देशभक्त-राष्ट्रवादीहरूको बाटो छेक्ने प्रपञ्च

देशभक्त-राष्ट्रवादीहरूको बाटो छेक्ने प्रपञ्च


नेपाली राष्ट्रियताविरुद्ध प्रयोग भइआएका ब्यक्ति, शक्ति र समूह असफल हुँदै जाँदा यसको विकल्पमा देशभक्त राष्ट्रवादी शक्तिको विकाश हुनुपर्ने थियो र, हुन खोजेको पनि छ । तर जुन अदृष्य शक्ति नेपाली राष्ट्रियताविरुद्ध क्रियाशील रहिआएको छ उनीहरू नेता (अनुहार) मात्र बदलेर साधारण जनतालाई परिवर्तनको आभास दिलाउँदै नीति (संविधान) यथावत राख्न चाहन्छन् । त्यसनिम्ति अनेक आकारप्रकारका जिलेन्स्कीरूपी झिल्केहरूलाई रातारात नेता बनाएर हाम्रासामु प्रस्तुत गरिएका छन् ।
✍ देवप्रकाश त्रिपाठी

विक्रम सम्वत २०६३ को राजनीतिक परिवर्तन नेपाली राष्ट्रियताविरूद्ध लक्षित छ भन्दा त्यसबेला अस्वीकार गर्नेहरूले अब विचार गर्नुपर्ने समय आएको छ । नयाँ जनवाद, समाजवाद र लोकतन्त्रका नाममा भएका दृष्य-अदृष्य कथित क्रान्तिकारी प्रयासहरू केवल नेपाली मौलिक राष्ट्रियताविरुद्ध लक्षित थिए, तर त्यसमा अग्रगमनको लेप लगाइएको थियो । मार्क्स, लेनिन, माओ त्से तुङ र स्टालिनलाई गुरु थापेर गरिएको हिंसात्मक सङ्घर्ष वास्तवमा अरू कसैको लक्ष्य भेदन गर्ने एउटा घातक अस्त्र बनेको थियो । विविधताको समष्टि नै नेपाली मौलिक राष्ट्रियता हो र, अनेक प्रकारका सांस्कृतिक एवम् भाषिक समुदायको एकताबद्ध प्रयासमा एउटा बेग्लै राष्ट्र (अर्थात् नेपाली सन्दर्भमा देश) खडा हुनसक्छ भन्ने विश्वकै अनुपम दृष्टान्त नेपाल बनेको थियो । तर हाम्रो मौलिक राष्ट्रियता र एकताप्रति नेपाली भूमिलाई रणनीतिक उपयोग गर्न चाहनेहरूले वैरभाव राखे, हाम्रो आजको पीडाको केन्द्र यहीँनेर रहेको छ । जबसम्म नेपालको मौलिक संस्कृति र धर्म जीवित रहन्छ, जबसम्म नेपालको सामाजिक सद्भाव र जातीय एकता कायम रहन्छ, जबसम्म नेपालको सार्वभौमिकता अखण्डित रहन्छ, तबसम्म नेपाली भूमिको रणनीतिक उपयोग सम्भव हुन सक्दैनथ्यो । त्यसैले हाम्रो अखण्डता, एकता र सद्भावविरुद्ध बैरीहरूले कदम चलाए, हामीले आफ्नैविरुद्धको कदमलाई अग्रगमनका नाममा ताली ठोकेर स्वागत गरिरह्ऱ्यौँ !

एक समय नेपालमा ‘हावापानी सुहाउँदो’ निर्दलीय पञ्चायती प्रजातन्त्र थियो, जनतासुहाउँदो नभएको भन्दै हामीले उक्त प्रणालीविरुद्ध सङ्घर्ष रच्यौँ । तर हामीले स्थापना गरेको बहुदलीय प्रजातन्त्रसँगै झुण्डिएर विदेशीका इच्छा र योजनासमेत भित्रिएको जानकारी समयमै पाउन सकिएन । हाम्रानिम्ति प्रजातन्त्र अनिवार्य बनेको थियो, हामी प्रजातन्त्रतिर मात्र एकोहोरियौँ । हामीप्रति नै सहानुभूति दर्शाउँदै परायाशक्तिले हाम्रो राष्ट्रियता र एकताविरुद्ध जाल फैलाएको भेउ पाउने क्षमता हामीले राखेनौँ ।

