अटुट प्रेम र विवाहको लागि ख्याल गर्नुपर्ने कुराहरू !

अटुट प्रेम र विवाहको लागि ख्याल गर्नुपर्ने कुराहरू !


विवाह चिना हेराएर हैन गुणहरूको समानता केलाएर गर्नुपर्छ

✍ डिल्ली अम्माई

कानुनी विवाह, सगोत्र विवाह, अनमेल विवाह, अन्तरजातीय विवाह, अवैध विवाह, टामटुमे विवाह (परिचितहरूदेखि टाढा गएर वा थोरै खर्चमा गरिने विवाह), दुईचम्के विवाह (सट्टापट्टा गरेर गरिने विवाह), पुनर्विवाह, बहुविवाह, बालविवाह, गन्धर्बविवाह र बेलविवाह गरेर नेपालमा धेरै किसिमका विवाहहरू प्रचलनमा थिए । तर अहिले ती सबै विवाहलाई प्रेममा आधारित विवाहले प्रतिस्थापन गर्दै लगेको छ । अचेल विवाहमा जन्मकुण्डलीको समानता हैन रुचि र जीवनचक्रको समानता हेर्न थालिएको छ । यो सुन्दर कुरा हो ।

विवाह वा सम्बन्धलाई प्रेममय बनाउन विवाह गर्न लागेका केटा र कतिका समान आदत, विशेषता र जीवनपद्दतिले निर्णायक भूमिका खेल्दछ ।

सम्बन्धमा आउन लागेका वा प्रेमबारे सोचिरहेका केटा-केटीले खराव लत वा आदत जस्तो कि, सुर्तीजन्य पदार्थको सेवन, मध्यपान र ड्रग आदि लिने आदत छ भने पनि खुलेर कुरा गर्नुपर्छ । त्यस्तै, खराव आदत जस्तो कि, जुवातास तथा लाटरी आदिका कारण पनि कतिपय परिवारमा विखण्डन आएको हुन्छ । यस्ता कुरा कसैले कसैलाई ढाँटेर सम्बन्ध बनाउन खोज्नु एक प्रकारको धोका हो । उनीहरूको सम्बन्ध हुनुअघि प्रेम सम्बन्ध भएका छन् र सँगै बस्नेसम्म गरिएको भए ती कुरा कहीँ न कहीँबाट जानकारी प्राप्त हुन्छ । त्यसले भविष्यको सम्बन्धलाई धेरै अगाडि लैजान दिँदैन । यदि त्यस्ता सम्बन्ध थिए र अहिले ब्रेकअप भइसकेको छ भने पनि एकले अर्कोलाई खुलस्त भन्नुपर्छ ।

आदतमा समानता नभएर कसैले ढोका दिनु वा ब्रेकअप हुनु वास्तवमा कमसल बुझाइको परिणाम भएपनि अपराध भने हैन । त्यसलाई इस्यु बनाएर समानताको सम्बन्धलाई विकसित देशमा अस्विकार गरिँदैन ।

सुन्दर सम्बन्धको आधार आधा मनोविज्ञान, आधा जीवनपद्दति र केही संस्कारसँग जोडिएको हुन्छ । आस्तिकले नास्तिक मन नपराएझैँ एक जिम गर्ने स्वास्थ्यप्रति सचेत मान्छेले अल्छी मानिस मन पराउँदैन । त्यस्तै सँगीतप्रति रुचि भएको मानिसले आफूजस्तै जीवनसाथी मनपराउँछ भने साहित्यप्रेमीले साहित्यप्रति रुचि राख्ने साथीसँग हेलमेल हुन बढी रुचाउँछ । खेललगायत हरेक रुचिप्रतिको धारणा त्यही हो । जसले पनि आफ्नै जस्तो स्वभाव भएको मानिसलाई मन पराउँछ ।

मनोरोग तथा स्वास्थ्य, करिअर तथा स्वतन्त्रताको उपभोग, पारिवारिक पृष्ठभूमि, समय समायोजन, जीवन जिउने तरिका र भविष्यको योजनाबारे नबुझी वा एकआपसमा समझदारी नगरी गरिने विवाहमा कुनै पनि बेला खटपट आउन सक्छ । यस सन्दर्भमा पनि केही गुणहरूको केटा वा केटीमा समानता हुनैपर्छ, जसलाई हामीले आधारभूत गुणबीच हुने समानताको रूपमा बुझ्दछौँ ।

