‘फोरजी’ सेवा शत प्रतिशत पुऱ्याउने टेलिकमको तयारी

‘फोरजी’ सेवा शत प्रतिशत पुऱ्याउने टेलिकमको तयारी


आगामी वर्षको सुरुमै शत प्रतिशत पुऱ्याइने

नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पुऱ्याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पुऱ्याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

‘सतहत्तर जिल्लाका सात सय ३९ स्थानीय तहमा विस्तार भएको छ । अति विकट क्षेत्रका १४ स्थानीय तहमा उक्त सेवा पुऱ्याउन बाँकी छ । जसको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ’, उनले भनेका छन् । अधिकारीका अनुसार फोरजी सेवा हाल ९९ प्रतिशत सम्पन्न भएको र बाँकी जिल्लामा योजना कार्य पूरा गरी कार्यान्वयनको क्रममा रहेको छ ।

मुलुकका सुगमदेखि दुर्गम र विकट स्थानमा एउटै मूल्यमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्यअघि बढाएको थियो । मोबाइल सेवामा अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधासहित फोरजी सेवाका लागि आवश्यक परियोजना सुरु गरेको हो । टेलिकमले पहिलो पटक काठमाडौं र पोखरामा विसं २०७३ पुस १७देखि फोरजी सेवा सुरु भएको थियो ।

ग्राहकलाई डिजिटल फ्रेमवर्कमा जोड्नका लागि आगामी वर्षमा बाँकी स्थानीय तहमा फोरजी सेवा र अप्टिकल फाइबर पुऱ्याउने काम प्राथमिकताका साथ अगाडि बढाउने प्रवक्ता अधिकारीले बताए । देशैभर टेलिकमले विस्तार गर्ने फोरजीको नेटवर्क पाँचौँ पुस्ताको अत्याधुनिक फाइभजी सेवा विस्तार गर्नका लागि पूर्वाधारका रूपमा उपयुक्त हुने टेलिकमले जनाएको छ ।

यस वर्ष टेलिकमले वाइम्याक्सका ग्राहकलाई फोरजी सेवामा स्थानान्तरण गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष फोरजी ग्राहकको सङ्ख्या उल्लेखनीय रहेको प्रवक्ता अधिकारीको दाबी छ । टेलिकमका अनुसार माघ मसान्तसम्म प्रकाशन गरिएको तथ्याङ्कअनुसार दुई करोड ११ लाख ४१ हजार टेलिकमका ग्राहक रहेका छन् ।