प्रजातान्त्रिक प्रणालीको स्थापना काङ्ग्रेसको नेतृत्वमा भएको थियो, काङ्ग्रेसकै नेतृत्वमा राजालाई एक कदम हटाएर बहुदलीय संसदीय प्रजातन्त्र स्थापना गरिसकेपछि उसैको नेतृत्वमा विदेशीका बाँकी इच्छा पूरा हुन शायद सम्भव ठानिएन । त्यसैले प्रजातान्त्रिक प्रणाली स्थापना भएर पहिलो संसदीय निर्वाचन भएको पाँच वर्ष नपुग्दै माओवादीका नाममा हिंसात्मक सङ्घर्ष रचियो र, कालान्तरमा एक जमानाको प्रजातन्त्रवादी पार्टी काङ्ग्रेसलाई माओवादीमार्फत ल्याइएका एजेण्डाहरूमा सहमत गराइयो । आफूलाई अन्तर्राष्ट्रियवादी दाबी गर्ने कम्युनिष्टहरूलाई अघिसारेर मात्र नेपाली राष्ट्रियता र राष्ट्रिय एकता ध्वङ्श तुल्याउन सकिन्थ्यो, उनिहरूले त्यसै गरे । माओवादीमार्फत् भित्र्याइएको एजेण्डा संरक्षणको जिम्मेवारी काङ्ग्रेसलाई प्राप्त भएको छ । तर काङ्ग्रेसमाथिको भरोसा ह्रास हुँदै जाँदा सोही प्रयोजनका लागि नयाँ अनुहार सम्मिलित ‘कलमी समूह’ पैदा गरिएको छ । २०६३ को परिवर्तनपश्चात् राष्ट्र निर्माताकै बङ्शज राजसँस्थालाई विस्थापित गरियो, नेपालीबीच एकता र सद्भावको मियो बनेको सनातनी हिन्दू सभ्यतालाई भत्काउन धर्मनिरपेक्षताको आडमा इसाईकरण सुरु गरियो, अखण्डित सार्वभौमिकतालाई तोडफोड गरेर देशलाई अनेक प्रदेशमा विभाजन गरियो, नेपालीत्व मेटेर जातीय भावना भड्काउन जातीय आधारमा समानुपातिक र आरक्षण प्रणाली लागू गरियो । त्यतिबेला नेपाली गौरवको झण्डा र देशको नामसमेत बदल्ने प्रयास बितण्डतावादीहरूबाट भएको थियो । देवीदेवताका नामबाट स्थापित सुरक्षा निकायको गण र गुल्महरूको नाम खारेज गर्ने निर्णय पनि यिनीहरूबाट भएको थियो ।

नेपाल कहिल्यै अङ्ग्रेजको उपनिवेश बन्नु नपरेको अनेकमध्ये एक प्रमाण विक्रम सम्वत पनि हो, यहाँ विक्रम सम्वत मेटेर इसाइ साल प्रचलनमा ल्याउने प्रयास पनि हुँदै आएको छ । अहिले बैंकहरूले विक्रम सम्वत मेटिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमा केवल इसाई मिति मात्र रहने गरी डिजाइन गरिएको छ ।

त्यस्तै, नेपाल पुरानो कानूनी राज्य हो भन्ने तथ्यको प्रमाण बोकेका पृथ्वीनारायण शाहको शालिक विस्थापित गर्ने काम यिनैबाट भयो र, १७० वर्षअगाडि नै बनेको मुलुकी ऐनलाई विस्थापित गरेर नयाँ ऐन जारी गरी नेपाल पुरानो देश नभइ भर्खर उम्रँदै गरेको नयाँ मुलुक भन्ने सन्देश दिन खोजियो, केही देशभक्त राष्ट्रवादीहरूका कारणले मात्र २०७५ मा कानूनी संहिताका रूपमा जारी गर्न खोजिएको दस्तावेजलाई मुलुकी संहिता नामाकरण गर्न सकिएको हो । त्यसयता सवारी साधनमा अङ्ग्रेजी अङ्क र अक्षरको इम्बोस्ड नम्बर प्रयोगमा ल्याइ नेपाली अर्थात् देवनागरी लिपी विस्थापित गर्ने र भाषिक ब्याकरणसमेत बदल्ने दुष्प्रयास पनि भएकै हो ।

