काङ्ग्रेसले बीपीवाद बिर्संदा समस्या निम्तियो : रवि न्यौपाने

काङ्ग्रेसले बीपीवाद बिर्संदा समस्या निम्तियो : रवि न्यौपाने


रवि न्यौपाने केसी नेपाली काङ्ग्रेस झापा क्षे.नं. ५ (ख) का सभापति हुन् । यसका अलावा उनीसँग निम्स नेशनल अस्पताल सञ्चालक समितिको सदस्य, स्वर्ण-लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, दमक उद्योग वाणिज्य संघको सल्लाहकार, दमक लखनपुर भेट्रान्स क्लबको संस्थापक अध्यक्ष, ध्रुवतारा स्पोटिङ क्लबको सञ्चालक, बीपी चिन्तन प्रतिष्ठान झापाको सचिवालय सदस्य, नेपाली काङ्ग्रेस झापा जिल्ला कार्य समितिको सदस्यलगायतका विविध राजनीतिक एवम् सामाजिक जिम्मेवारीहरू कुशलतापूर्वक बहन गरेको अनुभवसमेत छ । उनीसँग घटना र विचारका विशेष सम्वाददाता श्यामकृष्ण लम्सालद्वारा गरिएको कुराकानी :

० हिजोआज के-कस्ता काममा ब्यस्त हुनुहुन्छ ?
– नेपाली काङ्ग्रेसको सङ्गठन बिस्तार, सुदृढीकरण एवम् सामाजिक एवम् व्यवसायिक कामहरूलाई नै समय दिइरहेको छु ।

० झापा क्षेत्र नं. ५ मा काङ्ग्रेसको साङ्गठनिक स्थिति कस्तो छ नि ?
– जनताले माया गरेको अवस्था रहँदारहँदै पनि नेतृत्वको चलायमान हुने सवालमा रहेका केही कमी-कमजोरीका कारण विगतमा केही कुरामा असहज अवस्था नै थियो, ती कमी-कमजोरीहरू सच्याउँदै अगाडि बढ्दै जाँदा केही सुधारात्मक अवस्था सिर्जना भएको छ ।

० तपाईं प्रदेश सभापति भएपछि के-के कुरामा सुधार आयो त ?
– विगतमा दमक नगरपालिकामा ने.का.को उपस्थिति शुन्य अवस्था रहेको थियो । म प्रदेश सभापति भएपछि भएको स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा उपमेयरसहित दुई जना वडा अध्यक्ष विजयी बनाउन सफल भइयो । विगतमा साङ्गठनिक रूपमा काङ्ग्रेस कमजोर रहँदै आएको कमल गाउँपालिकामा अध्यक्षसहित बहुमत हाम्रो पार्टीको छ । यी नतिजाहरूले यस क्षेत्रमा विशेषगरी मैले नेतृत्व गरेको ठाउँमा काङ्ग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको कुराको झल्को दिन्छ । यसका साथै दमक बहुमुखी क्याम्पस, सञ्चालक र स्ववियू, दमक उधोग वाणिज्य संघ नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा दमक खानेपानी लगायतका दर्जनौँ स्थानहरूमा हाम्रो विचारसँग सहमति राख्ने साथीहरूको नेतृत्वदायी भूमिका रहनुले नेपाली काङ्ग्रेस हामीले नेतृत्व गरेपश्चात फष्टाएको अनुभूति साथीहरूले गर्ने गर्नुभएको प्रतीत हुन्छ ।

० स्थानीय तहका कार्य सम्पादनसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– स्थानीय तहले स्थानीय समस्याहरू पहिचान गर्दै राज्यको पहुँचबाट टाढा रहेका जनतालाई राहतको अनुभूति दिलाउने कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । खासगरी विपन्न वर्ग सिमान्तकृत समुदाय लगायतको जीवनस्तर उकास्ने खालका काम गर्न हामी जननिर्वाचित साथीहरूलाई सुझाइरहेकै छौँ ।

० मुलुकको वर्तमान राजनीतिक स्थितिलाई तपाईंले कसरी हेर्नुभएको छ ?
– अपेक्षाकृत उपलब्धिहरू हासिल हुन नसकेको पक्कै हो, यसका लागि पहिलो कुरो नेपाली काङ्ग्रेस बीपीवाद, बीपी चिन्तन र संस्कारमा रुपान्तरित हुनैपर्छ । काङ्ग्रेस ठिक ठाउँमा उभियो भने अरु दल स्वतः सही मार्गमा आउन बाध्य हुन्छन् । नेपाली काङ्ग्रेसले बीपीवादलाई कता कता बिर्सिएका कारण अहिले समस्याहरू देखिएका हुन् ।

० नक्कली भूटानी शरणार्थी प्रकरणमा काङ्ग्रेसका केही नेताहरू पनि मुछिएका छन् नि, यसमा चाहिँ के भन्नुहुन्छ ?
– यो न्यायालयको क्षेत्राधिकारभित्र प्रवेश गरेको विषय भएकाले बोल्न मिलेन । तथापि, दोषी ठहरिने जोसुकै होस्, सजायको भागी हुनैपर्छ । निर्दोष नपरुन् दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ, यो हाम्रो जोडदार माग हो । नेपाली काङ्ग्रेस विधिमा विश्वास राख्ने दल हो ।

० शरणार्थी प्रकरणबारे काङ्ग्रेसभित्र विभिन्नखाले स्वर गुञ्जिरहेका छन्, के भन्नुहुन्छ ?
– विकसित पछिल्ला घटना र परिस्थितिका कारण त्यसमा काङ्ग्रेसका उपल्ला तहका नेताहरू समेत मुछिएका कारण फरक-फरक अभिब्यक्तिहरू आइरहेका छन् । यसमा म पार्टी महामन्त्री गगन थापाको विचारप्रति नजिक छु र समर्थन गर्छु ।

० अन्तमा… ?
– यो देश हामी नेपाली सबैको हो । हामीले नै यो देशको भाग्य र भविष्यको निर्माणको लागि काम गर्नुपर्छ । जननायक बीपी कोइरालाले भन्नुभए झैँ ‘ठुलो हैन असल मानिस’ बन्न सबैले प्रयत्न गरौँ, यसैमा सबैको भलो हुन्छ ।