अमेरिकी चिन्ताको प्रकटिकरण !

अमेरिकी चिन्ताको प्रकटिकरण !


अमेरिका नेपालको त्यस्तो मित्र हो जसले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र अस्तित्व रक्षामा अद्वितीय योगदान पुऱ्याएको छ, अमेरिकी पहलका कारणले मात्र नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको तथ्य विश्वसामु छर्लङ्ग छ र, हामी नेपाली त्यसनिम्ति अमेरिकाप्रति कृतज्ञ पनि छौँ । तर पछिल्ला दशकहरूमा प्रकट ब्यवहारले अमेरिकाप्रतिको नेपाली विश्वास र भरोसामा गम्भीर क्षति पुऱ्याउने खतरा बढाएको छ ।
✍ देवप्रकाश त्रिपाठी

संयुक्त राज्य अमेरिकाको संसद्मा हालै प्रस्तुत एक रहस्यमयी प्रतिवेदनले नेपाल र भारत दुवै मुलुकमा तरङ्ग पैदा गरेको छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र त्यससँग सम्बद्ध संस्थाहरूले नेपालमा हिन्दूराष्ट्रका पक्षमा काम गर्न राजनीतिक दलहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको अमेरिकी विदेशमन्त्री एण्टोनी जे ब्लिकेनद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा कसलाई, कसरी, कहिले र कति रकम उपलब्ध गराएको भन्ने खुलाइएको छैन र, सार्वजनिक गरिएको प्रतिवेदनको अङ्श हेर्दा यो एक चलाखीपूर्ण रणनीतिक कदम भएको आभास हुन्छ । अमेरिकी प्रतिवेदन यस्तो समयमा सार्वजनिक गरिएको छ, जतिबेला यहाँ नेपालमा राष्ट्रवादी शक्तिको मनोबल उच्च बनेको र, हिन्दूराष्ट्रका रूपमा नेपाललाई पुनस्र्थापित गरिने सम्भावना बढ्दै गएको छ ।

अमेरिका जस्तो शक्तिशाली, समृद्ध र नेपालको मित्रदेशले नेपालका राजनीतिक दलहरूलाई मानमर्दन गर्ने कार्य किन गऱ्यो भन्ने प्रश्न एकातिर उठिरहेको छ भने अर्कोतिर कथित नेपाली नेता र नेपाल सरकारले यति गम्भीर विषयमा पनि किन प्रतिक्रिया जनाएका छैनन् भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ । अमेरिका नेपालको त्यस्तो मित्र हो जसले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र अस्तित्व रक्षामा अद्वितीय योगदान पुऱ्याएको छ, अमेरिकी पहलका कारणले मात्र नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको तथ्य विश्वसामु छर्लङ्ग छ र, हामी नेपाली त्यसनिम्ति अमेरिकाप्रति कृतज्ञ पनि छौँ । तर पछिल्ला दशकहरूमा प्रकट ब्यवहारले अमेरिकाप्रतिको नेपाली विश्वास र भरोसामा गम्भीर क्षति पुऱ्याउने खतरा बढाएको छ ।