नेपाल कहिल्यै अङ्ग्रेजको उपनिवेश बन्नु नपरेको अनेकमध्ये एक प्रमाण विक्रम सम्वत पनि हो, यहाँ विक्रम सम्वत मेटेर इसाइ साल प्रचलनमा ल्याउने प्रयास पनि हुँदै आएको छ । अहिले बैंकहरूले विक्रम सम्वत मेटिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमा केवल इसाई मिति मात्र रहने गरी डिजाइन गरिएको छ । धर्म परिवर्तनलाई दण्डनीय बनाउने कानून निर्माण गर्नेहरूले नै चर्च निर्माणका निम्ति बजेट विनियोजनका दुषित कार्य गरिरहेछन् । यो अवस्थामा आफ्नो मौलिक सभ्यता, इतिहास, संस्कृति, धर्म, एकता र सद्भावको रक्षा गर्दै राष्ट्रिय समृद्धि एवम् विकाश खोज्नु हरेक नेपालीको प्रथम कर्तब्य हुनुपर्ने हो र, आजको सन्दर्भमा वैकल्पिक राजनीति भनेको पनि यही नै हो ।

नेपाली राष्ट्रियताविरुद्ध प्रयोग भइआएका ब्यक्ति, शक्ति र समूह असफल हुँदै जाँदा यसको विकल्पमा देशभक्त राष्ट्रवादी शक्तिको विकाश हुनुपर्ने थियो र, हुन खोजेको पनि छ । तर जुन अदृष्य शक्ति नेपाली राष्ट्रियताविरुद्ध क्रियाशील रहिआएको छ उनीहरू नेता (अनुहार) मात्र बदलेर साधारण जनतालाई परिवर्तनको आभास दिलाउँदै नीति (संविधान) यथावत राख्न चाहन्छन् । त्यसनिम्ति अनेक आकारप्रकारका जिलेन्स्कीरूपी झिल्केहरूलाई रातारात नेता बनाएर हाम्रासामु प्रस्तुत गरिएका छन् । युक्रेनमा पनि धेरै अघिदेखि नै बाह्य चासो बढेको थियो । युक्रेनीभूमि पनि रणनीतिक महत्वको भएकोले त्यसले सधैं विदेशी चासोको शिकार हुनुपरेको छ । इतिहासको एउटा कालखण्डमा युक्रेन सोभियत सङ्घको एउटा हिस्सा थियो । सोभियत सङ्घ एउटा देशको रूपमा रहँदा पनि युक्रेनलाई स्वतन्त्र राष्ट्रका रूपमा संयुक्त राष्ट्र सङ्घको सदस्यता दिइएको थियो । महाशक्ति राष्ट्रहरूको चासो बढ्दै जादा त्यहाँ पनि स्थापित राजनीतिक नेतृत्वप्रति अनास्था र घृणा फैलाउने कार्य तीव्ररूपले अघि बढेको थियो ।

रसिया हार्नै नमिल्ने युद्धमा सामेल भएको यो अवस्थामा भारी मतले चुनाव जितेका जिलेन्स्की युक्रेनका निम्ति दुर्भाग्य सिद्ध भइसकेका छन् । अफगानिस्तानमा हमिद कारजायी नामक गोटी जसरी प्रयोग भएका थिए, जसरी युक्रेनमा जिलेन्स्कीको उपयोग हुँदैछ, त्यसैगरी नेपालमा पनि हमिद कारजायी र जिलेन्स्कीहरूको नियोजित उत्पादन भइसकेको छ । हामी यिनै जिलेन्स्कीहरूलाई भाग्यविधाता बनाउने अक्षम्य भूल गर्दैछौँ ।

