समुद्रीकिनार नजिकै फेला परेको शव चितवनकी आरती खनालको भएको पुष्टि

समुद्रीकिनार नजिकै फेला परेको शव चितवनकी आरती खनालको भएको पुष्टि


  • विशेष प्रतिनिधि, जापान

मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी नेपालकी चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको छ ।

सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परिक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासँग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै डीएनए परीक्षणका लागि अस्पतालमा लगिएको र सोही शव नै वेपत्ता खनालको रहेको पुष्टि भएको एनआरएनए जापानलाई जानकारी प्राप्त भएको महासचिव श्रेष्ठले बताए ।

प्राप्त शवको के कारणले मृत्यु भएको हो भन्ने कारण खुलाइएको छैन । शवको प्रकृति अनुसार पानीमा डुबेर मृत्यु भएजस्तो देखिएको बताइएको छ । शवको नजिकै खनालले प्रयोग गर्ने गरेको साइकलको चाबी र साथबाट करिब ९ हज़ार येन रक़म फेला परेको बताएएको छ ।

खनालको परिवारले आफ्नो छोरीको मृत्युको कारण हत्या भएको हुनसक्ने दाबी गर्दै क़ानूनी प्रक्रियाका लागि आवश्यक पहल गरिदिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन् ।

जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १–३–२ मा बस्ने नेपालको चितवन भरतपुर महानगरपालिका वार्ड नं – १२ की विद्यार्थी भिषामा १ वर्षअघि जापान आएकी थिइन् ।

बेपत्ता खनालको परिवारले आवश्यक खोजी कार्यको लागि एनआरएनए जापान र जापानका लागि नेपाली दूतावासलाई जिम्मेवारी दिएको थियो । प्राप्त जिम्मेवारीअनुसार एनआरएनए जापानले जापान प्रहरीसँगको समन्वयमा खोजतलास कार्यलाई तीव्रता दिएको थियो ।

परिवार नेपाली दूतावासलगायत सरोकारवाला निकायसँगको आवश्यक समन्वयमा छलफल गरि निजको अन्त्येष्टि गरिने एनआरएनए जापानले जनाएको छ ।