शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन


photo: rss

दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए ।

चालु आवमा शिक्षातर्फ सङ्घमा रु १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा रु. पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक करोड बजेट हस्तान्तरण गरिएको थियो ।

बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको उल्लेख छ ।

सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था सरकारले गरेको छ । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ ।

यसैगरी, सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

बिपी कोइराला क्यान्सर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरिएको अर्थमन्त्री महतले जानकारी दिएका छन् ।