नयाँबाट पनि आशा गर्ने ठाउँ रहेन : दिवाकर पन्त (पूर्वसचिव)

नयाँबाट पनि आशा गर्ने ठाउँ रहेन : दिवाकर पन्त (पूर्वसचिव)


दिवाकर पन्त पूर्वसचिव हुनुहुन्छ । सरकारी सेवाबाट निवृत्त भएपछि पारिवारिक परिवेशका कारण अमेरिका प्रवासमा समेत रहँदै आउनुभएका पन्तको तन विदेशमा भएपनि मन नेपाल र नेपालीप्रति समर्पित छ । कानुनका विद्यार्थीसमेत रहनुभएका उहाँ उच्च सचेतनायुक्त राष्ट्रवादी सोचबाट ओतप्रोत व्यक्तित्व हुनुहुन्छ । राजनीतिक दृष्टिले मुलुकको बिग्रँदो परिस्थितिका बीच राजनीतिक विश्लेषकसमेत रहनुभएका पन्तले गम्भीर विषयहरूमा आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्नुभएको छ ।

० तपाईंलाई चिन्नेहरूले एक अब्बल कोटिको राष्ट्रवादी व्यक्तित्वका रूपमा चिन्दछन्, तर लामो समयदेखि तपाईं प्रवासमा बस्दै आउनुभएको छ । केही वर्षको अन्तरालमा स्वदेश फर्कनुभयो, कस्तो पाउनुभएको छ ?
– पहिलेभन्दा पनि अहिले देशको अवस्था अन्यौलपूर्ण, अस्थिर, गन्तयब्यहीन, दिशाहीन जस्तो देखियो । पहिले बहुमतको सरकार थियो, राजनीतिक स्थिरताको सम्भावना थियो, स्थिरताविना समृद्धिको कल्पना गर्न सकिँदैन । तर अहिले आशा गर्ने ठाउँ सङ्कुचित हुँदै गएको पाएँ, निराशा बढेको देख्दा दुःख लागेको छ । यस्तो अवस्थामा देशको माया झन् बढ्ता लाग्दोरहेछ ।

० विदेश बसाइका कारण नेपालको बढ्ता माया लागेको हो कि ?
– पारिवारिक दायित्व र स्नेहका कारण बाध्यतावश म प्रवास (अमेरिका) बस्न परेको हो । तर प्रवासमा रहे पनि निदाएको बेलाबाहेक मलाई स्वदेशकै चिन्ता र चिन्तन चल्दथ्यो/चल्दछ । अन्तिम सास मेरो स्वदेशमै जाओस् भन्ने चाहना छ । प्रवासमा रहेको अवस्थामा प्राण नजाओस् भन्ने लागिरहेको छ । नेपालमा रहेका भन्दा विदेश बसेका नेपालीले स्वेदशको माया ज्यादा गर्छन् भन्ने लाग्छ मलाई ।

० एक-डेढ दशकअघि नै तपाईंले देश राजनीतिक रूपले कहालीलाग्दो दिशातर्फ गएको विश्लेषण गर्नुभएको थियो, त्यो अवस्था अहिले आएको हो कि आउन बाँकी नै छ ?
– त्यतिबेला अनुमान गरेअनुरुप कहालिलाग्दो अवस्थामा त देश आएको सबैले महसूस गरेकै कुरा हो । तर, यही अवस्थालाई निरन्तरता दिने हो भने त झनै डरलाग्दो परिवेश निम्तिन बाँकी नै छ । यस्तै हो भने कतै देशको अस्तित्व नै गुम्ने त होइन भन्ने लाग्छ । ०६२/६३ को परिवर्तनलाई एकथरिले महान् उपलब्धि भने पनि त्यो केवल सत्तामा जाने भऱ्याङ मात्र थियो । राष्ट्रियता कमजोर तुल्याउँदै देशको ढुकुटी लुट्नु थियो, विदेशी चलखेललाई जान-अनजानमा बढाउनु नै थियो, आज त्यस्तै भएको छ । जनतालाई झुक्याएर राजसंस्था विघटन गराइयो, विकास र समृद्धिको कुरा गरियो तर देशलाई झन् कङ्गाल बनाउने दिशामा लगियो । नाम गणतन्त्र भनिए पनि आज मुट्ठीभर दलीय नेता तथा तिनका परिवारजन र आसेपासेहरूका लागि मात्र अवसर छ, अरु जनता झन् दुःखी बन्दै गएका छन् ।