त्यसमा दृष्टिकोणको कुरा पहिलो नम्बरमा आउँछ भने त्यसपछि जीवनशैली, स्वभाव, रुचिका कुराहरू पनि आउँछन् । भनिन्छ जिउने धारणा, स्वभाव र मूल्य मान्यताहरू समान भएनन् भने जोडीबीच झगडा भइरहन्छ ।

सम्बन्धका आधारहरू खाली भौतिक र कस्मेटिक मात्र हुँदैनन् । आस्थागत, आत्मगत र शैक्षिक समानताभित्र पनि हुन्छन् । बयस्क चेतनाको तह, हुर्केको वातावरणको प्रभावले निर्माण गर्दछ । युरोपमा हुर्केको बच्चा अत्यन्त अनुशासित हुन्छ । त्यहाँ सबैकुरा सिष्टममा चलेका हुन्छन् । फोहरको बिसर्जन, सिकाइको प्रक्रिया, ज्ञानको रूपान्तरण, स्वास्थ्य सतर्कता, पूर्ण हुर्काइको प्रक्रिया, यातना वा मानवताको बारेमा सचेतता सबै क्षेत्रमा नेपालभन्दा युरोप धेरै अगाडि छ । सम्बन्धको लागि बाँच्ने उमेरको औसतमा हेर्दा विकसित देश र गरिव देशका मानिसको उमेरको अलिकति फरकले खासै असर गर्दैन ।

सोच्ने तरिकामा नेपाल भन्दा विकसित देश पचासौँ गुणा अगाडि हुने कुरा सम्बन्धित विज्ञहरूले बताएका छन् । त्यसैले यी सबै कुरालाई औसतमा हेर्दा विकसित देशमा पढेका केटा र नेपालका केटीको सम्बन्ध वा ठिक त्यसको उल्टो सम्बन्धमा केही लामो अनौपचारिक सम्बन्धले सहजता प्रदान गर्दछ । त्यसैले सञ्जाल वा फोन सम्पर्कबाट केटाकेटीले आपसी सम्बन्धलाई केही समय चल्न दिएर एकले अर्कोलाई बुझ्ने अवसर प्रदान गर्नु अभिभावकहरूको कर्तब्य हुन आउँछ ।

त्यसपछि भविष्यका योजनाहरूमध्ये सन्तानबारे पनि आधुनिक परिवारमा एक मत हुन जरुरी मानिन्छ । यदि हुनेवाला जोडीबीच अन्तरविरोध उत्पन्न भएमा समस्याको समाधान गर्ने तरिकाबारे पनि कमसेकम समझदारी हुनु जरुरी हुन्छ । केटा विदेश र केटी नेपाल बस्ने वा त्यसको उल्टो परिस्थितिमा रहने अवस्था हो भने पनि विवाहपूर्व नै स्पष्ट कुरा राख्नुपर्छ । पारिवारिक अवस्थाको पूर्ण विवरणसहित घर चलाउने परिस्थिति, आर्थिक अवस्था वा समस्याका कुराहरू छन् भनेपनि कुरा क्लियर हुँदा सम्बन्धमा खिचातानी हुँदैन ।

अन्य कुराहरूमा विगत, आगतका अनुभव र श्रमबारे समानताहरू पनि एकैखाले हुँदा एकले अर्काको दुःख बुझ्ने हुन्छ । एकअर्काका विगतबारे बुझ्ने/बुझाउने गर्दा भविष्यमा विश्वास र प्रेमको आधार बलियो हुन्छ । त्यसपछि दुवैले आगामी योजना बारेमा पनि खुलेर कुरा गर्नुपर्छ । यी सबै कुराको समानता तथा बुझ बुझारथले विवाह वा सँगै जीवन जिउनको लागि अनुकूलता प्रदान गर्दछन् ।

सम्भावित जोडी धेरै स्तरहरूमा माथिका कुराहरूसँग मिल्ने अवस्थामा छन् भने त्यो सम्बन्ध टुट्ने सम्भावना कम हुन्छ । वैवाहिक सम्बन्ध जोड्ने वा प्रेम सम्बन्धको लागि मन्जुरी प्रदान गर्ने सम्बन्धमा केही मनोविदहरूले अनुसन्धान गरेका छन् । जस्तो कि,

– सन् १९५० र १९६० को दशकमा, मनोवैज्ञानिक एरिक बर्नले आफ्नो लागि सही ब्याक्ति छान्न, व्यक्तिको स्वभाव बुझ्न र सम्बन्ध गाँस्नको लागि तीन तहको मोडेल पेश गरे, यसमा निम्न कुराहरू पर्दछन् :

१. आमाबाबुको स्तर समान छ वा फरक ? के जोडीसँग धार्मिक, सांस्कृतिक रूपले समान मूल्य र मान्यताहरू छन् ?