भ्रष्टाचार र अनियमितता उत्कर्षतर्फ पुगेपछि युक्रेनमा सुशासन र विकाशलाई प्राथमिकतामा राखेर अनेक प्रचारबाजी सुरु गरिएका थिए । जसले नेताहरूप्रति जति बढी आक्रोश र आलोचना प्रस्तुत गर्नसक्थ्यो उ त्यति नै चाँडै भाइरल हुनेगर्थ्यो । भि. जिलेन्स्की एक हास्यकलाकार थिए र, नेताहरूको खिल्ली उडाएर उनको कलाकारिता चम्किएको थियो । एकपटक पर्दामा बन्दुक चलाएर नेताहरूलाई मारेको दृष्य देखाइएपछि जिलेन्स्कीलाई नै युक्रेनी ‘भेडा’हरूले महान् ठान्न थालेका थिए । पश्चिमाहरूले जिलेन्स्कीको लोकप्रियतालाई रणनीतिक उपयोग गर्ने निधो गरे र, राजनीतिमा ल्याए । राष्ट्रपतिमा विजयी गराइसकेपछि जिलेन्स्कीको काँधमा बन्दुक राखेर रसियामाथि प्रहार गर्ने काम अदृष्य शक्तिहरूले गरिरहेका छन् । यो युद्धमा रसिया या ‘नेटो कण्ट्री’ जसले जितेपनि हार्नेचाहिँ युक्रेनले मात्र हो । रसिया हार्नै नमिल्ने युद्धमा सामेल भएको यो अवस्थामा भारी मतले चुनाव जितेका जिलेन्स्की युक्रेनका निम्ति दुर्भाग्य सिद्ध भइसकेका छन् । अफगानिस्तानमा हमिद कारजायी नामक गोटी जसरी प्रयोग भएका थिए, जसरी युक्रेनमा जिलेन्स्कीको उपयोग हुँदैछ, त्यसैगरी नेपालमा पनि हमिद कारजायी र जिलेन्स्कीहरूको नियोजित उत्पादन भइसकेको छ । हामी यिनै जिलेन्स्कीहरूलाई भाग्यविधाता बनाउने अक्षम्य भूल गर्दैछौँ ।

नेपालमा वैकल्पिक राजनीतिक शक्ति भनेका ती हुन् जो देशभक्त र राष्ट्रवादी छन्, जो परीक्षण भएर असफल प्रमाणित भएका छैनन्, जसले नेपाली संस्कृति, परम्परा र धर्मको पुनरुत्थानप्रति समर्पित रहँदै सनातन हिन्दूराष्ट्रको एजेण्डा बोकेको छ, जो दुई तहको सरकारको पक्षमा छ र प्रदेशको औचित्य नरहेको ठान्दछ, जो जातिवाद र क्षेत्रियतावादका विरुद्ध दृढतापूर्वक उभिएको छ, जो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिकताको विपक्षमा वकालत गर्दछ, जो अखण्डित सार्वभौमिकताको पक्षमा छ र, जो भ्रष्टाचार तथा अनियमितताप्रति निर्मम ढङ्गले प्रस्तुत हुँदै मुलुकको समृद्धि चाहन्छ त्यो ब्यक्ति र शक्ति नै आजको राजनीतिको विकल्प हो । तर यहाँ हरिबहादुरको ठाउँमा रामबहादुरलाई ल्याएर परिवर्तनको भ्रम वितरण गर्न खोजिएको छ । वर्तमान संविधानमा घुसाइएका नेपाली राष्ट्रियता एवम् समृद्धिविरुद्धका अन्तरवस्तु यथावत राख्न खोज्नेहरू दाह्री पालेका या नपालेका जो भएपनि ती विकल्प होइनन्, भ्रम हुन्, जिलेन्स्कीका नेपाली अवतार हुन् र, यिनले पनि कम्युनिष्ट र काङ्ग्रेसले जस्तै वर्तमान संविधानमा समेटिएको नेपालविरुद्धका एजेण्डाहरूको संरक्षण गर्दै देशभक्त–राष्ट्रवादी नेपालीहरूको बाटो छेक्ने काम गर्नेछन्, जय मातृभूमि !