‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो

‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो


photo: rss

प्रतिनिधिसभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको जानकारीपछि थप प्रष्टिकरण माग गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किंदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरुले नियमापत्ति गरेका थिए ।

खनालले भनेका थिए, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, उहाँ आफैले हालै उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुहोला, दुर्भाग्यवश भैँसी चढेर आउनुपरेका कुराहरु आएँ ।’ त्यसपछि सभामुख घिमिरेले उक्त शब्दावलीलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि प्रधानमन्त्रीले समेत जवाफ दिने क्रममा सो शब्द उच्चरण गरेको भन्दै सो पनि हटाउन माग गरेका थिए । केही बेरको अवरोधपछि सभामुख घिमिरले भैँसी चढेर आएको भन्ने शब्द जोसुकैले प्रयोग गरेको भए पनि रेकर्डबाट हटाउन रुलिङ गरेका थिए ।