२. जोडीको बालककालको हुर्काइमा समानता छ ? के तपाईंहरू आफ्ना मतभेदलाई मिलेर सहजीकरण गर्न सक्नुहुन्छ ? के तपाईंलाई आफ्नो पार्टनर आकर्षक लाग्छ ? के तपाईं सँगै यात्रा गर्न चाहनुहुन्छ ?

३. वयस्क स्तरमा दुवैले एकआपसमा मनपराएको कुरा के हो ? तपाईंले एकअर्कालाई सवल र आकर्षक छौँ जस्तो लाग्छ ? के तपाईं सँगै समस्याहरू समाधान गर्न सक्नुहुन्छ ?

थप महत्वपुर्ण जानकारी आदानप्रदानको लागि एकअर्कोमा सोधिने प्रश्न यी पनि हुन सक्छन्- जस्तै, विवाहलाई कसरी बुझ्नुहुन्छ ? विवाह किन गर्दै हुनुहुन्छ ? विवाहपछि पार्टनरको काम कर्तब्य र अधिकारबारे तपाईंको बुझाइ के हो ? विवाहपछि तपाईंको पार्टनरबाट के अपेक्षा गर्नुहुन्छ ? तपाईंको मन पर्ने खाना, खेल र हबी के हो ? पारिवारिक वा सामुहिक जीवन ठिक कि प्राइभेट जीवन ठिक लाग्छ ? आप्रवाशन वा प्रवासी बसाइबारे तपाईंको धारणा के छ ? हामी प्रवाशमा सँगै लामो समय बस्न सकिएला कि ? तपाईंको कसैसँग पूर्ववत सम्बन्ध थियो कि ! स्वास्थ्य समस्या केही छ ? दीर्घकालिन स्वास्थ्य समस्या केही भए भन्नुहोस् । मेरो वर्तमान अवस्था र पारिवारिक पृष्ठभूमिबारे जानकारी लिने भए सोध्नुहोस्… जस्ता आवश्यक प्रश्नहरूले दुवैको जीवन, भोगाइ र वैचारिक समानता तथा भिन्नताहरू बुझ्न सहयोग गर्दछ ।

माथि बताइएका विषयमा पनि दुवैले समान धारणा बनाउन जरुरी छ । त्यसले उनीहरूको सम्बन्धलाई थप भरोसायोग्य बनाउने छ । पढेलेखेका जोडीले यस्ता कुरालाई हेलचेक्ऱ्याइँ गर्नु हुँदैन । किनकि यस्ता कुराले भविष्यमा समस्या ल्याउन सक्छ । नेपालको सन्दर्भमा सामुहिक परिवारमा बस्नुपर्ने अवस्था हो वा ब्याक्तिगत ? यसलाई पनि एउटा समझदारी बनाएर लैजानुपर्छ । विवाहपछि यस्ता कुराले घरमा विवाद आयो भने बाबु-आमालाई पनि मानसिक असर गर्न सक्छ । त्यसकारण यस्ता गम्भीर विषयहरूलाई बुद्धिमान छोराछोरीले अगाडि नै सहमति गरेर अघि बढ्छन् ।