नेपाली समाजको एकता भङ्ग नगरेसम्म र, नेपालको राज्य कमजोर नबनाइँदासम्म यो पवित्र भूमिको रणनीतिक उपयोग गर्न नसकिने देखिएपछि दशकौँदेखि नेपाललाई अस्थीर र विपन्न तुल्याइराख्ने नियोजित दुष्चक्र चल्दै आएको छ । विक्रम सम्वत् १८२५ मा नेपाल एकीकरणको बलियो जग बस्नेबित्तिकै यहाँबाट इसाई धर्म प्रचारमा संलग्न पादरीहरूलाई देशनिकाला गरिएको थियो । पूर्वीय सभ्यतासँग जोडिएका हरेक धर्म, संस्कृति र परम्पराको रक्षाप्रति अत्यन्तै सम्वेदनशील पृथ्वीनारायण शाह इसाईहरूप्रति किन्चित सहानुभूतिशील देखिएनन् । काठमाडौंलाई राजधानी बनाएर गद्दीनशीन भएलगत्तै उनले इसाईहरूलाई नेपाल छोड्न उर्दी गरेका थिए । पृथ्वीनारायण शाहको यस दूरगामी कदमलाई विक्रम सम्वत २००७ (१८२ वर्ष)सम्म जस्ताको त्यस्तै नेपालले पछ्यायो, राणा शासनको १०४ वर्षमा बेलायत र बृटीष भारतसँग घनिष्टतम् सम्बन्ध कायम भइरहँदा पनि राणाहरूले धर्म, संस्कृति र राष्ट्रियतासम्बद्ध विषयमा कुनै सम्झौता गरेनन् । बेलायत भ्रमणमा गएको राजकीय टोलीले म्लेच्छहरूले छोएको खान नमिल्ने भन्दै महारानीले दिएको रात्रीभोजमा समेत फलफूल मात्र ग्रहण गरेको र, भ्रमणबाट नेपाल फर्कने क्रममा भारतीय भूमिमै विशेष पूजा लगाएर शुद्ध भइ भ्रमण टोली स्वदेश भित्रिएको तथ्य इतिहासमा पढ्न पाइन्छ । तर अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भएको वर्ष दिन पुग्दानपुग्दै नेपालमा राजनीतिक परिवर्तन (विक्रम सम्वत २००७) भएको र परिवर्तनपश्चात् बनेको अन्तरिम सरकारले युएमएनलाई भित्र्याएर नेपाललाई इसाईकरण गर्ने दीर्घकालीन प्रक्रिया सुरु गरेको हामी सबैले बुझेका छौँ । हाम्रो शिक्षा र स्वास्थ्य क्षेत्रमा घुसेर कसरी इसाईकरणको अभ्यास गरियो भन्ने हामीले बुझ्दै नबुझेका होइनौँ । ‘सी फर काउ’ भनेर पढाइने यो मुलुकमा ‘सी फर क्याट’ पढाउन थालियो र २०६३ को परिवर्तनपछि ‘सी फर क्राइष्ट’ भनेर हाम्रा बालबालिकालाई क्राइष्टबारे जानकारी गराउन थालिएको रहस्यबारे हामी अनभिज्ञ छैनौँ । सन् २०१९ को डिसेम्बरमा अमेरिकी काङ्ग्रेसले भारत, नेपाल र चीनको तिब्बतमा ‘प्रजातन्त्र सुदृढीकरणका निम्ति’ भन्दै प्रतिवर्ष एक्काइस करोड डलर बजेट विनियोजन गरिएको केका निम्ति भन्ने पनि हामीले बुझेका छौँ ।

सभ्यतासँग जोडिएका हरेक धर्म, संस्कृति र परम्पराको रक्षाप्रति अत्यन्तै सम्वेदनशील पृथ्वीनारायण शाह इसार्ईहरूप्रति किन्चित सहानुभूतिशील देखिएनन् । काठमाडौंलाई राजधानी बनाएर गद्दीनशीन भएलगत्तै उनले इसार्ईहरूलाई नेपाल छोड्न उर्दी गरेका थिए । पृथ्वीनारायण शाहको यस दूरगामी कदमलाई विक्रम सम्वत २००७ (१८२ वर्ष)सम्म जस्ताको त्यस्तै नेपालले पछ्यायो, राणा शासनको १०४ वर्षमा बेलायत र बृटीष भारतसँग घनिष्टतम् सम्बन्ध कायम भइरहँदा पनि राणाहरूले धर्म, संस्कृति र राष्ट्रियतासम्बद्ध विषयमा कुनै सम्झौता गरेनन् ।

ओपन सोसाइटी, एनडीआई र डिफिडलगायत दर्जनौँ आइएनजिओहरू केका निम्ति लगानी गर्दै थिए भन्ने जानकारी पनि नेपालीले पाउँदै नपाएका होइनन् । केही दशकयताका पश्चिमी क्रियाकलाप नेपालको सामाजिक सद्भाव, अखण्डित सार्वभौमिकता र नेपालको धार्मिक सांस्कृतिक पहिचान प्रतिकुल रहने गरेको महसूस आम नेपालीले गरिरहेका छन् । नेपालमा क्रियाशील आइएनजिओहरू जुन पश्चिमी मुलुकहरूको लगानीमा सञ्चालित छन्, तिनले नेपालको नीति निर्माण तहमा आश्चर्यजनक ढङ्गले हस्तक्षेप बढाइरहेका छन् । हाम्रो मौलिक संस्कृति, धर्म र राष्ट्रिय एकता एवम् सामाजिक सद्भाव अभिवृद्धिमा सहयोग पुऱ्याउने कार्य कुनै पनि आइएनजिओबाट भइरहेको महसूस नेपालभित्र गरिएको छैन । बरू नेपालको हित र नेपालीको चाहनाविपरीत धर्मनिरपेक्षता, जातिवादी भावनाको प्रवर्द्धन र अखण्डित सार्वभौमिकताप्रतिकुल कार्यमा तिनको भूमिका प्रभावकारी रहँदै आएको छ ।

