युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त


चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नवीन प्रडक्टसहितको निर्जीवन बिमा सेवा दिने कम्पनीको पंक्तिमा उभ्याउने अध्यक्षको प्रतिबद्धता

युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएपछि कम्पनीको सचिवमा उपाध्याय नियुक्त भएका हुन् ।

यही जेठ १४ गते बसेको सञ्चालक समितिको निर्णयानुसार उपाध्यायलाई सचिव नियुक्त गरिएको सो कम्पनीले जनाएको छ ।

ज्ञातव्य छ, युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार गत आइतबारदेखि सुरु भएको छ  । कम्पनीले आगामी चार वर्षभित्र उत्कृष्ट पाँच निर्जीवन बिमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ  ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार आयोजित एक कार्यक्रममा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरे । मर्जरसँगै कम्पनीको चुक्तापुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सिलवालले बिमा कम्पनीले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए भने युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नवीन प्रडक्टसहितको निर्जीवन बिमा सेवा दिने कम्पनीको पंक्तिमा उभ्याउने प्रतिबद्धता जनाए ।