आजको पञ्चाङ्ग एवम् राशिफल (२६ जेष्ठ २०८० शुक्रबार, ९ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ जेष्ठ २०८० शुक्रबार, ९ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० ज्येष्ठ २६ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुन ९ तारिख आषाढ कृष्ण पक्षको षष्ठी तिथि धनिष्ठा नक्षत्र वैधृति योग गर करण आनन्दादिमा धाता योग चन्द्रमा मकर राशिमा १०÷१० बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आज आकस्मिक यात्राको योग छ । अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । तर मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । कुरा काट्नेहरू सक्रिय रहलान् । यसका बाबजुद कर्मबल वृद्धि हुनेछ । आर्थिक काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्ने दिन छ । थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न होला । विश्वास गरेकाबाट धोका हुन सक्ने भएकोले विशेष सावधानी अपनाउनु हितकर होला । कार्यमा भने सफलता प्राप्त हुनेछ । इष्टमित्र तथा सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – दौडधुप बढ्नेछ भने रसरागमा आकर्षण रहनुहुने योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । मनमा खराब बिचारहरुले डेरा जमाउन सक्ने योग भएकोले विवेकपूर्ण व्यवहारका लागि अभिप्रेरित रहनु हितकर होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – व्यस्तता वृद्धि भए पनि आजको दिन कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । बोलीको कदर हुनेछ । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । कामको उच्च मूल्याङ्कन हुने र धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पुराना मित्र एवम् प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बिग्रिएका कामहरु बन्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ भने रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । तपाईंको बोलीको विपरीत अर्थ लाग्नसक्ने योग भएकोले बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी र आजको यात्रा पनि घातक बन्न सक्ने भएकोले अत्यावश्यक अवस्थामा बाहेक अनावश्याक यात्रा नगर्नु नै हितकर होला । प्रतिभाको कदर हुनेछ । साझेदारीको काम बन्नेछ ।

तुला – आजको दिन सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला तर पारिवारिक समस्याले मन खिन्न होला । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ । व्यस्तता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव राम्रै रहला ।

वृश्चिक – नसोचेका कामहरु बन्ने दिन छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि होला । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका मिल्ला । राम्रै सफलता मिल्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आज व्यावसायिक यात्राको सम्भावना छ । समय मनोरञ्जनपूर्ण रहनेछ । बन्धुबान्धवको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । सुख र साहस बढ्नेछ । रोकिएको काम बन्नेछ । समृद्धि बढ्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – काममा बाधाअडचन आउने समय छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानीको सम्भवना भएकोले सोचविचार गरी सावधानीपूर्वक कदम चाल्नु हितकर होला । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । सृजनात्मक कार्यमा सफलता मिल्ने योग छ । रसराग तथा मनोरञ्जनतर्फ ध्यान जाला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – शुभता वृद्धि होला । प्रयासरत काम बन्नेछ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि हुनेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – व्यस्तता बढ्ने समय छ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । सफलताको दर वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।