बेल्जियममा ‘राजु लामा सांगीतिक साँझ’ आयोजना हुँदै

बेल्जियममा ‘राजु लामा सांगीतिक साँझ’ आयोजना हुँदै


  • सनत आचार्य, बेल्जियम

बेल्जियममा ‘राजु लामा सांगीतिक साँझ’ आयोजना हुने भएको छ । मादल इन्टरटेन्मेन्ट बेल्जियमद्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा गायक राजु लामाले दर्जनौँ कर्णप्रिय गीत प्रस्तुत गरी बेल्जियममा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने आयोजक संस्थाका संस्थापक अजित तुलाचनले बताएका छन् ।

संस्थापक तुलाचनका अनुसार कार्यक्रम बेलुकी ६ बजेर ३० मा क्लब इकोन आन्तर्पेनमा हुने छ भने उक्त कार्यक्रममा सहभागिताका लागि गीत-संगीतप्रेमी दर्शक-श्रोताले अनलाइन टिकट लिनुपर्नेछ ।

कार्यक्रमको शुभारम्भमा राजु लामाको उत्कृष्ट प्रस्तुति रहने र उक्त कार्यक्रममा स्थानीय कलाकार लाहुरे कान्छा पनि सहभागी भइ कार्यक्रमलाई थप रोचक बनाउनेछन् भने डिजेमा बेलायतका अमित रहने आयोजक अभिषेक तुलाचनले जानकारी दिए ।

पहिलो चरणको सांगीतिक कार्यक्रमपश्चात डिजे पार्टीसमेत हुने र पार्टीमा सबैले खुलेर मनोरञ्जन गर्न सक्ने आयोजक पक्षको भनाइ छ ।

मादल इन्टरटेन्मेन्ट बेल्जियमका संगीतप्रेमी केही युवाहरूले स्थापना गरेको संस्था हो । पछिल्लो समयमा संस्थाले ‘जारी’, ‘छक्कापञ्जा-४’ लगायतका सिनेमा तथा अन्य चिरपरिचित कलाकारहरू बोलाएर बेल्जियमको नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्दै आएको छ ।

यसरी प्रदर्शनीबाट उठेको निश्चित रकम च्यारिटीमार्फत नेपालमा फरक क्षमता भएकाहरूको समुहका मानिस तथा ग्रामीण भेकमा शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चितहरुलाई आर्थिक तथा अन्य सहयोग गर्दै आएकोले पनि आफूहरूले पुनः यो कार्यक्रम आयोजना गर्न लागेको आयोजक शिव सिग्देलले बताए ।

आयोजकले यसलाई बेल्जियमको सबैभन्दा ठुलो सांगीतिक कार्यक्रको संज्ञासमेत दिएका छन् ।