दरबार हत्याकाण्डको पृष्ठभूमि

दरबार हत्याकाण्डको पृष्ठभूमि


✍ एम. शर्मा

विक्रम सम्वत् २०५८ जेष्ठ १९ गतेको दिन नेपाल अधिराज्यका तत्कालिन राजा वीरेन्द्रसहित राजपरिवारको समूल अन्त्य भएको आज २२ वर्ष पूरा भएको छ । हरेक महिनाको तेश्रो शुक्रबार साँझमा आयोजना हुने पारिवारिक जमघटका बेला भएको त्यो त्रासदीपूर्ण रक्तपातमा परि प्रजातान्त्रिक आचरणका राजा, राजपरिवार तथा अन्य केही परिवारिक सदस्य समेतको हत्याको कारण के होला अझै पनि अनुत्तरित छ । हत्याकाण्ड छानवीन समितिको तथा घटनाका प्रत्यक्षदर्शी समेतको बयान र घटना विवरणअनुसार तत्कालिन युवराजधिराज दीपेन्द्रले नशाका सुरमा अत्याधुनिक हतियारको प्रयोग गरि उक्त घटना घटाएको भन्ने प्रतिवेदन तत्कालका लागि पत्याउनैपर्ने विवशता हामी नेपालीले भोग्नुपऱ्यो । यस घटनाको रहश्य र यसपछिका दिनमा देशमा विकसित राजनीतिक घटनाक्रम र उतारचढावलाई गहन, ठोस र बस्तुनिष्ठ अध्ययन तथा विश्लेषणात्मक अनुसन्धान गर्न र बुझ्न सके वास्तविकताको नगिच पुग्न नसकिएला भन्न सकिन्न ।

पर्दामा देखिएका तथा परिदृश्यमा ओझेल पारिएका वा कसैमाथि थोपरिएका आरोप वा कथिएका कयौं कथा–कहानीहरू हेर्दा, छिचोल्दा र भूराजनीतिक जटिलता आदिको संश्लेषण समेत गर्दा विभिन्न कारणहरूको समग्र र योजनाबद्ध निचोड नै हत्याकाण्ड हो भनि निश्कर्ष निकाल्दा फरक पर्दैन । यसरी हेर्दा घटनाका पात्र घरभित्रकै तर कथा, पटकथा तथा निर्देशनचाहिँ घरबाहिरबाटै बनेको प्रष्ट हुन्छ । कतिपयले पात्र दीपेन्द्रबाहेक अन्य हुन सक्ने भन्दै घटनामा नपरेका वा बाँचेका पात्रहरू, तत्कालिन सेनापति, माओवादी, प्रधानमन्त्री तथा बाहिरी एजेन्सीहरूतर्फ समेत औंला नउठेका भने होइनन् । तर, खास गतिलो भरपर्दो र विश्वसनिय अनि स्वतन्त्र छानविन नहुनु, युवराजको प्रेममा परेकी पात्रसँग सोधपुछबाहेक सघन अनुसन्धान नगरिनु जस्ता कार्यले शंकाको सुविधा यद्यपि प्राप्त छ ।

यदि छानवीन र प्रत्यक्षदर्शीकै बयानलाई मान्ने हो भने र घरभित्रकै पात्र युवराज दीपेन्द्र नै सो घटनाका लागि जिम्मेवार हुन् भने उनलाई सो अवस्थासम्म पुऱ्याउने परिस्थिती के–कसरी तयार भयो ? कस्तो अवस्थामा उनि त्यसका लागि तयार भए होलान् भन्ने कुराहरूको विभिन्न खोज तथा श्रोतहरूबाट प्राप्त सूचना, छानवीन प्रतिवेदन तथा घटनासंग सम्वन्धित रहेर प्रकासित थुप्रै लेख, पुस्तक तथा संस्मरणात्मक लेखहरूको अध्ययनबाट संश्लेषित सारांश हेरौँ ।

कारणहरू :

१. साम्राज्यवाद र विस्तारवादी सोच र ब्यवहारले ग्रसित कतिपय देश र त्यसका तालुकदार राज्यसंचालक, खुफिया एजेन्सी, राजदूतहरूले शान्त, स्वतन्त्र, सार्वभौम राष्ट्रको सार्वभौमिकता, अखण्डता, शान्ति र स्थायित्वको विरुद्धमा आफ्ना नियोजित उद्देश्य पूरा गर्न अनेकन प्रयासका बाबजुद सफल हुन नसक्नु । जसलाई सफल पार्न एकताको प्रतीक र स्थायी राज्यशक्तिको रूपमा रहेको राजसंस्था बाधक रहेको निश्कर्षमा पुग्नु ।

