परम्परागत विवाहबारे इतिहास के भन्छ ?

परम्परागत विवाहबारे इतिहास के भन्छ ?


विवाहमा प्रेम र छनौट स्वतन्त्रता किन आवश्यक छ ?

✍ डिल्ली अम्माई
आरम्भ :

विवाह सामाजिक रूपले संस्थागत कहिले र किन गरियो ? यसका ऐतिहासिक पाटाहरू नबुझी विवाह र प्रेमबीचको फरक अन्तरसम्बन्ध बुझिन्न । विवाहलाई प्रेमको पूर्णतामा नबुझी युवा-युवतीले विवाह गर्नु हुन्न । अर्थात्, विवाहको अर्थ नबुझी पारिवारिक दबाबमा विवाह गर्दा आफ्ना दुवैले सांस्कारिक कर्तब्यको मात्र ख्याल गर्नु पर्ने दबाब बन्दछ । तर करकापमा विवाह गर्नेहरूले परम्परागत रूपमा थोपरिएका गलत मान्यतालाई प्रेमले परास्त गर्ने हिम्मत जुटाउन सक्दैनन् । उनीहरूले विवाहलाई भाग्यसँग जोडेर सामर्थ्यको अपहेलना गर्न थाल्दछन् । त्यसपछि विवाह स्वतन्त्रता र प्रगतिको बाटोबाट भड्किन्छ । त्यो एक प्रकारको निसास्सिने जेल बन्दछ । त्यस्तो विवाहले जीवनमा दुर्दशा मात्र निम्त्याउँछ । अर्थात् सम्बन्ध नर्कसमान बन्दछ ।

दुवै उम्मेद्वारको गुणक समानता+आकर्षण=प्रेम मानिन्छ । अर्थात् प्रेमको लागि दुवै उम्मेद्वारहरूको रुचि र विशेषताहरूमा समानता भएरमात्र प्रेम हुँदैन त्यसको लागि समान आकर्षण पनि हुनुपर्छ । त्यसपछि मात्र उनीहरूको प्रेम सफल हुन सक्छ । त्यस्तै उनीहरूले आफ्नो प्रेमलाई संस्थागत मान्यता दिलाउन चाहन्छन् भने विवाह गर्नुपर्छ । विवाहको लागि पनि ‘समर्पित प्रेम+कानुनी तथा सामाजिक अनुमति=सँस्थागत अनुमोदन (विवाह)’को सुत्र प्रतिपादन गरिएको छ ।

वैवाहिक जीवन सफल हुनको लागि विवाहअघि जस्तै विवाहपछि प्रगतिको बाटोमा जोडी दुवैले समान अवसर पाउनुपर्छ । विवाहपश्चात पश्च्यात दुवैको आत्मस्वाभिमान समानरूपले उच्च हुँदा नै त्यो परिवारले सुख र शान्ति प्राप्त गर्दछ । विवाह बारेको जानकारीले दुवैलाई कज्याउने परम्परागत बन्धनको अँध्यारो गुफाबाट बाहिर निकाल्छ र समान रूपले जिउन सिकाउँछ । विवाहको उपयुक्त बुझाइले यो कसैको लागि बोझ नबनेर प्रगति र समृद्धिको ऐक्यबद्धता बन्दछ । चाहे परिवर्तनको सवालमा होस् वा सामाजिक सुधारको सवालमा होस्, विवाहपछि परिवारको श्रम र एकताको आधार बलियो हुन्छ ।

जीवनभर सँगै बस्ने र सधैं एकअर्काको लागि प्रेमपूर्ण बनिरहने प्रतिबद्धता आजको युगमा विवाहको साझा उद्देश्य हो । विवाहलाई कायम राख्न दुवै साझेदारहरूबाट उच्च स्तरको प्रतिबद्धता चाहिन्छ, जसले सुरक्षा, स्थिरता र अधिकारको भावना जागृत गर्दछ । त्यसैले साझा उद्देश्य लिएर पूरा विश्वाससहित एकअर्काको अधिकारलाई सम्मान गर्दै प्रेमपूर्वक सँगै जिउनुको अर्थमा मात्र विवाहले सार्थकता हासिल गर्न सक्दछ । अघिल्लो लेख (ghatanarabichar.com/276933) मा विवाह कुन अवस्थामा प्रेमपूर्ण हुन सक्छ भन्ने आधारहरूबारे व्यापक रुपले बहस गरियो । अब विवाहको ऐतिहासिक पृष्ठभूमि र जिम्मेवारीबारे यो लेखमा पुराना तथ्यहरू राखेर बहस गरिने छ ।