आइएनजिओसम्बद्ध क्रियाकलापमा वामपन्थी कम्युनिष्टहरूको संलग्नता अधिक देखिन्छ । नेपालको मौलिक धर्म-संस्कृति र पारम्परिक मूल्यअनुरुपको स्थापित संरचना भत्काएर मात्र आफ्नो वैचारिक मान्यताअनुरुपको भविष्य सूरक्षित गर्न सकिने विश्वासमा कम्युनिष्टहरू रहेका हुन्छन् भने कृश्चियनहरू पनि स्थापित सामाजिक संरचना र संस्कृति नास गरेर मात्र समाजलाई इसाईकरण गर्न सकिने ठान्दछन् । त्यसर्थ समाज, संस्कृति र सद्भाव भत्काउन यी दुई पक्ष जहिले पनि सँगसँगै रहेका हुन्छन् । त्यसैले जहाँ कम्युनिष्ट त्यहाँ इसाई र जहाँ इसाई त्यहाँ कम्युनिष्ट भेटिने गरिन्छ । भारतको केरल राज्य इसाईकरणको ज्वलन्त नमूना मानिन्छ जहाँ कम्युनिष्टहरू चुनाव जितिरहेका हुन्छन् ! सोभियत सङ्घको विघटन र कम्युनिष्ट पार्टीको विस्थापन मिखाइल गोर्वाचोभको नेतृत्वमा सम्पन्न गरिने निश्चित भएपछि त्यहाँ सङ्क्रमणकालिन अवस्थाको ब्यवस्थापन कसले कसरी गर्ने भन्ने गम्भीर प्रश्न समस्याका रूपमा खडा भएको थियो । अन्ततः भ्याटिकन सीटीले सङ्क्रमणकालिन ब्यवस्थापनको जिम्मेवारी लियो र, गोर्बाचोभ आफ्नो नियोजित साध्य पूरा गर्न समर्थ भएका थिए ।

भारतको नागाल्याण्ड, कम्बोडिया, कोरिया र अफ्रिकी मुलुकहरूमा इसाईकरणका जे-जस्ता योजना तथा कार्यक्रम बने, त्यस्तै तरिका अपनाइयो नेपालमा पनि । छिमेकी मुलुक चाइनाले केही वर्षयता इसाईकरणप्रति निर्मम व्यवहार गर्दै आएको छ । पृथ्वीनारायण शाहले २५५ वर्षअघि नै एशियाका निम्ति इसाईकरण कति घातक हुनसक्छ भन्ने बुझिसक्नुभएको थियो, जुन चिनियाँ नेतृत्व (सी जिन पिङ) ले अहिले आएर बुझेको देखिन्छ । नेपालको नीति निर्माण तहलाई जबर्जस्त कब्जामा लिने र काम पट्याउने रणनीतिक एवम् कार्यनीतिक योजनाअनुरुप काम भइरहेको हामीले नबुझेका होइनौँ । नेपाललाई आर्थिक रूपमा रुग्ण बनाइराख्ने, यसको सामाजिक सद्भाव खलबल्याउने, राजनीतिमा नियन्त्रित अस्थिरता कायम राख्ने, भौगोलिक अखण्डतालाई कमजोर बनाइदिने र, सांस्कृतिक एवम् धार्मिक मान्यताहरूलाई बदनाम तुल्याउँदै इसाईकरण गराउने कार्य कसले कसरी गरिरहेछ भन्ने पनि नेपालीले बुझ्दैनबुझेका होइनन् । अहिले जब आफूले खडा गरेका निमित्त नायकहरू पूर्ण असफल र बदनाम भए, नेपालभित्र आफ्ना योजना र लक्ष्य पूरा गर्ने/गराउने क्रममा अनपेक्षित अड्चनहरूको सामना गरिरहनु पऱ्यो र, हिन्दुत्वको विस्थापनका निम्ति भएका प्रयास अपेक्षाकृत सफल हुन सकेनन् र नेपालमा हिन्दुराष्ट्र कायम गराउने अभियान अझै मजबुतिका साथ चल्न थाल्यो, त्यसपछि यो अभियानलाई बदनाम गर्ने प्रयास भएको छ ।

सोभियत सङ्घको विघटन र कम्युनिष्ट पार्टीको विस्थापन मिखाइल गोर्वाचोभको नेतृत्वमा सम्पन्न गरिने निश्चित भएपछि त्यहाँ सङ्क्रमणकालिन अवस्थाको ब्यवस्थापन कसले कसरी गर्ने भन्ने गम्भीर प्रश्न समस्याका रूपमा खडा भएको थियो । अन्ततः भ्याटिकन सीटीले सङ्क्रमणकालिन ब्यवस्थापनको जिम्मेवारी लियो र, गोर्बाचोभ आफ्नो नियोजित साध्य पूरा गर्न समर्थ भएका थिए ।

