कलङ्की-बसुन्धारा सडक विस्तार तयारी

कलङ्की-बसुन्धारा सडक विस्तार तयारी


  • सञ्चिता घिमिरे, काठमाडौं

चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएकोे छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।

चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन । अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ । उनीहरू आएर काम गर्न खाजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताउनुभयो । पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो । सो सडकमा निर्माणस्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो । त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकालाई भनेको थियो । निर्माणस्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको विभागले जनाएको छ ।

अहिले निर्माणस्थल खाली गर्ने क्रममा आएका धेरै समस्या समाधान भइसकेको छ । अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झन्डै ८० प्रतिशत जग्गा खाली गरिएको छ । गोङ्गबुचोक नजिकै मन्दिर भत्काइएको, स्वयम्भु नजिकै बाँकी रहेका दुई–तीनवटा विद्युत्को पोल सारिएको र बसुन्धाराको बिसौनी नजिकै पनि निर्माणस्थल खाली भइरहेको बताइएको छ ।

सरकारले दोस्रो चरणमा चिनियाँ पक्षलाई कलङ्कीबाट चाबहिलको धोबीखोलासम्म विस्तारका लागि भनेको थियो । सोही आधारमा निर्माणस्थल खाली गराउन सुरु भए पनि महाराजगञ्ज चोक नजिकैका घरहरू हटाइएको छैन । निर्माणस्थल खाली गराउन नसकिएकाले अहिले दोस्रो चरणमा महाराजगञ्जसम्म नगरेर कलङ्कीबाट बसुन्धारासम्म मात्रै गर्ने गरी छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “महाराजगञ्जमा मुख्य लेनमा पर्ने धेरै घर भत्काउनुपर्ने र जग्गाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले त्यहाँसम्म गर्न सकिने छैन ।”

तयारीका सबै काम सकाएर निर्माणमा जान अब एक वर्ष लाग्ने विभागले जनाएको छ । पहिलेको डिजाइनभन्दा केही संशोधन गर्नुपर्ने भएकाले गर्न लागिएको प्रमुख जैसीले बताउनुभयो । विभागले विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्नाका साथै एउटा खाका बनाएर चिनियाँ पक्षलाई दिएको उहाँले जानकारी गराउनुभयो । उनीहरू अहिले त्यसमा अध्ययन गरिरहेका छन् ।

विभागले पहिलो खण्डमा भन्दा केही थप संरचना राख्न पनि चिनियाँ पक्षलाई भनिरहेको छ । भविष्यका लागि एक–दुई ठाउँमा ‘युटिलिटी डट’ राख्न भनिएको छ । सडकमुनि रहने यस्तो डटमा खानेपानी, विद्युत्, टेलिकम, ढललगायत संरचना राख्न सकिनेछ । प्रमुख जैसीले भन्नुभयो, “उनीहरूले त्यसका लागि पैसा नभएकाले नेपालको तर्फबाट गर्न भनेका छन् ।”

सडकका ठाउँ–ठाउँमा ‘अण्डरपास’ का लागि कुरा राखिएको छ । अहिले नै ‘अण्डरपास’ नबनाए पछि सडक फुटाएर बनाउन गाह्रो हुने भएकाले सो कुरा राखिएको र औपचारिक कुराकानीबाट निष्कर्षमा पुग्न छलफल भइरहेको उहाँको भनाइ थियो ।

चक्रपथको पहिलो खण्डको ठाउँ–ठाउँमा पानी डुब्ने समस्या आएकाले त्यो आउन नदिने गरी निर्माण गर्न पनि छलफल भइरहेको छ । पहिलो खण्डमा नाली नभएकाले सडकमा ठाउँ–ठाउँमा पानी जम्मा हुने समस्या आएको थियो । दोस्रो खण्डमा सबैतिर र ठूलो आकारको नाली राख्न भनिएको र त्यसमा चिनियाँ पक्ष पनि सकारात्मक रहेको प्रमुख जैसीले बताउनुभयो ।

अरु कुरामा सहमति भइरहँदा ‘युटिलिटी डट’ र ‘अण्डरपास’ बनाउने कुरामा भने सहमति हुन बाँकी छ । उहाँले भन्नुभयो, “उहाँहरूको पहिलेअनुसारनै बनाउने मान्यता भन्ने हो । नयाँँ कुराका लागि माथिसम्म पु¥याउनुपर्ने हुन्छ ।”

विकासमा सहयोग गर्ने राष्ट्रसँग दीर्घकालीन योजना हुने र पाँच–सात वर्ष लगाएर योजना बनाइ पैसा दिने गरिएको प्रमुख जैसीले बताउनुभयो । ती राष्ट्रको योजना कार्यान्वयन हुँदासम्म यहाँको आवश्यकता परिवर्तन भइसक्ने गरेको छ । दश वर्ष पहिले पनि विभागले ग्वार्कोमा फ्लाइओभर बनाउन भने पनि त्यतिबेला पैसा नपुगेर बनाउन सकिएको थिएन । अहिले सरकारले आफ्नै लगानीमा ‘फ्लाइओभर’ निर्माण अघि बढाइरहेको छ । चिनियाँ पक्षले दोस्रो खण्डमा ‘फ्लाइओभर’ बनाउन रकम नभएको भनिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विदेशीको पनि सीमितता हुन्छ । अहिले हामीलाई ग्वार्कोमा जस्तै धेरै ठाउँमा फ्लाइओभर बनाउनुपर्ने छ ।”

डिजाइन फाइनल हुन छ/सात महिना लाग्ने र त्यसपछि मात्रै ठेक्का प्रक्रियामा जान सकिने प्रमुख जैसीले बताउनुभयो । निर्माणको काम काम नै सुरु गर्न अब एक वर्ष लाग्न सक्ने देखिएको छ ।