० तपाईंले निजामति सेवामा रहेर हेर्नुभएको देश र अहिले तपाईंको अगाडि उभिएको देशका बीचमा कस्तो अन्तर पाउनुभएको छ ?
– धेरै नै अन्तर पाएको छु । त्यसबेला कर्मचारीतन्त्रमा अदव, अनुशासन र जिम्मेवारी बोध थियो । अहिलेको जस्तो व्यक्तिवादी प्रवृत्ति त्यसबेला हाबी भएको थिएन । स्थायी सरकार भनिने कर्मचारीतन्त्र कार्यमुखी देखिँदैन । छाडापन बढेको छ, स्वार्थमुखी प्रवृत्ति ज्यादा देखिन्छ । कर्मचारीतन्त्र जिम्मेवार भइदिएको भए राजनीतिक क्षेत्रबाट भएका कमी-कमजोरीको असर कम देखापर्ने थियो ।

० देश नबन्नुको कारणलाई बुँदागत रूपमा उल्लेख गर्नुपऱ्यो भने कसरी गर्नुहुन्छ ?
– सबैभन्दा मूख्य समस्या देशभक्तिको भावनासहितको इमानदार राजनेताको ठूलो अभाव भयो । नेताहरू सिङ्गै पार्टीको समेत हुन सकेनन्, उनीहरू गुटका नेता भएका छन् । राजनीतिकेन्द्रीत राजनीति हुनु नै मुख्य समस्या हो । जुन संविधान हामीले पाएका छौँ यो नै नेपाल र नेपालीको हितमा छैन । यो संविधान र स्थायित्व सँगै प्राप्त गर्न सकिन्न । जनयुद्धको नाममा भएको हिंसात्मक युद्धका घाउहरूबाट देशले मुक्ति पाएको छैन । प्रशासन कार्यमुख भएन, समस्या यति धेरै छन् कि समाधान जहाँबाट शुरु गरे पनि हुन्छ ।

० देश बनाउन कहाँबाट शुरु गर्नुपर्ला त ?
– हामी गलत दिशामा छौँ, सबैभन्दा पहिले राजनीतिक कोर्स बदल्न जरुरी छ । २०४७ सालकै संविधानको जगमा परिवर्तन खोजिनुपर्छ । सबै राजनीतिक शक्तिको एकता र समझदारी बन्नुपर्छ । दलभन्दा बाहिरका सबै शक्तिलाई समेत सहमति र विश्वासमा लिन सक्नुपर्छ । न्यायपालिका र राज्य संयन्त्रका सबै अङ्गहरू सकारात्मक रूपमा सुचारु हुन आवश्यक छ ।

० नेपालको समृद्धिका निम्ति के-कस्ता श्रोत परिचालन गर्नु उपयुक्त होला ?
– नेपालको विकास र समृद्धिका निम्ति श्रोत परिचालनभन्दा अगाडि सोचको परिवर्तन आउनुपऱ्यो । सबैभन्दा कृषिनीतिमा सुधार गरी कृषकमैत्री नीति र व्यवहार हुन आवश्यक छ । मल र बजार व्यवस्था राम्रो नभइ उत्पादन बढ्ने छैन । जडिबुटी उत्पादन र प्रशोधनको व्यवस्था हुनुपऱ्यो । पर्यटन प्रवर्द्धन गर्न यातायात सूरक्षामा ध्यान दिनुपऱ्यो । जलश्रोतको समुचित उपयोग गर्ने कार्यनीति हुनुपर्छ ।

० पुराना दलहरूको विकल्प बनेर आउन खोज्नेहरूप्रति तपाईंको धारणा के छ ?
– दलहरूको कामबाट आमजनता आजित भइसकेका छन् । त्यसैले स्थानीय र संसदीय निर्वाचनमा नयाँ मानिस मतदाताको रोजाइमा परेका छन् । तर दुःखको कुरा नयाँ आएकाहरूले पनि सकारात्मक सन्देश दिन सकेनन् । पुरानाजस्तै सत्तामुखी प्रवृत्ति नयाँमा देखियो । त्यसैले फेरि पनि निराशा बढ्ने स्थिति भयो । नयाँहरू समेत यही व्यवस्था र अवस्थामा लुटपुटिन थाले । अब सरकार होइन आमूल परिवर्तनमा सबै केन्द्रत हुनुपर्ने अवस्था आएको छ ।

