एनआरएनए बेल्जियमको उपाध्यक्षमा नेपालको उम्मेदवारी घोषणा

एनआरएनए बेल्जियमको उपाध्यक्षमा नेपालको उम्मेदवारी घोषणा


  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियम (२०२३–२०२५) का लागि उपाध्यक्ष पदमा लोकेन्द्र (पुष्प) नेपालले उम्मेदवारी घोषणा गरेका छन् । संघको पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने नेपाल पहिलो व्यक्ति बनेका छन् ।

उम्मेदवारीका सम्बन्धमा नेपालले आफू पछिल्लो कार्यकालमा संघको कोषाध्यक्ष पदमा काम गर्दा एनआरएनएलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेको र यो मञ्चबाट आफूले प्रवासमा नेपालको पर्यटन, मौलिक कला, संस्कृतिको प्रचारप्रसार गर्न थोरै भएता पनि महत्वपूर्ण भूमिका खेलेकोले यसलाई अझ व्यापकता र निरन्तरता दिन आवश्यक देखेकोले आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन् ।

नेपाल भन्छन्- ‘संघको कोषाध्यक्ष भएपछि आर्थिक कारोबारलाई पारदर्शी बनाउनु र कोष बढाउनु आफ्नो मुख्य लक्ष्य भएको हुँदा मैले सोहीअनुरुप काम गरेँ । अहिले संघको हिसाब किताब हेर्न आउने जो-कोहीलाई एक मिनेटमै सबै हिसाबकिताब देखाउन सक्ने गरी सिस्टमको विकास गरेको छु । विगतमा अन्धाधुन्द खर्च हुने र त्यसको लेखा राख्नसमेत कठिन हुने देखेकोमा आर्थिक मितव्ययिता अपनाएको छु । यसले संघको कोष वृद्धि गर्न सहयोग पुगेको छ । अहिले नेपाल र नेपालीको दुःख-सुखमा सानोतिनो आर्थिक सहयोग र लगानी गर्न सक्ने अवस्था बनेको छ ।’

नेपालले बेल्जियमको समाजलाई एकिकृत गर्दै सामाजिक सद्भाव स्थापना गर्न, एनआरएनए अभियानलाई अझ बढी सशक्त बनाउन र यस अभियानअन्तर्गत नेपाल र नेपालीको कला, संस्कृति, पहिचान र पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने र नेपालमा स्वास्थ्य, शिक्षा तथा भइपरिआउने समस्यामा सहयोग गर्ने आवश्यक रहेकोले आफू उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

नेपाल भन्छन्- ‘बेल्जियमका महिला र युवाहरुलाई एनआरएनए अभियानले ठोस रुपमा समेट्न सकेको छैन । संघभित्र उनीहरुलाई समेट्ने गरी ठोस कार्ययोजना ल्याउन दबाब दिइ महिला र युवालाई संघका क्रियाकलापमा आबद्ध गराउन पनि मेरो उम्मेदवारी हो ।’

नेपालले भने, ‘यो कार्यकालमा संघले दिएको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गरे । त्यसकै प्रेरणाले संघको आवश्यकता महसूस गरी अझ थप सक्रिय रहने पनि मेरो उम्मेदवारी हो ।’

‘संघमा प्रतिनिधित्व गर्ने अधिकांश व्यक्तिले वैचारिक आस्था बोकेको भएतापनि संघलाई सक्रिय राजनीतिमा देखिकाहरुबाट टाढा राख्नुपर्ने अहिलेको आवश्यकता छ । यसो गरेमा ग्रासरुट लेबलमा संघको गरिमा बढ्छ’, उनको भनाइ छ ।

विगत डेढ दशक भन्दा बढी समयदेखि बेल्जियमको लुभेन शहरमा बस्दै आएका नेपाल पेशाले होटल व्यवसायी हुन् । उनी विगत १७ वर्षदेखि होटल तथा रेष्टुरेष्ट क्षेत्रमा कार्यरत छन् । पछिल्लो समयमा उनीले लुभेन स्टेशन नजिक दुईतारे होटल र रेष्टुरेण्ट समेत छ । यसका अतिरिक्त तर पनि उनी बेल्जियममा मिलनसार, उदार, मनकारी र निष्पक्ष व्यक्तिको रुपमा परिचित छन् ।

नेपाल, पूर्वेली समाज लुभेनको संयोजक, झापाली समाज बेल्जियमको सल्लाहकार छन् । गत दुई वर्षपहिले बेल्जियममा आएको बाढीका कारण प्रभावितहरुका लागि राहत संकलन र वितरण उनकै नेतृत्वमा भएको थियो भने आत्मदाह गर्ने प्रेम आचार्यका नाबालक छोरीहरुको पठनपाठनमा सहयोग पुऱ्याउन पनि उनले स्वस्फूर्त रुपमा छोटो समयमै सहयोग संकलन गरी मृतकका छोरीहरुसम्म पुऱ्याएका थिए ।

पुष्प नेपालले नेपाल र नेपालीको हकहित तथा बेल्जियममा नेपाली भाषा, संस्कृति र खेलकुदको संरक्षण र प्रवर्द्धनका लागि सञ्चालन गरिएको अभियानमा पनि उनले दिल खोलेर सहयोग गर्ने गरेको उनी निकट बताउँछन् ।

नेपालको दोश्रो कार्यकालमा उपाध्यक्ष पदका लागि घोषणा गरेको यो उम्मेदवारीलाई भविष्यको नेतृत्वकर्तासँग पनि जोडेर हेरेका छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमले जुलाई २ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनलगत्तै निर्वाचन समितिले निर्वाचनको मिति तोक्ने र निर्वाचन आर्थिक तथा प्रसाशनिक रुपले खर्चिलो र झन्झटिलो हुने हुँदा सकेसम्म सर्वसम्मत रूपले समिति चयन गर्न सके संघ आर्थिक रुपले थप बलियो हुने महासचिव रमेश कँडेल बताउँछन् ।