भाजपा र उसको सरकारले नेपालका दलहरूलाई इसाईकरणका विरूद्ध र हिन्दुराष्ट्रका पक्षमा काम गराउन आर्थिक सहयोग उपलब्ध गराउने गरेको भन्ने जुन मिथ्या प्रचार गरियो यसले अमेरिकाजस्तो प्रतिष्ठित मुलुकलाई शोभा दिएको छैन । नेपाल हिन्दूराष्ट्र हिजो पनि थियो, आज पनि छ र, भोलि पनि रहन्छ । जतिबेला भारतमा ब्यापारीका रूपमा प्रवेश गरेका इसाईहरूले राज्यसत्ता कब्जाको अभियान चलाए, त्यतिबेला पृथ्वीनारायण शाहले असली हिन्दुस्थाना म बनाउछु भन्ने अठोट सार्वजनिक गरेर नै नेपालको एकीकरण अभियान प्रारम्भ गरेका थिए । दशकौँदेखि अर्बौं रुपैयाँ खर्च गरेर पनि परिणाम सन्तोषजनक नआएपछि पश्चिमाहरूमा एकप्रकारको विचलन आएको देखिन्छ । हतास मानसिकताकै कारण भारतले हिन्दुराष्ट्र बनाउनका निम्ति नगद प्रवाह गर्ने गरेको भन्ने नियोजित प्रचारवाजी भएको बुझ्न सकिन्छ ।

नेपालमा भारतविरोधी मानसिकता जागृत रहेको विश्लेषण र बुझाई पश्चिमाहरूको छ । पश्चिमाहरू अर्काको धर्म-संस्कृति मेटाएर आफ्नो पन्थ लाद्न खोज्छन् भने भारत या चीनले पूर्वीय सभ्यता र संस्कृति रक्षाका निम्ति तत्परता दर्शाउनु अस्वाभाविक होइन । तर भारतले जे चाहन्छ त्यसका विरूद्ध नेपाली जनता उभिन्छन् भन्ने विश्वासका साथ बनेको रणनीतिक चालअनुरुप अमेरिकी काङ्ग्रेसमा प्रतिवेदन प्रस्तुत भएको बुझ्न सकिन्छ । हो, अमेरिका नेपालको हितैषी मुलुक नै हो र इतिहासमा उसले अविष्मरणीय गुन लगाएको पनि छ । तर अन्य मुलुक झैँ उसको प्राथमिकता पनि आफ्नै हितरक्षा हो र, नेपाली भूमिलाई समेत आफ्नै हितमा उपयोग गर्ने उसको रणनीतिक योजना धेरै पुरानो हो । उसले आफ्नो हितमा नेपाली भूमिलाई उपयोग गर्दा हामीले अनपेक्षित विपत्तिको सामना गर्नुपर्ने हुन्छ । सनातनी सभ्यता र हिन्दुत्वको विस्थापन पनि उसले आफ्नै हितका निम्ति बनाएको योजना हो, हात्तीले प्रीति लगाए पनि बगैंचाको सत्यानास र आपसमा लडे पनि बगैंचाकै सत्यानास भन्ने नियति नेपालीले ब्यहोर्नुपर्ने अवस्था पैदा गर्न जसले खोजेपनि त्यो अग्राह्य हुन्छ ।

आकाशको चील देखाएर भुइँको कुखुरा टिपेझैँ भारतले हिन्दुत्वको लागि लगानी गरिरहेछ भन्ने हल्ला चलाएर कथित पहिचानवादी र इसाईकरणका हिमायतीहरूलाई इन्धन भर्ने कुटिल प्रयास भएको होइन भन्न अबचाहिँ मिलेन । कथित पहिचानवादी तथा इसाईकरणका पक्षधरहरूले विभिन्न च्यानलमार्फत विगत लामो समयदेखि आर्थिक सहयोग प्राप्त गर्नेगरेको तथ्य नेपाली जनताबाट लुकेको छैन, पछिल्लो अमेरिकी प्रतिवेदन नेपालविरुद्ध नेपालमा क्रियाशील तत्वलाई फ्युलिङ गर्नका निम्ति रचिएको रोचक कथा भएकोमा शङ्का गरिरहनु नपर्ला । जय मातृभूमि !