२. राष्ट्रिय एकता, जातीय मेलमिलाप, धार्मिक तथा साँस्कृतिक सहिष्णुताको आधारशिलामा धमिरा नहाली जग नभत्किने, एकता नबिथोलिने, तथा बाइसे चौविसे राज्यहरूको एकीकरणबाट निर्मित विशाल नेपाललाई विभिन्न असमान सन्धि-सम्झौता गरि (१४७१८१ वर्ग कि.मी. मा) खुम्च्याइएको र अझैपनि भौगोलिक तथा राजनीतिक अतिक्रमण गरि सके भूगोल नै नसके यस भूगोलका जल, जंगल, जडिबुटीलगायतका पाकृतिक श्रोत–साधन ऐतिहासिक, पौराणिक तथा अन्य पुरातात्विक सम्पदाहरूको दोहन तथा अतिक्रमणलाई मुख्य निशाना बनाउँदै लैजानु ।

३. उपरोक्त उद्देश्य हासिल गर्न आवश्यक ‘लुपहोल’को खोजि हुँदै जानु, २००७ साल अघिदेखि नै त्यसको लागि आधारशिला र सुक्ष्म तयारी हुँदै जानु । मन्त्रिपरिषद् बैठकमा जासुसी पात्र राखिनु, सुरक्षाका नाममा सैन्य चेकपोष्टहरू खडा गरिनु, विद्रोह र स्वतन्त्रताका नाममा विभिन्न आन्दोलन र अराजतकाको बिजारोपण गरिनु ।

४. प्रजातन्त्रको नाममा स्वतन्त्रताको चरम दुरुपयोगको दुरावस्था हेरि २००७ सालदेखि २०१७ सम्मको उपलब्धि र नतिजाको मूल्यांकन गर्दै दलीय ब्यवस्था राज्यविकासको लागि अनुकुल नरहेको ठहर गर्दै तत्कालिन राजा महेन्द्रबाट निर्दलीय ब्यवस्थाको सुरु हुँदा ती मुलुुकहरूको आफ्नो अतिक्रमणको दीर्घकालिन लक्ष्य तथा योजनामा आघात पर्नु र, बेलाबेलामा नाकाबन्दी, घेराबन्दी बढाउँदै लैजानु । राजाबाट योजनाबद्ध रूपमा राजमार्गहरूको रेखाङ्कन, उद्योग कलकारखाना, कृषि, पशुपलान, विद्यालय, अस्पताल तथा अन्य कैयन विकासका कार्यहरू अघि बढाउनु, विभिन्न देशहरूसँग दौत्य सम्बन्ध कायम गर्दै, असंलग्न परराष्ट्रनीति अवलम्बन गर्दै, देशहरूबीचको खिचातानीमा चेक एण्ड ब्यालेन्स गर्दै अन्तर्राष्ट्रिय निकायसँगको सहकार्य र वैदेशिक सहायतामार्फत देश विकासको मूलढोका खुल्ला गर्नु, अन्तर्राष्ट्रिय फोरमहरूमा गरिमामय उपस्थिति जनाइ देशको नाम र पहिचान स्थापित गराउनु, संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गर्नु जस्ता कार्यले निजहरूको इच्छा र योजना विफल हुने ठान्नु ।

५. खासमा बिस्तारवादी योजनाको बाधक रहेको राजसंस्थालाई विस्थापन गर्ने चरणबद्ध योजनामा लाग्दै विभिन्न भूमिगत संगठित आपराधिक समूह तथा दलहरूलाई हातहतियार दिने प्रशिक्षण दिने र हत्या प्रयासहरू हुँदै जानु, नाकाबन्दी लगायताका अवरोधहरू सिर्जना गरिनु । त्यसैबीच २०२८ सालमा राजा महेन्द्रको रहश्यमय निधन हुनु । हृदयाघात भनिएतापनि निधनको वास्तविकता तदअनुरुपकै एक श्रृङ्खला हुन सक्ने प्रशस्तै आधारहरू देखिनु ।

५. पिताको देहवसानपछि राजपरम्पराअनुसार युवराजधिराज वीरेन्द्र नयाँ राजा हुनु, तुलनात्मक रुपमा शालिन, शिष्ट, नरम र सोझो स्वभावका नयाँ राजालाई सजिलै काबुमा ल्याउन सकिने धाराणा विकसित भइ विभिन्न प्रत्यक्ष तथा परोक्ष आन्तरिक तथा बाह्य दबाब सिर्जना गर्नु, भूमिगत दलहरूको प्रशिक्षण तालिम तथा हातहतियारको जोहो गराउँदै विभिन्न घटनाक्रमहरू विकसित गराइनु, हातहतियारलगायत अन्य उपभोग्य बस्तुहरूको ओसारपसारमा एकमना लगाउँदै घोषित-अघोषित नाकाबन्दी गर्नु । निर्दलीय चुनावमा बहिस्कार लगायतका आन्दोलनहरू घटाइनु ।