विवाहबारे इतिहासतिर घोत्लिँदा :

प्रमाणको आधारमा विवाहको सुरुवातबारे खोजतलास गर्दा विवाह समारोहको पहिलो प्रमाण मेसोपोटामियामा इपू २३५० को भेटिएको छ । यसरी विवाह संस्थागत अभ्यासबारे आजसम्म प्राप्त प्रमाणको आधारमा करिब चार हजार ३५० वर्ष पुरानो देखिन्छ (द विक) । भारतमा गरिएको एक खोजअनुशार, श्वेतकेतुले सर्वप्रथम भारतमा विवाहको संस्थागत चलन चलाएको देखिन्छ ।

आदिम युग अर्थात् फिरन्ते शिकारी युगमा मानिसहरूको बसोवास एक ठाउँमा हुँदैनथ्यो । त्यो बेला यौन क्रियाकलाप पनि लुकाएर गर्नुपर्ने अवस्था थिएन । मानिसहरू समूहमा बस्थे, सुत्थे, खान्थे । सहबासलाई सबैले प्राकृतिक रूपमा ग्रहण गर्थे । महिला-पुरुष आफूले रोजेको जोडीसँग निकट भएर बस्ने र सुत्ने गर्थे । यौनक्रिया कुनै लज्जाको विषय थिएन । अर्थात्, खासगरी सम्पत्तिमाथि निजी स्वामित्वको अभ्यास आरम्भ हुनुअघि महिला र पुरुषहरू समूहमा बस्थे । बहु यौनसाथी छनोट गर्थे र आवश्यकताअनुसार बदलिरहन्थे ।

पछि शिकारीयुगको अन्त्य हुँदै गयो र कृषियुगको सुत्रपात भयो । कृषिक्रान्तिको आरम्भ महिलाहरूले गरेका थिए । महिलाहरू खेतीमा र पुरुषहरू शिकारमा रहने अभ्यासका क्रममा परिवारको हर्ताकर्ता महिला थिए । एक प्रकारले कविला समाज मातृसत्तात्मक थियो । त्यो बेलाका कविला समाजका सम्पूर्ण नीति-निर्माता महिला थिए । खेती र पशुपालनको युगपछि जमिन कब्जा गर्ने, जग्गा बिराउने र खनजोतको प्रतिस्पर्धा बढ्दै गयो । मानिस सामुहिक जीवन पद्दतिबाट ब्यक्तिगत जीवन पद्धतिमा सर्दै थियो । बालबच्चाको जिम्मेवारीका कारण श्रमको प्रतिष्पर्धामा महिलाहरू कमजोर देखिए । क्रमशः पुरुषको अधिपत्य कायम हुन थाल्यो । योसँगै महिलाबाट सम्पत्ति खोसिएर त्यसको स्वामित्व पुरुषको अधीनमा गयो ।

त्यसैले भन्न सकिन्छ, सम्पतिको निजीकरणले निम्त्याएको चलन अवस्था थियो- एक पत्नी विवाह । जीविकाका लागि महिलालाई सम्पत्तिको स्वामित्ववाला एक पुरुषसँगको एकनिष्ठ यौनको अधीनस्थ रहने परिपाटीमा बाँधियो । जबकि सोही कालमा पुरुषहरू भने बहुपत्नी राख्नसमेत स्वतन्त्र थिए (वेस्टरमार्क, एववार्ड- हिस्ट्री अफ ह्युमन म्यारिज, भाग १, विभिन्न पृष्ठहरू) ।