० नेपालको लोकतन्त्र साँच्चैको लोकतन्त्र हो कि होइन ?
– विश्वमा दुई सयभन्दा धेरै देश भए पनि युनमा आवद्ध मुलुकहरू एक सय नब्बे–बयान्नब्बे जति छन् । यीमध्ये २०-२५ वटा देशमा मात्र प्रजातन्त्रको राम्रो अभ्यास भएको पाइन्छ । बाँकी देशहरू कच्चा प्रजातन्त्रबाटै चलिरहेका छन् । हाम्रो हकमा भन्नुपर्दा केही प्रजातन्त्रको अभ्यास र अनुभूथि थियो तर पछिल्लो चरणमा हामी प्रजातान्त्रिक अभ्यास गर्ने सवालमा खस्किरहेका छौँ जस्तो लाग्छ । यस्तो प्रजातन्त्रलाई कसरी प्रजातन्त्र भन्ने ? यस्तो सवाल गर्नुपर्ने अवस्थामा हामी आइपुगेका छौँ । सुधारिएको संसदीय अभ्यास भन्ने गरिएको छ आजकल, तर सुधारका नाममा धेरै विकृति भित्र्याइएको छ । समानुपातिक प्रणाली सुन्नमा त राम्रै लाग्छ, सबैको समान प्रतिनिधित्वको लागि यो आवश्यक भनिएको छ । तर समानुपातिकको नाममा कोटको खल्तीबाट नाम झिकेर आफ्ना नातागोता, आसेपासे, चाटुकार आदिलाई संसदमा पुऱ्याइन्छ । यसमा धनवादले पनि काम गर्ने गरेको पाइएको छ । त्यसकारण यहाँ प्रजातान्त्र या लोकतन्त्र जे भने पनि अभ्यास ठिक छैन । यसलाई प्रजातान्त्रिक परिपाटी भन्न सकिन्न ।

० अर्बौं खर्च गरेर दुई-दुई पटक संविधानसभाको चुनाव गरियो, के संविधानसभाले बनाएको संविधानले काम गरेको छ ? एक कानुनका विद्यार्थीका नाताले के भन्नुहुन्छ ?
– यो संविधान आफैमा त्रुटीपूर्ण छ । प्रस्तावना नै दुर्नियतपूर्ण छ । यो संविधानले कुनै स्थिरता दिन नसकेको त बार-बार पुष्टि भइसकेकै छ । संविधान पूरै राम्रो त थिएन नै, जो भएकोलाई पनि राम्री पालना गरेर अघि बढ्न खोजेको भए हुन्थ्यो, तर उल्लंघन गरेर हिँड्ने गरिएको छ । यसरी मुलुक अघि बढ्न सक्दैन । गठबन्धन संस्कृति जसरी मौलाएको छ, यसले कतै सही नतिजा दिन सक्दैन । अस्थिरता बढाउन यसले ठूलो भूमिका निर्वाह गरेको छ । यसले संविधानकै बदख्वाइँ गराएको छ ।

० देशको माया गर्ने तपाईंजस्ता व्यक्तिहरू स्वदेशमै बसेर राजनीतिक शुद्धिकरणको अभियान चलाउन किन सक्नुहुन्न ?
– देशको माया त सबैलाई हुन्छ । विदेशमा बस्नेलाई झनै माया लाग्दोरहेछ । तर देशको माया गर्ने भन्दै यहाँको बेथितिको शिकार हुँदै झोक्राएर बसेर पनि केही अर्थ लाग्दैन । जहाँ रहेर पनि देशको लागि गर्छु भन्नेले केही न केही गर्न सक्छ । गरिरहेका छन्/छौँ । विदेशमा बसे पनि विदेशको भक्त नबनुन्, स्वदेशको भक्त बनुन् र जे-सकेको योगदान आ-आफ्नो क्षमताअनुसार गरुन् या गर्नुपर्छ भन्ने धारणा मेरो छ । म पनि आफूले जाने-बुझेअनुसार, क्षमता-समयले भ्याएअनुसार मेरो मुलुकको लागि गरिरहेकै छु । बाहिर हुँदापनि मन त देशतर्फ नै डुलिरहेको हुन्छ ।

० हाम्रो देश जुन गतिमा जसरी अघि बढिरहेछ, यसले कुन बिन्दुमा पुऱ्याउला ?
– यस्तै गतिले त ठूलो विद्रोह निम्त्याउन सक्छ । ठूलै दुर्घटनाको सङ्केत दिँदैछ । देश नै रहने कि नरहने भन्नेसम्मको त्रास मौलाइरहेको छ । देशले यथाशीघ्र यो दुर्दशाको बाटोबाट मोडिन सक्नुपर्छ । यसका लागि सचेत नेपालीजन समयमै लागिपर्नु अपरिहार्य छ । सत्तामा बस्नेहरू आफै सुधारिने लक्षण नदेखिएकोले जनता नै सकारात्मक परिणामका लागि अग्रसर हुनुपर्छ ।