६. शान्तिक्षेत्र घोषणामा असहमत रहनु तथा सहमति जनाएका राष्ट्रसमेतलाई फिर्ता गराई अशान्तिको स्थिति कसरी सिर्जना गर्न सकिन्छ भनि नयाँ–नयाँ अस्थिरताको बीऊ छर्दै जानु । २०३६ साल, २०४४ साल २०४६ सालमा विभिन्न भूमिगत दलहरूसँग मिलिभगत गर्दै राजतन्त्रलाई चेपुवामा पार्दै लैजानु, एकैपटक संस्था नै उखेल्न सकिन्न त्यसर्थ हाँगाबिँगाहरू छिल्दै, कमजोर बनाउँदै लानुपर्छ भनि २०४७ सालमा राजालाई संविधानको सिमाभित्र बाँध्ने कार्य हुनु ।

७. अन्य देशसँग हतियार तथा सैन्य सहयोग लिएको, पशुपति दर्शन गर्न अनुमति नदिएर अपमान गरेको भन्ने जस्ता कारण ब्यक्तिगत तवरका रिसईवी लिनु र त्यसको प्रतिसोध निकालेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु । राज्यसंचालक समेत रहिसकेका आफ्ना देशका नेताको हत्यामा समेत नेपाली राजसंस्थाको हात रहेको भ्रमपूर्ण अनुमान गरि आफुभित्रै रिस र चिन्ताले प्रतिशोधको भावना लिनु ।

८. आफूबाहेक अन्य देशसँग मेलमिलाप बढी भएको, आर्थिक, भौतिक तथा अन्य प्रकारका सहयोग लिएको, उद्योगधन्दा कलकारखानाद्वारा देश क्रमशः आत्मनिर्भरको बाटोमा अघि बढ्दै गएको, आफूमाथिको परनिर्भरता हटाउँदै लगेको जस्ता कारणले चिन्ताग्रस्त हुनु । घरभित्रै धमिरा हाल्न सके एकदिन अवश्य घर लडाउन सकिन्छ भनेझैँ उद्योगधन्दामा कर्मचारी मजदुरहरूको दलगत आन्दोलन, हड्ताल, तालाबन्दी, भाँडभैलो गराउँदै कलकारखाना धारासायी बनाउँदै लगिनु र पुनर्जीवनका नाममा उदार अर्थतन्त्र भन्दै उद्योगधन्दा क्रमश बेच्ने बातावरण सिर्जना गरिनु ।

९. प्रजातान्त्रिक सरकार र संवैधानिक राजसंस्था भनिएतापनि राजाको स्थान संविधानभन्दा माथि देखिनु र संविधानभित्र खेल्दै अभिष्ट पूरा हुने अवस्था नदेखिनु, राजा र राजसंस्थाको खुलेआम विरोध गर्ने र खुल्लामञ्चाबाट ठाडो चुनौती दिन सक्ने कम्युनिष्ट पार्टीका महासचिव मदनकुमार भण्डारी समेत राजासँग गोप्य भेटघाटपछि राजा र संस्थाप्रति नरम भाव प्रकट गर्दै उनि पनि एक शक्ति हुन् भनि अभिब्यक्ति दिनु तथा टनकपुर सम्झौताबारे एकदम ठूलो विरोध गर्दै संसद्बाट पारित नहुने देखिँदा निजको समेत योजनाबद्ध षड्यन्त्रपूर्वक हत्या गराइनु र चोर औंला कहिले दरबारतिर त कहिले आफ्नै पार्टीका सहोदर सहकर्मीतर्फ सोझ्याइदिनु र, राजाप्रतिको दृष्टिकोण कमजोर र दलहरूमा समेत भ्रम छर्न सफल हुनु ।

१०. मदन भण्डारीबाट राजसंस्था ढल्ला कि भन्ने आशामा तुषारापात भइ उपायको रूपमा नयाँ भाइरसको खोजी हुँदै जानु र, नाममा माओवाद (जो चीन र कम्युनिष्ट धारणा हो कि भन्न जनतामा भ्रम छर्नु) ब्यवहारमा र विचारमा आफूअनुकुलको सिंग हालेर राखिएको नयाँ द्वन्द्वको बिजारोपण गरिनु, हातहतियार, तालिम प्रशिक्षण, आश्रय समेत दिलाई, बनेका र बन्दै गरेका विकासका आधारशिला, बैंक, दुरसञ्चार, प्रहरी चौकी, सरकारी भवन तथा कार्यालयहरू विद्यूत आयोजना लगायतका राज्यका भौतिक संरचना ध्वस्त पारियो, शान्ति भङ्ग गराइयो, धार्मिक, सांस्कृतिक सहिष्णुतामा खलल पुऱ्याइयो, सामाजिक एकतामा जातियताको बीज रोपियो र सद्भाव खल्बल्याइयो, आर्थिक स्थिति कमजोर, उत्पादन कमजोर, ग्रामिण क्षेत्रबाट मानिसहरू सुरक्षा खोज्दै सदरमुकाम, सहर र कतिपय विदेशतिर पलायन हुने स्थिति बनाइयो ।