सम्पत्तिको अविछिन्न उत्तराधिकारी निर्क्योल गर्न एकनिष्ठ संसर्गमार्फत सामूहिक जीवनपद्धति र एउटा सगोलभित्रको सामूहिक विवाह पद्धति कमजोर भएर एकल विवाह परम्परा आरम्भ भयो । (डागे, श्रीपाद अमृत-भारत आदिम साम्यवाद से दासप्रथा तक का इतिहास, पृ १६५) । यसरी जब प्राकृतिक सम्पदा र स्रोत परिवारको निजी सम्पत्तिको रूपमा परिणत भयो, त्यसले गोत्रीय सम्बन्धभित्रको विवाह र मातृप्रधान समाजमाथि कठोर प्रहार गऱ्यो (फ्रेडरिक एंगेल्स- परिवार, निजी सम्पत्ति र राज्यको उतपत्ति, पृ ७०) । निजी सम्पत्तिको चेतनामा मानव समाज अनुबन्धित भएपछि त्यसले सम्बन्धका सामूहिक आयाममाथि कठोर प्रहार गर्न थाल्यो र महिलालाई यौनको एकनिष्ठताको धार्मिक संहिताले बाँधिदियो । तर पुरुषलाई भने त्यो संहिताले छोएन र बहु-पत्नीसँग सम्भोग गर्दै आफूले चाहेअनुसार यौनको मजा लिइरह्यो ।

‘पहिले विवाह वैधानिक तवरले बच्चा उत्पादन क्रिया र यौन समागमको सामाजिक अनुमोदनका लागि हुने गर्थ्यो । महिलाको ‘योनीभोग’का लागि हुने पुरुषबीचको द्वन्द्व, सम्पत्ति हस्तान्तरणका लागि आफ्नो ‘जिन’ चिन्ने व्यक्तिवादी चेतको आरोपण, कुमारी योनी भोगको चिन्तन निर्माणको प्रक्रियासँगै विवाह संस्था सुरुवात भएको देखिन्छ (वेस्टरमार्क, एडवर्ड- ए सर्ट हिस्ट्री अफ म्यारिज/दी हिस्ट्री अफ ह्युमन म्यारिज, विभिन्न पृष्ठहरू) ।’

महाभारत कालसम्म पनि महिलाहरूमा एक प्रकारले यौन स्वतन्त्रता बाँचेको थियो भन्ने प्रमाणहरू प्रशस्त भेटिन्छन् । महाभारतकै सत्यवती, कुन्तीहरूले विवाहपहिले नै स्वेच्छिक तवरले भीष्म र कर्ण जन्मिएबाट समाजमा समागम र सन्तान उत्पादनका लागि विवाह अनिवार्य थिएन भन्ने देखिन्छ । तर, धार्मिक संहिताका कारण कुमारी कुन्तीबाट कर्ण जन्मिएपछि कर्णलाई कुन्तीले खोलामा बगाउन बाध्य भइन् । त्यसले के देखाउँछ भने महाभारतको माध्यामिक चरणसम्म विवाहले सँस्थागत रूप लिइसकेको थियो ।

दीर्घतमाको सहबासबाट सुदेष्णा र उसिनरीका सन्तानहरू भएको कुरा धार्मिक पुस्तकहरूमा उल्लेख छ । भीष्मद्वारा अम्बाका तीन दिदी-बहिनीहरूको अपहरणले के देखाउँछ भने त्यो बेलापछि महिला अपहरण गर्ने र अपहरित केटीहरू ल्याएर उत्सव मनाउने चलन रहेछ । हस्तिानापुरका राजा विचित्रवीर्य सन्तानविहीन अवस्थामा मरेपछि उनका पत्नीहरू अम्बिका र अम्बालिकाले आफ्नै जेठाजु सत्यवतीपुत्र व्याससँगको सहवासबाट धृतराष्ट्र र पाण्डु जन्मिए । सत्यवतीले शान्तनुसँग विवाहपूर्व पराशर ऋषिसँगको सहवासबाट कृष्ण द्वैपायन (वेद व्यास)लाई जन्म दिएकी थिइन् । यी सबै तथ्यहरूले सन्तान जन्माउने कुरामा महाभारत कालको प्रारम्भसम्म समाज सहबासको लागि केही उदार रहेको देखाउँछ ।