माथि बताइएका तीनवटै समानताबीचको सम्बन्धलाई आदर्श सम्बन्धको रूपमा लिन सकिन्छ । यति भएपछि जोडीले आफ्नो दिनचर्या सन्तुलनमा राख्न सक्छन् । दुवैबीच पुराना सम्बन्धमा खुलेर कुरा भएन, सारीरिक र स्वास्थ्यका कुराहरूमा दुवैले खुलेर कुरा गरेनन् भने सम्बन्ध खल्बलिन्छ । जस्तोकि डिप्रेशन वा दिमागी रोग, चरिफाई (क्षारे रोग), पूर्ववत ठुला-साना अप्रेशन वा बच्चा नहुने नपुंसकता जस्ता शारीरिक अवस्थाबारे पनि दुवै खुल्न सक्नुपर्छ । अन्यथा अन्यत्रबाट थाहा पाएका कुराले सम्बन्ध बिग्रन जान्छ । हरेक कुरामा उनीहरूले एकापसमा पार्टनरले धोका दिइरहेको सम्झी झगडा गरिरहन सक्छन् र अन्त्यमा डिभोर्स हुन्छ । तसर्थ दुवैका अनुकुलता र प्रतिकुलताबारे प्रष्ट कुरा भएपछि मात्र सम्बन्ध तय गरिनु जायज हो ।

युवक-युवतीले जीवपर्यन्त सुमधुर सम्बन्धको लागि विवाहपूर्व ध्यान दिनुपर्ने कुरा र विवाहपछि ध्यान दिनुपर्ने कुरालाई अलग-अलग हेर्नुपर्छ । केटा वा केटीले आपसी सम्बन्ध सुमधुर बनाउनको लागि धेरै कुरामा समानता हुनु जरुरी हुन्छ ।

विवाहपूर्व ध्यान दिनुपर्ने कुराहरू :

माथि नै बताइसकियो कि विवाहपूर्व प्रेमपुर्ण वातावरणमा परिचयात्मक रूपले अघि बढ्नुपर्छ । त्यस खालको परिचय अघि बढ्दै जाँदा दुवै युवायुवतीले आफ्ना पारिवारिक र आदतका बारेमा पनि गफ गर्न थाल्दछन् । दुवैतर्फको घरायसी परिवेशको जानकारीले उनीहरूमा भएको आर्थिक र सामाजिक समानताको बारेमा ज्ञात हुन्छ । ती सबै कुरामा मिल्दा कुराले उनिहरूबीच भावनात्मक सामिप्यता प्रदान गर्छ र कमसेकम साथी बन्ने वातावरण बनाउँछ । अब साथी बनिसकेपछि उनीहरू अझ खुल्दै गएपछि आफ्ना रुचि, ज्ञानको क्षेत्र, करिअर र भविष्यका योजनाहरूबारे हुने छलफललाई प्रोत्साहित गर्छ । रूप वा शारीरिक बनावट भन्दा गुण र आदतहरूको समानता महत्वपुर्ण हो भन्ने निष्कर्षले जोडीलाई लामो सम्बन्धको नजिक लैजान्छ । यदि रूपको कुरा मात्र प्रधान भयो भने आपसमा हुने प्रेमपूर्ण वार्तालाप देखावटी मात्र हुन्छ र त्यसले वैवाहिक जीवनपछिको सम्बन्धमा खतरा निम्त्याउन सक्छ । त्यसैले वैवाहिक सम्बन्धका विज्ञहरूले भनेका छन् कि, तपाईंको स्वास्थ्य र सम्बन्धको कारण वैवाहिक यौन, सामाजिक र पारिवारिक दायित्व पूरा गर्न नसक्नु दीर्घकालिन सम्बन्धको लागि दुःखद कुरा हुनेछ । हरेक कुरामा खुल्नुस्, स्वास्थ्यलगायत कुनै पनि कुरालाई नढाँट्नुस र भोलिको जीवनसाथीलाई असल र विश्वासिलो मित्र बनाउनुस् । तपाईंको स्वभावसँग मिल्ने भएमात्र जीवनसाथी बनाउनुहोस्, अन्यथा साथी मात्र बनाएर सम्बन्धलाई खुशी र रमाइलो तुल्याउनुहोस् । सबैभन्दा खुसीको विवाह सबैभन्दा राम्रो साथीहरू बीचको हो ।

त्यसैले विवाहअगाडि विचारहरूको बुझबुझारथ, जीवनशैली र स्वास्थ्यबारेको स्पष्ट कुराकानी तथा समान प्रतिक्रिया नै प्रेमको अंकुरणको बलियो आधार हो । विवाहपछि भने आपसी विश्वास, समयको ब्यवस्थापन र प्रेमपूर्ण वातावरणबीच पूर्ण यौनसन्तुष्टि आवश्यक हुन्छ । त्यसैले प्रेम नै जोडीको जीवन जिउने प्रमुख आधार हो ।