११. २०५५ सालमा अर्थ विधेयकभित्र छद्मरुपी नागरिकता विधेयक घुसाइ लालमोहर लगाउने प्रयास विफल हुनु, विभिन्न प्रयासका बाबजुद ६ वर्षसम्म द्वन्द्व चल्दा पनि राजा वीरेन्द्रबाट द्वन्द्वको मिलनविन्दु नपहिल्याउनु, द्वन्द्वको कारण हातहतियार सकिँदै जानु, सेनाको हतियारसमेत सशस्त्र प्रहरी स्थापना गरि त्यता हस्तान्तरण गरिनु, रुस, चीन तथा बेल्जियमबाट हतियार ल्याउने र सेना प्रयोग गर्ने गुप्त योजनाबारे जासुसहरूद्वारा थाहा पाउनु, सोझै वार्ता गरी केही माग सम्बोधन समेत गर्ने तयारी बारेको सुचना पाइ संस्था नै समाप्त पार्ने निचोडमा पुग्नु र त्यसका लागि दरबारभित्रका हरेक पात्रको काम–कारबाही, आनीबानी, ब्यवहार, खानपिन, उठबस, अन्तरंग सम्बन्धहरू र ब्यक्तिगत कमजोरीबारे गोप्य अनुसन्धान हुनु र चलिरहेको पारिवारिक टकराव र त्यसको कमजोरीलाई समाधान गराउने नममा हत्याको योजना बनाइनु ।

१२. आफूले रोजेकी केटी बिहा गर्न नपाउने त्यो पनि राजाको छोरा भएर, भगाए भइहाल्यो नि, नत्र युवराजको मुकुट उतारेर स्वेच्छिक विवाह गर्ने नि जस्ता सल्लाह दिने र युवराज दीपेन्द्रलाई उत्तेजित बनाइराख्ने । विभिन्न अफवाहपूर्ण मनगढन्ते कुराहरू सुचनाको रुपमा पुनः आमा ऐश्वर्यकोमा पुऱ्याउने अनि उताबाट नजरबन्दमा राखिदिने चेतावनी आएको भनि युवराजको कान फुक्ने, कहिले भाइ निराजनलाई युवराज बनाउने योजना रहेको भन्ने भन्ने जस्ता भ्रामक कुरा लगाएर युवराज दीपेन्द्रमा आमा र बुबाप्रति अनास्था र वितृष्णाको विजारोपण गर्दै जाने ।

१३. युवराज नशामा रहेका बखत कहिलेकाहीँ उपरोक्त समस्याहरूको समाधानस्वरुप कहिले बाधक रहेकी आमालाई, कहिले आमा र भाइलाई त कहिले बाबुलाई बाटोबाट हटाएमा भनेकी केटीसँग नि बिहे हुने र राजा नि बन्न पाइने जस्ता सल्लाह दिलाउने गरिनु र उक्साइरहनु, उत्प्रेरित गरिरहनु ।

१४. त्यस योजनाहरू मध्ये गोप्य र एकान्तमा बुबाको हत्या गरे अनुसन्धान हुने, आमाले हस्तक्षेप गरि भाइलाई राजा बनाउने, आफूलाई जेल पठाउने बरु परिवारको भेला भएको ठाउँमा भए बाहिरी मानिस, अरु कसैले थाहा नपाउने तथा परिवारका सदस्यहरूकै सामुन्ने भएमा सबैले डरले तैँ चुप मै चुप हुने र आफू स्वघोषित राजा हुने, स्वचालित हतियार पड्किएर राजाको मृत्यु भएको खबर सम्प्रेषण गर्ने र नशा सेवन गरे सो कार्य गर्न सकिने जस्ता सल्लाह दिइ निजलाई उक्त कार्यका दुरुत्साहन गरिनु जस्तो स्थितिको चरम अवस्थाले नै सो घटनाको पृष्ठभूमि तयार भएको देखिन्छ, र मिति २०५८/०२/१९ गते शुक्रबारका दिन सपरिवार बंश विनासको घटना घट्न गयो । त्यसपछिको परिस्थिति र राजसंस्थाको विस्थापनमा के-कस्ता भूराजनीतिक, रणनैतिक योजना र कारणहरू थिए भन्नेबारे आगामी लेखमा चर्चा गरिने छ ।