वैदिककालको कुरा गर्ने हो भने ‘वशिष्ठकी छोरी सतरूपा जवान भएपछि आफ्ना पिता वशिष्ठसँग पत्नीभावले बस्न थालिन् (हरिवंश पुराणको दोस्रो भाग) । हरिवंशकै दशौँ भागमा ‘मनुले आफ्नी छोरी इलासित यौनसम्बन्ध राखेको विवरण छ । जन्हु ऋषिकी छोरी जन्हवीले आफ्ना पिता जन्हुलाई पतिको रूपमा स्वीकार गरेको प्रसङ्ग पनि त्यहाँ छ । सोमका छोरा दश प्रजापतिहरूले आफ्ना छोरीहरू आफ्ना बाबु र बाजेलाई दिएका थिए (हरिवंश, अध्याय २) । जन्मेजयले अन्त्यमा यस्तो अनैतिक कृत्यबारे प्रश्न उठाएपछि वैशम्पायनले भनेका छन्- यो पुरानो रीतिरिवाज हो (हरिवंश) । यी तथ्यहरू आदिम युगको यौन छनौट स्वतन्त्रता र गोत्रभित्र नै प्रेम सम्बन्ध हुने प्रथाका प्रमाण हुन् ।

पुरुषप्रधान समाजको शुरुवात पनि नीजि सम्पतिको होडले गर्दा भएको मानिन्छ । त्यसले महिलालाई भोगको लागि प्रयोग गरिने बस्तुमा रुपान्तरण गर्दै लग्यो । उनीहरूका पुराना अधिकार सबै खोसिए । ‘त्यसपछिबाट आजसम्मका तमाम सत्ताले लिएको परीक्षामा पुरुषले कहिल्यै कौमार्यको परीक्षा दिनुपरेको छैन । महिलाहरू हरघडी कौमार्यको, पतिव्रताको, एकनिष्ठ यौनको परीक्षाको दन्दनी दन्किएको आगोको लप्कोमा हाम्फाल्न अभिशप्त छन् । परीक्षा दिन र दिइरहन अभिशप्त छन् । रामदेखि हरामहरू सबै आफ्ना सीताहरूको परीक्षा लिइरहन उत्साहित छन् । अग्रसर छन् । उत्तेजित छन् । विवाह आज व्यक्तिगत र गोप्य कर्म रहेन, जोडी महिला र पुरुषबीचको । परिवार, समाज, धर्म, अर्थ, कानुन, संस्कृति, परम्परासँग बाँधिएर विवाह संस्थाको सदस्यता लिनुपर्ने अवस्था छ आज (ट्विडेल र रिग्स- म्यारिज एन्ड फ्यामिली, विभिन्न पृष्ठहरू) ।’

चीन, इजिप्ट र ग्रीसको प्राचीन साहित्यमा पनि माथि बताइएका जस्ता केही सन्दर्भहरू पाइन्छ । त्यसैको आधारमा पश्चिमा विद्वान्हरू जस्तै लर्ड एवेबरी, फेसन, होविट, टेलर, स्पेन्सर, जिलेन्कोभ लेभस्की, लियर्ट र शर्ट्स आदिले विवाहको आदिम अवस्थालाई नैतिकताको अवस्थाको रूपमा स्वीकार गरे ।

तर, चार्ल्स डार्विनले प्राणीशास्त्रको आधारमा विवाहको आदिम रूपबारे टेलरहरूको विचारलाई कडाइका साथ अस्वीकार गरे । प्रसिद्ध समाजशास्त्री रिर्कले लेखेका छन् कि विगतमा एक पटक कृषिश्रमको सामान्य अवस्था प्रबल थियो भन्ने परिकल्पनाको लागि हामीसँग कुनै बलियो प्रमाण छैन ।

ब्यक्तिगत सम्पत्तिको प्रार्दुर्भाव भएपछि मानव समाजमा सम्पतिको भावी वारिसको खोजि तथा जैविक आवश्यकताहरूबाट विवाहको स्थापना भएको हो । यसको मूल कारण आफ्नो मानव बंश सुरक्षित राख्ने चिन्ता हो । यौनसम्पर्कपछि दुवै अलग भएमा, गर्भावस्थामा श्रीमतीको हेरचाह गरिएन भने, सन्तान जन्मिएर नहुर्केसम्म पालनपोषण नगरिएमा मानव जातिको अस्तित्वमा संकट आउन सक्थ्यो । त्यसैले, विवाहको संस्था आत्म-संरक्षणको दृष्टिकोणबाट उत्पन्न भएको मान्नुका धेरै आधारहरू छन् । यस्तो परिपाटी मानव समाजमा मात्र नभएर मानिसका पुर्खा मानिने गोरिल्ला, चिम्पान्जी आदिमा पनि पाइन्छ । तसर्थ, मात्र श्रमको कारणले विवाहको उदय भएको मान्ने सिद्धान्त अप्रामाणिक र अमान्य मानिन्छ ।