ग्रीन्सबोरोको उत्तरी क्यारोलिना विश्वविद्यालयको २०१४ को अध्ययनले १८ वर्षको उमेरमा सहवास गर्ने अमेरिकी महिलाहरूको सम्बन्धविच्छेद दर ६० प्रतिशत देखाएको छ, तर २३ वर्षसम्म पर्खेर सहवास गर्ने महिलाहरूको सम्बन्धविच्छेद दर ३० प्रतिशत छ । यो पश्चिमा समाजमा हुने यौनसम्बन्ध र उमेरबीचको असरबारे एउटा अनुसन्धानको प्राक्टिकल नतिजा हो । तर एसियामा वैवाहिक सम्बन्धमा यस्तो कुनै अनुसन्धान गरिएको देखिँदैन ।

‘दम्पतीहरूले पहिलो प्रतिबद्धता- सहवास वा विवाह गर्न जति लामो समयसम्म पर्खन्छन्, उनीहरूको वैवाहिक सफलताको सम्भावना त्यति नै राम्रो हुन्छ’, द एट्लान्टिकले रिपोर्ट गरेको छ ।

राम्रा साथीहरूको बीच हुने विवाहले नै जीवनमा सबैभन्दा खुशी दिन्छ । त्यसैले विवाहपूर्व साथी बन्नु अनिवार्य हुन्छ । साथी बनिसकेपछि साथी कति अवसरवादी छ वा इमान्दार छ, थाहा हुन्छ । इमान्दार साथीले विवाहपूर्व यौनको प्रस्ताव राख्दैन र सामाजिक र पारिवारिक इज्जतलाई प्रत्येक पाइलामा हेक्का राख्छ ।

सन् २०१४ को एक अध्ययनले पत्ता लगायो कि मित्रतापछिको विवाहले वास्तवमा बढ्दो सामाजिक कल्याणको नेतृत्व गर्ने रहेछ । उक्त अध्ययनले निष्कर्ष निकालेको छ कि विवाहले सुख-शान्ति बढाउँछ र यसले आफ्नो जीवनसाथीसँग घनिष्ठ मित्रता भएका अन्य मित्रहरूलाई पनि नजिक ल्याउने काम गर्छ । विवाह र जीवन सन्तुष्टिबीच अत्यन्त नजिकको सम्बन्ध रहेको कुरा पनि अध्ययनले देखाएको छ ।

एट्लान्टिकको मेगन गार्बरले रिपोर्ट निकालेको छ कि ‘एक दम्पतीको उमेरमा पनि ख्याल गरिनुपर्छ । उमेरको फरकमा ठाउँविशेषले पनि फरक पारेको हुन्छ । जस्तो- नेपालमा हरेक किसिमका विभेद र सामाजिक अन्धविश्वासको कारण विकसित देशमा हुर्केका युवाहरू भन्दा नेपालमै हुर्के/बढेका नयाँ पुस्ताको मनोविज्ञान केही वर्षले तलमाथि गराइदिन्छ । मनोविज्ञान सामाजिक परिवेशको उपज भएकोले यसले उमेरको हदमा पनि फरक पार्न जान्छ ।

अर्को कुरा, जोडीमध्ये एउटा काम गर्न सक्ने र मेहनती छ तर अर्को सँगै काम गर्न नसक्ने छ भने उनीहरूबीच असन्तुष्टि छिट्टै बढ्छ । एक सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढी अमेरिकीहरूले सफल वैवाहिक जीवनमा कामको ख्याल राख्ने कारणले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

अर्को कुरा, यदि तपाईं आफ्नो जीवनसाथीमा आर्थिक रूपले निर्भर हुनुहुन्छ भने, तपाईंले साथीलाई धोका दिने सम्भावना बढी हुन्छ । जब सेक्सको कुरा आउँछ, त्यसमा प्रभावकारी सहबासले प्रेमलाई गुणात्मक रूपले प्रभाव पार्छ । खुसी जोडीहरूले सामाजिक दबाब वा परिवारको चाहनाले नभएर प्रेमका कारणले विवाह गर्छन् । अहिले सोसल मिडियाको लतले पनि धेरै परिवारलाई विग्रहमा लगिरहेको छ । त्यसैले जोडीले आफ्नो विवाह गर्नुअघि आफ्नो पार्टनरको सोसल मिडियामा परेको लतको बारेमा समेत कुरा गर्न आवश्यक छ । आफू र आफ्नो पार्टनर जति परोपकारी र सामुहिक हितलाई ध्यान दिने स्वभावको हुन्छ, जोडी त्यति नै खुशी र आनन्दित रहनेछन् ।

