दुवै मुलुक स्पष्ट हुने परिस्थिति निर्माण गर्न आवश्यक छ । तर भारतले असावधानीवश कुनै गल्ती गऱ्यो भन्दैमा हामीले महागल्ती गर्नु विपत्तिको कारण बन्न सक्छ । ग्रेटर नेपालको राजनीतिक नक्सा ऐतिहासिक दृष्टिले जायज भएपनि त्यसैमा झुण्डिन खोज्दा हामी आफ्नो अस्तित्वरक्षा गर्न समर्थ हुन्छौँ या हुँदैनौँ भन्नेतर्फ हरेक नेपालीले गम्भीर भएर सोच्न आवश्यक छ । भुइँको टिप्न खोज्दा खल्तीको सामान खस्न सक्छ भन्ने उखानको चरितार्थ नहोस्, जय मातृभूमि !