यी सबै तथ्यहरूले विवाह किन र कसरि संस्थागत हुँदै आयो भन्ने कुरालाई देखाउँछ । त्यसैले यादव देवकोटाको विवाहसम्बन्धी लेख, ऐतिहासिक पुस्तकको खोज र पुराना साहित्यहरूको अन्वेषण गरेर हेर्दा विवाह संस्थागत बनाउन पुरुषहरूले अरु कविलाका महिलाहरूको अपहरण गरि खुसियाली उत्सव मनाएको कुराले भूमिका खेलेको मानिएको छ । त्यसले आपसी विवाहको चलन क्रमश विस्थापित गऱ्यो । एकनिष्ठ विवाहको पछिल्लो चरणमा महिलालाई मरेका पुरुषहरूको सति जान बाध्य पारिएको थियो । त्यो काल महिलाहरूको लागि अपमानपूर्ण मात्र नभएर नर्कसमान थियो भन्न सकिन्छ ।

त्यसैले आधुनिक पुरुषप्रधान समाजमा विवाहबारे निर्णयको पूर्ण अधिकार युवा र युवतीलाई दिने, महिलाको विवेकपूर्ण छनौट स्वतन्त्रतालाई असर नपुग्ने गरि विवाह गरिनुपर्ने बाटोमा शिक्षित अविभावकहरूको ध्यान जानुपर्ने तर्क सर्वथा जायज हो । त्यसको लागि उपयुक्त बाटो प्रेम विवाह नै हो ।

विवाहको लागि सबैभन्दा महत्वपूर्ण तत्व आत्मिय प्रेमभाव हो र हुनुपर्छ । तर प्रेम सम्बन्धका लागि सहायक कुराहरू के-के हुन सक्लान् ? यो विषय अहिले संसारभरी बहसको विषय बनेको छ । केटाकेटीमा प्रेम छ भने उनीहरू विवाह नगरी लिभ-इन सम्बन्धमा बस्न पनि बस्न थालेका छन् । युरोपियन देशमा त्यसरी बस्नुलाई आंशिक कानुनी मान्यता दिइएको छ । तर धार्मिक र संस्कारगत मान्यताको प्रभाव भएका देशमा त्यसरी बस्नुलाई पूर्णतया अवैधानिक मानिन्छ । निर्णायक कुरा, दुवैमा हुने प्रेम र समर्पण छ भने सँगै बसेर आफूले चाहेअनुशार प्रेमपूर्ण पारिवारिक जीवन जिउन पाउनुपर्छ, भन्ने हो ।

प्रेमको पूर्णतामा लिभ-इन सम्बन्ध र विवाहसम्बन्धी अवधारणाहरू समान छन्, तर व्यवहारिक जीवनमा विवाह र लिभ-इन सम्बन्धमा केही महत्त्वपूर्ण भिन्नताहरू छन् । विवाहलाई सामाजिक रूपमा स्वीकार गरिएको छ, तर विश्वका धेरै भागहरूमा लिभ-इन सम्बन्ध अझै पनि निषेधित छ । त्यसैले भनिएको हो, विवाह वैधानिक संस्था जस्तै हो र यसको कानुनी रूपमा दर्ता गरिन्छ । तर प्रेम हुनु मात्रलाई कहीँकतै वैधानिक मान्यता छैन । यो पुरुषप्रधान समाजको एक विशेषता हो ।

भन्न खोजेको कुरा के हो भने, विवाह मनको अवस्था मात्र नभएर सँस्थागत परम्पराको साथ आउँदछ र त्यसलाई कानुनी वैधता पनि छ । विवाह भइसकेपछि जोडी एकअर्काप्रति सामाजिक र कानुनी रुपले उत्तरदायी हुन्छन्, एकअर्काप्रति मात्र नभएर समाजप्रति पनि समर्पित हुन्छन्, निश्चित अधिकार, लाभ र दायित्वहरू सामाजिक रुपले पनि प्राप्त गर्दछन् । तर, विवाहको तुलनामा लिभ-इन सम्बन्धमा धेरै कुराहरू फरक हुन्छन् ।