विवाहपछि मानवीय अन्तर-व्यक्तिगत सम्बन्धमा धेरै चुनौतीहरू थपिन्छन् । अतः दुवैले सानोतिनो मतभेदलाई कलहको बिउ बनाउनुभन्दा उपयुक्त तरिकाले प्रेमपूर्ण बनाउने कुरामा ध्यान दिनुपर्छ ।

त्यसैगरी वैवाहिक जीवनमा शितल स्वभावले वैवाहिक द्वन्द्वलाई रोक्न मात्र होइन, शारीरिक दुर्व्यवहार र सम्भवतः सम्बन्धविच्छेदबाट पनि जोगाउन निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।

विवाहको लागि उत्तम स्वभाव संयोजन के हो ?

एकअर्कालाई आधारभूत वैवाहिक यौन दायित्वहरू पूरा गर्नु विवाहको मुख्य पक्ष हो, जुन विभिन्न स्वभावका पति वा पत्नीहरूले बेवास्ता गर्नु हुँदैन । प्रत्येक पक्षले उनीहरूलाई यौन सन्तुष्ट बनाउनको लागि आफ्नो दायित्व पूरा गर्नुपर्छ । तसर्थ, प्रत्येक सामान्य वा स्वस्थ जोडीले घरमा आफ्ना यौनचाहना सहजै पूरा गर्ने वातावरण हुनुपर्छ ।

विवाहपछि, सहवास गर्दा खुलेर, एकले अर्काको चाहनालाई ख्याल गर्दै, दुवैले पूर्ण सन्तुष्टि पाउने गरेर सहवास गर्नुपर्छ । आफूलाई मन लाग्यो भन्दैमा प्रेमीको इच्छा, स्वास्थ्य अवस्था र थकानलाई बेवास्ता गरि सेक्स अफर गरिहाल्ने पुरुष वा महिला स्वार्थी हुन् । यौन सम्बन्ध राख्दा पनि लामो समयसम्म पाक क्रिडा गरी भरपूर आनन्द उठाउनुपर्छ । अहिले पाक क्रिडाभित्र सफा गरिएका योनाङ्गहरूको मुखमैथुनलाई पनि समेटिएको छ । यौन सम्बन्धमा प्रेमी–प्रेमिका वा जोडीहरूले खुलेर कुरा गर्नुपर्छ, किनकि यौन मानिसको मात्र नभएर जीव जगतको प्राकृतिक आवश्यकता हो । भनिन्छ, नयाँ जोडीको प्रथम सहवास स्वर्गीय आनन्दको उच्चतम उपभोगमा सदा अविष्मरणीय बन्न सक्नु पर्दछ । त्यसको लागि दुवैलाई दुवैको समान सहयोग आवश्यक हुन्छ ।

स्विस मनोचिकित्सक कार्ल जंगले भनेअनुसार साङ्गुइन्स र कोलेरिक्सलाई बहिर्मुखीका रूपमा वर्गीकृत गरिएको छ, जबकि मेलान्कोली र फ्लेग्मेटिक्सहरू अन्तर्मुखी हुन् ।

साङ्गुइन्स सुपर एक्स्ट्रोभर्टहरू हुन् । तिनीहरू आफ्नो घरमा भन्दा बाहिर साथीहरू र प्रशंसकहरूसँग धेरै समय बिताउँछन् । साङ्गुइनहरूसँग आफैंमा आनन्द लिने प्राकृतिक र असामान्य क्षमता हुन्छ र, यो रमाइलो-मायालु भावना अरूलाई पनि हस्तान्तरण गर्दछन् । तिनीहरू स्वभावको वर्ग हुन् जुन कहिल्यै साथीहरूको अभावमा हुँदैनन् । उनीहरूका छोराछोरीसहित उनीहरूका जीवनसाथीहरूले पनि घरमा हुँदा पनि न्यानो, जीवन्त र उत्साही प्रकृतिको आनन्द लिन्छन् ।

