बेल्जियमवासी नेपाली व्यवसायीका लागि अभिमुखीकरण तालिमको तयारी

बेल्जियमवासी नेपाली व्यवसायीका लागि अभिमुखीकरण तालिमको तयारी


  • सनत आचार्य, बेल्जियम

नेपाली व्यवसायी संघ बेल्जियमले नयाँ तथा पुराना व्यवसाय संचालनका लागि आवश्यक कानूनी र नीगित विषयमा जानकारी दिने उद्देश्यले यही जुन १९ सोमबार लुभेनमा एकदिवसीय अभिमुखीकरण तालिम आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष चीरनकुमार खवासका अनुसार बेल्जियममा नयाँ व्यवसाय शुरु गर्न चाहनेहरू र व्यवसाय संचालन गरिरहेका व्यवसायीहरूलाई भाषा, सूचना र समन्वयको अभावका कारण कतिपय जान्नैपर्ने नीति-नियमहरुबारे जानकारीको कमी भएकोले जटिलता उत्पन्न भएको अवस्थाप्रति मध्यनजर गर्दै संघले सम्बद्ध पक्षकै आग्रहमा तालिम आयोजना गर्न लागेको बताउनुभयो । यस तालिमले नयाँ व्यवसाय गर्न इच्छुक र गरिरहेका व्यवसायीलाई निकै लाभ पुग्ने अध्यक्ष खवासको भनाइ छ ।

अध्यक्ष खवासका अनुसार व्यवसायीहरू लगानी, बजार, बजारको अवस्था, कामदार र सरकारी नीति-नियमका बारेमा जानकारी नहुँदा लगानी उठाउन नसक्ने अवस्था र, कतिपय व्यवसायीले लगानी गरेको केही महिनाभित्रै व्यापार बन्द गर्ने समेत देखिएको हुँदा यस्तो परिस्थितिमा सरकारी तवरबाट पाउनुपर्ने सेवा-सुविधा के-कस्ता छन् भन्ने सम्बन्धमा समेत जानकारी प्रदान गरिने छ । बेल्जियमका नेपाली व्यवसायीलाई तालिममा सहभागि भइ लाभ लिन उहाँले आग्रहसमेत गर्नुभएको छ ।

त्यसैगरी संघका उपाध्यक्ष तथा तालिम कार्यक्रमका संयोजक कासी दनैले पछिल्लो समय युरोपका विभिन्न देशबाट बेल्जियम आउने नेपाली व्यवसायीहरूको संख्या बढ्दो देखिएको हुँदा उहाँहरूलाई समेत व्यवसायमा कसरी आवद्ध गराउन सकिन्छ भन्ने सोचअनुसार पनि संघले यो कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो ।

उपाध्यक्ष दनैले तालिमममा व्यवसायका लागि आवश्यक पर्ने कानूनी पक्ष, लगानी, कोरोना महामारी र रुस-युक्रेन युद्धपश्चात देखापरेको आर्थिक अवस्था र करलगायतका विविध विषयहरुमा पनि छलफल गरिने जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले व्यापार-व्यवसाय गर्दा कस्ता–कस्ता सम्झौताहरू आवश्यक हुन्छन्, यसको अर्थ के हुन्छ र त्यस्ता सम्झौताहरूबाट सम्बन्धित पक्षलाई के-कस्ता लाभ हुन्छ भन्ने विषयमा पनि जानकारी दिने उल्लेख गर्नुभयो ।

तालिममा व्यवसायीहरूले कामदारहरूलाई के-कस्ता सुविधा प्रदान गर्ने र त्यसवापत सरकारी छुटको व्यवस्था लगायतका विषयमा जानकारी दिने भएकोले यो तालिम बेल्जियमका व्यवसायीहरूका लागि अत्यन्तै प्रभावकारी हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यवसायी तथा व्यक्तिले संघको वेबसाइडमा गएर सामान्य सूचना प्रविष्ट गर्नुपर्ने र सोहीअनुसार सहभागी गराइने आयोजक पक्षले जानकारी दिएको छ ।