लिभ-इन सम्बन्धहरू सामाजिक रूपमा स्वीकार्य नभएकोले एकल स्थिति कायम राख्छन् । यदि सम्बन्ध प्रेमपूर्ण छ भने, समाज वा कानुनले नमाने पनि लिभ-इन सम्बन्ध विवाहजस्तै हो । तर यसमा दुवै परिवारको अन्तरघुलनलाई कानुन र सामाजिक परम्पराले अनुमति दिँदैन ।

विवाह एउटा नयाँ अध्याय र धेरै नयाँ सम्बन्धको सुरुवात हो । यो एउटा परिवारको सुरुवात हो । शारीरिक मिलन भन्दा बढी, विवाह भावनात्मक र सामाजिक समर्थनको लागि पनि हो । यसले जीवनको लागि एक साथी दिन्छ जसले जीवनको राम्रो अवस्था र खराब अवस्थामा साथ देओस् । यसले कसैलाई एक व्यक्ति दिन्छ जो उसको कठिन संघर्षको समयमा सँगै हुन्छ । तर लिभ-इन सम्बन्धमा यसको केही ग्यारेन्टी हुँदैन किनकि यो एक प्रकारले केवल दुई ब्यक्तिबीचको अस्थाइ सम्बन्ध हो । विवाहले मानिसलाई प्रेमको कदर गर्न सिकाउँछ । एक लामो अवधिसम्मको वैधानिक प्रतिबद्धता जसले मनपर्ने व्यक्तिसँग हरेक दिन अझ राम्रो हुने मौका दिन सक्छ ।

अन्त्यमा, विवाहलाई धार्मिक बन्धन र श्रीमान्-श्रीमतीको निजी सम्बन्धको सट्टा कानुनी बन्धन बनाउने प्रवृत्ति यथावत छ । तर महिला आन्दोलनले त्यो अवस्थालाई चुनौती दिँदै लैंगिक समानताको आधार निर्माणमा महत्वपुर्ण योगदान दिएको छ । फलतः औद्योगिक क्रान्ति र शिक्षाको बिस्तारसँगै महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन् । पहिले विवाह नै उनीहरूको सुखी जीवनको एकमात्र माध्यम थियो, अहिले त्यस्तो अवस्था छैन । विवाह र सम्बन्धविच्छेदको नयाँ कानूनले दाम्पत्य सम्बन्धमा महिलाको अधिकारलाई पूर्णता दिएर समानता प्रदान गरेको छ । धर्मप्रतिको विश्वासमा छुटकारा र गर्भनिरोधकको आविष्कारले विवाह, विवाहपूर्वको पवित्रता र पवित्रताको परीक्षासम्बन्धी पुरानो मान्यतालाई गहिरो प्रहार गरेको छ । तर यी सबै परिवर्तनका बाबजुद पनि विवाह प्रणाली संसारमा नीजि सम्पत्तिको अस्तित्व रहेसम्म जारी रहनुको बलियो कारण यो हो कि यसले केही उद्देश्यहरू पूरा गर्दछ, जुन अन्य कुनै माध्यम वा संस्थाले पूर्ति गर्न सक्दैन ।

विवाहको पहिलो उद्देश्य प्रजनन हो । विज्ञानले कृत्रिम गर्भाधानको आविष्कार गरे पनि प्रयोगशालामा कृत्रिम रूपमा बच्चा जन्माउन र विकास गर्न सम्भव देखिँदैन । दोस्रो उद्देश्य छोराछोरीको पालनपोषण हो, राज्य र समाजले जतिसुकै क्रेच र किन्डरगार्टेनको विकास गरे पनि विवाह र परिवारमा गरिएझैँ उनीहरूको चौतर्फी उचित स्याहार सम्भारको व्यवस्था गर्न सक्दैन । तेस्रो उद्देश्य साँचो वैवाहिक प्रेम र आनन्द हो । यो पनि विवाहबाहेक अरु कुनै माध्यमबाट सम्भव छैन । यी उद्देश्यहरूको पूर्तिको लागि, विवाह भविष्यमा एक महत्त्वपूर्ण संस्थाको रूपमा जारी रहनेछ, यद्यपि यसको अधिकार र कर्तव्यको क्षेत्रमा आमुल परिवर्तनहरू भइरहेका छन् । महिला पुरुषबीच हुने समान अधिकारको ग्यारेन्टीले नै साँचो अर्थमा प्रेमलाई सँस्थागत गराइरहने छ ।