यद्यपि, जीवन्त, न्यानो र रमाइलो स्वभावका बावजुद, तिनीहरूको प्रमुख कमजोरी भनेको आत्मअनुशासन तथा नियन्त्रणको कमी र तर्कको सट्टा भावनामा आधारित निर्णयहरू गर्नु हो । साङ्गुइनहरूमा अनुशासनको कमी हुन्छ जसले चीजहरूप्रति उनीहरूको मनोवृत्तिलाई पनि असर गर्छ । तिनीहरू लगभग हरेक कुरामा धेरै गम्भीरता देखाउँछन्, किनकि तिनीहरूले आफ्नो आनन्दको बीचमा केही पनि आउन दिँदैनन् । साङ्गुइन मनोवृत्ति र जीवनशैलीले स्पष्ट रूपमा उनीहरूको विवाह र सम्बन्धलाई असर गर्छ, विशेष गरी धेरै व्यवस्थित र अनुशासित रूपले बच्चाहरू हुर्काउने क्रममा साङ्गुुइन स्वभाव भन्दा अन्तर्मुखी स्वभाव भएकाहरू बढी भरपर्दा मानिन्छन् ।

साङ्गुइनहरू पछिको स्वभावमा कोलेरिक्सहरू सजिलै दोस्रो सबैभन्दा बहिर्मुखी हुन्छन् । तर साङ्गुइनहरू भन्दा फरक, कोलेरिक्सहरू धेरै मेहनती, अनुशासित, निर्णायक, जीवन्त र आत्मनिर्भर व्यक्तिहरू हुन् । विचारशील हुनु, उच्च महत्वाकांक्षी हुनु, आक्रामक हुनु र अरूको भावनालाई विचार नगर्नु तिनीहरूको प्रमुख कमजोरीहरू हुन् ।

कोलेरिक्स (ऋजयभिचष्अक) स्वभावका युवायुवतीहरू नेता बन्ने प्राकृतिक स्वभावका हुन्छन् । जीवन्त, सक्षम, निर्णायक, व्यावहारिक र आत्मनिर्भर व्यक्तिहरू जसले प्रतिकूलता वा चुनौतीहरूलाई आफ्नो भाग्यको निर्णय गर्न अनुमति दिँदैनन् ।

कोलेरिक्स निडर हुन्छन् र कुनै पनि प्रकारको प्रतिकूलताबाट डराउँदैनन् । तिनीहरू सबै स्वभावहरूमध्ये सबैभन्दा आत्मविश्वासी र व्यावहारिक हुन्छन् र तिनीहरूले प्राप्त गर्न खोजेको जे पनि हासिल गर्न सक्षम हुने मानिन्छन् । तिनीहरूको दृढताले तिनलाई अरूको ठाउँमा सफल बनाउँछ ।

मेलान्कोली र फ्लेग्मेटिक्सहरू अन्तर्मुखी स्वभावका आत्मस्वाभिमानी हुन्छन् । यस्ता मान्छेहरू दार्शनिक स्वभावका हुने भएकोले अध्ययन अनुसन्धानमा बढी लाग्छन् । काममा बढी दिलचस्वी हुने भएकोले यस्ता मानिसले आफ्नो क्षमतामा छिट्टै गुणात्मक छलाङ लगाउँछन् । अन्तर्मुखी स्वभावले धेरै बोल्दैनन् तर ती ज्ञानी हुन्छन् ।

सकारात्मक अन्तरक्रियाबारे :

जोडीबीच सकारात्मक अन्तरक्रिया भावनात्मक चञ्चलता र निकटतासँग जोडिएर आउँछ । गम्भीर तर्कको बीचमा पनि, सफल वैवाहिक साझेदारहरू हाँस्ने, हल्का जिस्काउने, कतै एकान्तमा गुनगुनाउने, प्रेमका कुरामा रमाउने, एकअर्कालाई छुने वा राम्रो कुरा व्यक्त गर्ने जस्ता कुराले उनीहरूको भावी सम्बन्धलाई पूर्णता दिइरहेको हुन्छ । प्रेमी–प्रेमिका बीचका यस्ता सकारात्मक अन्तरक्रिया वैवाहिक सम्बन्धका लागि राम्रा लक्षणहरू हुन् ।

विवाहअघि सहवास गर्नु नराम्रो विचार हो तर पनि यो विवाहको लागि निर्णायक पक्ष भने हैन । विवाह र परिवारको जर्नलमा प्रकाशित सन् २०१४ को अध्ययनले सम्बन्धको सफलतामा सहवास र अन्य कारकहरू वरपरका प्रवृत्तिहरूको मूल्याङ्कन गर्दा फेला पऱ्यो कि, विवाहअघि सहवास गर्नु सम्बन्ध रोकिनुको कारण हैन । तर पनि प्रेमीले विवाह नहुँदै करकापमा त्यस्तो सम्बन्ध बनाइहाल्नु उचित हुन्न । सामाजिक मूल्य-मान्यताको आधारमा सम्बन्ध बनाउँदा आगामी दिनहरू सामाजिक विश्वाससहित अगाडि बढ्ने सम्भावना ज्यादा हुन्छ ।

अन्त्यमा, विवाह भन्ने शब्द सुन्दा जति सुन्दर छ जिम्मेवारी बोध गर्न निकै गाह्रो देखिन्छ । नेपाली समाज अन्धो छ । विकसित देशमा विवाह गर्नु या नगर्नु कुनै पनि व्यक्तिको नैसर्गिक अधिकारको कुरा हुन्छ । तर हाम्रो समाजमा कुनै महिलाले विवाह नगरेमा बुढीकन्या बसी, झुमा बसी भन्ने चलन छ । प्रेम सम्बन्ध प्रगाढ बनेपछि विवाह एउटा जीवन जिउने आधार बन्न सक्छ, दुःख-सुखमा साथ दिने एउटा स्वर्णिम समय बन्न सक्छ । तर दुवैले दुवैको स्वभाव नबुझी गरेको विवाहमा समस्या आउन सक्छ ।

श्रीमान्ले घरपरिवारप्रति समय नदिने, मादक पदार्थ सेवन गर्ने, झगडा गर्ने, कुटपिट जस्ता विभिन्न कारणले गर्दा सम्बन्ध विच्छेदका घटनाहरू तीव्र रूपले बढ्दै गएका छन् । प्रवासको रोजगारीले पनि नेपालमा सम्बन्धविच्छेदका घटनाहरू बढ्दो छ । किनभने, श्रीमान् विदेश जान्छ अनि श्रीमतीले परषुरुषसँग सम्बन्ध राख्छिन् । त्यस्तै श्रीमानले पनि परस्त्रीसँग सम्बन्ध गाँसेको पाइन्छ ।

विवाह जीवनसाथीको साथमा जीवन-रथ अघि बढ्ने कार्यको सुरुवात पनि हो । त्यसैले विवाहअघि पर्याप्त विचार पुऱ्याउनु आवश्यक छ । नेपालको परिप्रेक्ष्यमा नेपाली विवाहित जोडीमा थुप्रै समस्या छन् । हिजोको दिनमा आपसी भेट र अन्तरक्रियाविनै विवाह हुन्थ्यो । बुहारीलाई छोरीझैँ नभएर दास झैँ ब्यवहार गरिन्थ्यो । तर, आज भने शिक्षा, चेतना र समयानुकुल परिवर्तनका कारण अत्याचार र महिला हिंसाको विरुद्ध आवाज उठ्न थालेको छ । प्रेमको समस्या शहरमा बढी छ । विशेष गरेर शहरिया जोडीमा दुवै जना प्रोफेसनल हुने धुनले पारिवारिक तथा सामाजिक इज्जतको ख्याल गर्न छाड्यो । सामाजिक रवाफ र धनलाई सम्बन्धको आधार बनायो । प्रेमजस्तो अलौकिक भावनालाई किनबेचको बस्तुमा रूपान्तरण गऱ्यो । त्यसैले शहरिया प्रेमजीवन क्रमशः धरासायी हुँदै गइरहेको छ ।

विवाह करकापमा नभएर प्रेममा आधारित हुनुपर्छ । प्रेमले एकअर्कालाई पूर्णरूपमा बुझ्न/बुझाउन मद्दत गर्छ । एकले अर्कोलाई राम्रोसँग बुझेपछि, सम्बन्धका आधार बलिया भेटिए, दुवैबीच समान गुण धेरै छ र अगाध विश्वास अनि प्रेम छ भने विवाह गरिहाल्नुपर्छ । अन्यथा, करकापमा बनाएको सम्बन्ध कुनै पनि बेला दुर्घटनामा पर्न सक्छ।